वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन « Khabarhub

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश गरेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति अघि बढाइएको छ ।

यही नीतिअनुरूप रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडास्तरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू स्थापना गरिएको छ । नागरिकलाई सामान्य उपचार, खोप, मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजनलगायत सेवा घरदैलो नजिकै उपलब्ध गराउने उद्देश्यले यी सेवा केन्द्रहरू स्थापना गरिएको हो । तर, यी स्वास्थ्य केन्द्रहरूमा भने अपेक्षित रूपमा सेवाग्राहीले सेवा लिएका छैनन् ।

वडा तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेकै अवस्थामा भैरहवास्थित जिल्ला अस्पताल (भीम अस्पताल) लगायत यहाँका निजी क्लिनिक तथा ठूला अस्पतालमा बिरामीको भीड घट्न सकेको छैन । त्यसको साटो दैनिक सयौँ बिरामी उपचारका लागि भीम अस्पताललगायत यहाँका ठूला अस्पताल र क्लिनिकमै पुग्ने गरेका छन् । सरकारी अस्पतालमा सीमित जनशक्ति र स्रोतसाधन हुँदा यहाँ बिरामीको चाप बढ्ने वित्तिकै चुनौती थपिन्छ ।

१३ वटा वडाहरू रहेको सिद्धार्थनगर नगरपालिकामा हाल नौ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । वडा नम्बर १, ३, ४, ५, ६, ७, ९, १० र ११ मा रहेका केन्द्रहरूबाट सेवा दिइँदै आएको छ । वडा नम्बर २, ८, १२ र १३ मा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेका छैनन् । सञ्चालनमा रहेका ती केन्द्रबाट दैनिक औसत १५ देखि १८ जनासम्म सेवाग्राहीले सेवा लिँदै आएका छन् ।

सिद्धार्थनगर नगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख माधवप्रसाद ज्ञवालीका अनुसार आधारभूत स्वास्थ्य केन्द्रमार्फत रोकथाममूलक, प्रवर्द्धनात्मक र उपचारात्मक सेवा निःशुल्क प्रदान गरिँदै आएको छ । परिवार नियोजन, खोप, क्षयरोग, कुष्ठरोग, मलेरिया, पोषण, सुरक्षित मातृत्व, स्वास्थ्य शिक्षा तथा सामान्य उपचार सेवा यी केन्द्रका मुख्य कार्यक्रम हुन् ।

हरेक स्वास्थ्य केन्द्रमा सामान्यतया दुई जना प्राविधिक कर्मचारी (अहेब र अनमी) र एकजना कार्यालय सहयोगी गरी तीन जनाले सेवा दिइरहेका छन् । यद्यपि वडा नम्बर ५ मा भने अनमी र कार्यालय सहयोगी गरी दुई जनाले मात्र सेवा दिइरहेका छन् । ती सबै कर्मचारी अस्थायी करार दरबन्दीमा कार्यरत छन् । सार्वजनिक बिदाबाहेक बिहान १० बजेदेखि साँझ ४–५ बजेसम्म यहाँबाट सेवा प्रदान हुँदै आएको छ ।

नगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सचेतना बढाउने उद्देश्यले आमा समूह, विद्यालय र समुदायमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक महिनाको ११ वा १२ गते नियमित खोप सेवा प्रदान हुँदै आएको छ ।

परिवार नियोजन, क्षयरोग, कुष्ठरोग तथा सामान्य चिकित्सा सेवा दैनिक रूपमा उपलब्ध छ । मलेरिया रोगको शङ्का देखिएमा घरमै पुगेर सेवा दिने, समुदायलाई सचेत बनाउने कार्यक्रमसमेत सञ्चालनमा छ ।

रक्तचाप परीक्षण, शरीरको तौल नाप्नेलगायत सामान्य उपचारका लागि अस्पताल जान नपर्ने अस्पतालसम्म पुग्न नपर्ने स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ज्ञवालीले बताए । सामान्य उपचार सेवाका लागि नजिकको स्वास्थ्य केन्द्रमा पुग्न उनले आग्रह गरे ।

पोषण कार्यक्रमअन्तर्गत ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण, घरघरमा पुगेर तौल जाँच, (स्क्रिनिङ) अभियान सञ्चालन भइरहेको छ । सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवती जाँच, सुत्केरीपछि तेस्रो दिन र ७ देखि १४ दिनभित्र थप एकपटक गरी जम्मा दुईपटक घरमै पुगेर आमा तथा नवजात शिशुको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । ज्वरो, रुघाखोकी, पखाला, प्रेसर जाँच, घाउचोट, दाँत दुख्ने, मुख सुन्निनेजस्ता सामान्य उपचार सेवा केन्द्रबाटै दिइन्छ ।

स्वास्थ्य केन्द्रमा हाल ८९ किसिमका औषधि सूचीमा रहे पनि खोप, क्षयरोग, कुष्ठरोग, मलेरिया र परिवार नियोजनबाहेकका ५१ किसिमका औषधि उपलब्ध छन् । सिद्धार्थनगरका अधिकांश वडा बजार क्षेत्रमै पर्छन् ।

जिल्ला सदरमुकाम भएकाले यहाँ जिल्ला अस्पताल, निजी अस्पताल तथा क्लिनिकको सङ्ख्या उल्लेख्य छ । विशेषज्ञ सेवा लिनु परे सरकारीभन्दा केही खर्चिलो भए ठूला अस्पतालमै जाने प्रवृत्ति छ । सरकारी स्वास्थ्य केन्द्रप्रति विश्वासको कमी र ‘ठूलो अस्पतालमै राम्रो उपचार हुन्छ’ भन्ने मानसिकता स्वास्थ्य केन्द्र उपयोग नबढ्नुको प्रमुख कारण मानिन्छ । तथ्याङ्कले यो कुराको पुष्टि गर्छ ।

नगर स्वास्थ्य प्रणालीमा डाटा इन्ट्री भएका आधारभूत स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र नगरभित्र सञ्चालित करिब ४० वटा अस्पतालबाट गत आर्थिक वर्ष २०८१÷८२ मा कूल चार लाख ८२ हजार ८८९ जनाले स्वास्थ्य सेवा लिएका छन् । तीमध्ये नगरपालिकाले सञ्चालन गरेका आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा लिनेको सङ्ख्या २१ हजार ६९६ मात्र छ ।

स्थानीय तहले स्वास्थ्य सेवा पहुँच विस्तारमा लगानी बढाए सेवा उपयोग र विश्वास अभिवृद्धि नहुँदा ठूला अस्पतालमा बिरामीको भीड यथावत् देखिन्छ । स्वास्थ्य केन्द्रको सेवा गुणस्तर, जनशक्ति, औषधि उपलब्धता र जनविश्वास एकैसाथ सुधार नगरेसम्म ‘घर नजिकै उपचार’ को अवधारणा व्यवहारमा पूर्णरूपमा लागू हुन कठिन देखिन्छ ।

भीम अस्पतालमा दैनिक ५०० जनासम्म बिरामीले ओपिडी सेवा लिने गरेको अस्पताल प्रमुख डा‍ वर्षा थापाले जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १२ : १३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज– निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता

अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

एजेन्सी– अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक

आईसीसी टी–२० विश्वकप : नेदरल्याण्ड्सबाट पाकिस्तानलाई १ सय ४८ रनको लक्ष्य

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले पाकिस्तानलाई १ सय

११ हतियार स्थानीय प्रशासनलाई फिर्ता

चितवन– जिल्लामा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई