पर्यटन प्रवर्द्धनका लागि निसान पदमार्गमा ‘पदयात्रा’ « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि निसान पदमार्गमा ‘पदयात्रा’


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

फिक्कल–  नेपाल एकीकरणताका पूर्वीसीमा विजय भएपछि गाडिएका ऐतिहासिक निसान फर्काइएका मार्गको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटकीय गतिविधि विस्तार गर्ने उद्देश्यले निसान पदमार्गमा आजदेखि चारदिने पदयात्रा सुरु भएको छ ।

सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माइजोगमाई गाउँपालिका तथा इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त आयोजनामा आजदेखि सुरु भएको पदयात्रा यही पुस २६ गतेसम्म सञ्चालन हुने रणसार्दुल गणका गणपति प्रमुख प्रल्हाद घलेले जानकारी दिए । उनका अनुसार पदयात्रा नेपाल–भारत सीमाक्षेत्रको मेची बजारबाट आज बिहान ११ः०० बजेदेखि औपचारिक रूपमा सुरु भएको हो ।

नेपाल–भारत सीमाना जोडिएको मेची नदिको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर दूरीको पदमार्गमा पदयात्रा हुने घलेले जानकारी दिए । गतवर्षदेखि सुरु गरिएको पदयात्रालाई यस वर्ष पनि निरन्तरता दिइएको उनले बताए। 

‘करिब २०० वर्ष अघिको युद्ध इतिहास खोजी गर्दै निर्माण गरिएको निसान पदमार्गमा गत वर्षदेखि पदयात्रा सुरु गरेका थियौँ । सरोकार भएका निकायबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि यस वर्ष पनि निरन्तरता दिएका हौँ’, उनले भने। गत वर्ष सो पदमार्गमा तीन दिन पदयात्रा गरिएको थियो ।

पदयात्रामा नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, सरोकार भएका निकायलगायत २०० जनाको सहभागिता रहेको रणसार्दुल गणका गणपति घलेले जानकारी दिए। उनका अनुसार पदमार्गअन्तर्गत पर्ने सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जातजातिको झाँकीसहित स्वागतका कार्यक्रम आयोजना गरिनेछन् । 

साथै हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता, सांस्कृतिक प्रस्तुती, पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यपत्रमाथि छलफललगायत कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाले पदयात्राले निसान पदमार्गको मात्र नभई, समग्र जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको बताए। ‘पदयात्राले निसान पदमार्गको संरक्षणमा योगदान दिनुका साथै समग्रमा इलामको पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको जीवनस्तर सुधार हुने अपेक्षा गरेका छौँ’, उनले भने।

पदयात्राका लागि तीनवटै पालिकाबाट आर्थिक सहयोगसहित आवश्यक सहकार्य गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । कोशी प्रदेश सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष–२०८२’ लाई जोडेर पदयात्रा कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

रणसार्दुल गणको पहलमा गत वर्षदेखि निसान पदमार्ग पहिचान गर्ने कार्य सुरु गरिएको हो । नेपाल–अङ्ग्रेज युद्धपछि विसं १८७२ फागुन २० गते भएको सुगौली सन्धिपश्चात् तत्कालीन नेपाली सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरेको मार्गलाई नेपाली सेनाको समन्वयमा तीन पालिकाले पहिचान गरी कार्यन्वयनमा ल्याएका हुन् ।

‘सुगौली सन्धीपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीबाट नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका भन्ने इतिहास छ’, नगरप्रमुख राईले भने ।

पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका–७ स्थित माइस्थान मन्दिर ल्याइएको भन्ने इतिहास रहेको उनले बताएका छन् । हाल सो मार्गलाई ऐतिहासिक सम्पदा र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको छ । 
 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : ३५ बजे

कोशि सरकारद्वारा मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न समिति गठन

काठमाडौं– कोशी प्रदेश सरकारले मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न विभिन्न समिति

सशस्त्रद्वारा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार

टक्सार– भोजपुरमा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार पारिएको छ ।

रास्वपाको कडा नियम : आफूखुसी उम्मेदवारी घोषणा गर्दै फेसबुकमा लेख्न नपाइने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी एक्ला एक्लै वार्ता, मुख्य एजेन्डा चुनाव

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा