काठमाडौं- नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।
उनले कांग्रेसबाट राष्ट्रियसभाका लागि भएको उम्मेदवारी चयनमा पनि फरक मत राखेका छन्।
बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि थापाले यस्तो बताएका हुन् ।
उनले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कांग्रेस-एमाले तालमेलको सैद्धान्तिक आधार नभएको पनि उल्लेख गरे । उनले कांग्रेसका उम्मेदवार पनि नेताहरूको खल्तीबाट छानिएकाले फरक मत राखेको बताएका छन् ।
एकलौटी रुपमा उम्मेदवार छानेर केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गरिएको निष्कर्ष उनले सुनाए । थापाले त्यसको स्वामित्व आफूहरूले लिनन नसक्ने पनि बताए ।
महामन्त्री थापाले कांग्रेसमा आफूहरूलाई हेप्ने क्रम जारी रहेको बताए । तर अब यस्तो शैलीमा पार्टी अघि बढ्न नसक्ने चेतावनी पनि थापाले दिएका छन् ।
‘आज बैठकबाट राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाउनुपर्ने थियो। नाम सिफारिस हुन बाँकी नै छ। उम्मेदवारहरू मनोनयन सिफारिस लिएर जिल्ला गइसके’, उनले भने, ‘यो त सरासर केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गर्ने काम भयो। महामन्त्रीलाई हेप्ने काम त भइरहेको छ, अब हामी चुप लागेर बस्दैनौँ ।’
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार मनोनयन भइरहेको छ । यसका लागि कांग्रेस, एमाले र जसपाबीच तालमेल भइसकेको छ । कांग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले एक सिट लिएर गएका छन् । उनीहरूले नै सबै सिट जित्ने निश्चित छ ।
कांग्रेसले कोशी प्रदेशबाट सुनीलबहादुर थापा, मधेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट वासुदेव जंगली र चन्द्रबहादुर केसीलाई उठाएको छ। उता कर्णालीबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खाती कांग्रेसका उम्मेदवार छन् ।













प्रतिक्रिया