बारा- बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अन्सारी विजयी भएका छन्। उनले ४१ हजार २०० मत प्राप्त गर्दै जीत हात पारेका हुन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन्।
यस्तै जनता समाजवादी पार्टी, नेपालका सन्जुसाह कानुले ७ हजार ५९३ मत ल्याएका छन् भने नेपाली काँग्रेसका श्यामबाबु गुप्ताले ७ हजार ११३ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहाले २ हजार ६७ मत पाएका छन्। रहबर पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा छाडेर रास्वपामा प्रवेश गरेका थिए ।
नेकपा माओवादी केन्द्रबाट मधेश प्रदेश सांसद हुँदा गत कात्तिकमा रहबर अन्सारीले संसद्मै आफैंलाई मोसो दलेका थिए ।सांसद र दलहरूको नैतिक धरातल सकिएको भन्दै आलोचना गरेका उनले त्यसपछि माओवादीसँग सम्बन्ध विच्छेद गरेका थिए ।
गत २४ पुसमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिएर उनले पार्टी छोडेको घोषणा गरेका थिए ।
मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन गरे पनि रोष्ट्रमबाटै विद्रोह गरेपछि रहबर चर्चामा आएका थिए। उनले विद्रोह गरेपछि माओवादी केन्द्रकी अर्की प्रदेश सांसद माला कर्णलेसमेत विश्वासको मत नदिने घोषणा गरेकी थिइन्।
समर्थन गरेकै दलका दुई जना सांसदले विद्रोह गरेपछि सोनलले विश्वासको मत गुमाएका थिए। उनले सरकार बनाउन र ढाल्नका लागि मात्रै आफू प्रदेश सांसद नभएको जिकिर गरेका थिए।
संसदीय दलको निर्णयविपरित जाँदा पनि रहबरलाई पार्टीलाई कारबाही भने गरेको थिएन। तर उनले माओवादी र मधेश सांसद छाड्दै रास्वपामा प्रवेश गरेर अब संघीय संसद्को यात्रा तय गरेका हुन् ।
उता तनहुँ छाडेर २०७९ मा एकीकृत समाजवादीबाट बारा ४ मा जितेका किसान यस पटक फराकिलो मतले पराजित भएका छन् ।













प्रतिक्रिया