केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालले पेट्रोल पम्प खोल्ने निधो गरेछन् । आश्चर्य, एउटा पनि गाडी तेल भर्न आएनन् । किन यस्तो अचम्म भयो भनेर खोज्दै जाँदा बल्ल रहस्य खुल्यो– उनीहरुले घरको एकतलामाथि पो पम्प खोलेका रहेछन् ।
लौ, पेट्रोल पम्प फापेन भनेर त्यही ठाउँमा रेष्टुरेन्ट खोलियो । त्यसपछि पनि अहँ, चरोमुसो छिर्दैन । त्यहाँ पनि के फसाद परेछ भने पेट्रोल पम्पको ठाउँमा रेष्टुरेन्ट त खुल्यो, तर साइनबोर्ड फेर्न बिर्सिएछ ।
अन्तिममा उनीहरुले ट्याक्सीमा आम्दानी देखेर ट्याक्सी किन्ने निधो गरेछन् । ग्राहकको खोजीमा त्यही ट्याक्सी चढेर उनीहरु शहर पसे । ट्याक्सीभरि मानिस देखेपछि कुनै यात्रुले रोकेनन् । समय घर्किएपछि मात्र तिनीहरुले बुझे– यात्रुले ट्याक्सी चढ्न त खाली हुनुपर्छ । यो चेत उनीहरुमा आउँदा बजारमा डिलक्स सुविधाका अरु ट्याक्सी आइसकेका थिए ।
यस्तै मुर्ख्याईँमा नेताहरुले दशकौँ बिताए । देशको राज्यप्रणालीमा बसेर प्रयोग, प्रयोग अनि फेरि पनि प्रयोगको घनचक्कर चलाइरहँदा अन्ततः ती दलका सारथीहरु आफू टेकेको जमिन भास्सिने अवस्थामा पुगेका छन् । नेपालमा भएका पटक पटकका राजनीतिक क्रान्ति ठट्टामा अनुवाद हुँदा नेताहरुमाथि प्रश्नका चाङ लाग्दै गए ।
कोही पोखरा, कोही महेन्द्रनगर त कोही झापा गन्तव्य पुग्ने स्वार्थ बोकेका नेताहरु सार्वजनिक खपत र पदीय स्वार्थका लागि एउटै गाडीमा यात्रा गर्दा यो अवस्था आएको बुझ्न कठिन छैन । मुग्लिन पुगेपछि गन्तव्यका लागि हुने छिनाझम्टी राजनीतिमा दशकौँदेखि छिमल्ने प्रयास नहुँदा ऐँजेरु बन्दै गयो ।
आगो लागेपछि बल्ल दमकल किन्न टिप्पणी उठाउने खरिदारी शैलीमा रमाइलो गर्ने प्रवृत्तिले राजनीतिक नेतृत्व पुस्तौनी पङ्गु बन्ने अध्याय रोकिएन । प्रणालीमा गर्नुपर्ने सुधारमा उनीहरु बेखबर भए । अरु त अरु आफ्नो सुरक्षा गर्ने सिपाही सात दशकअघिको कानुनबाट थिचिएको यथार्थले कहिल्यै पोलेन ।
सोच्ने एउटा, बोल्ने अर्को र गर्ने झन् अलग कर्मले हरेक नेताको इतिहास बिटुलियो । राज्यमा स्थापित अनुत्तरदायी शासन प्रणालीका कारण हरेक सरकार चटकेजस्तै जोक्कर बन्दै गए ।
स्वघोषित महाज्ञानी केपी ओली शैली नाम नभएर प्रवृत्ति हो । हिजो राजा ज्ञानेन्द्रलाई सत्ता ढल्ने अघिल्लो दिनसम्म पनि आफ्नो सरकार बज्रझैं लाग्थ्यो । नेपाल टेलिभिजनमा समाचार शैलीको वक्तव्य पढ्न पुग्थे । राज्यलाई च्यालेन्ज गरेर नेपाली राजनीतिको मैदानमा बहादुरीपूर्वक उत्रिएको सुप्रिमो ‘प्रचण्ड मिसाइल’ कटुवाल नामको एउटा मट्याङ्ग्रासँग जुध्दा पहिलो ब्याटिङमै आउट भयो । चारगणले छेकेको सर्वशक्तिमान लोकप्रिय राजपरिवार रगतको पोखरीमा खरानी हुन्छ भन्ने छनक कसलाई थियो ? दीपेन्द्रको विवाह कारण बनाइनु त एउटा कुशल निर्देशकले सिनेमाभित्र जन्माएको पटकथा मात्रै हो ।
वेस्टमिनिस्टर सिस्टममा चलेको शासन व्यवस्था छ । बाघ संरक्षक समितिको अध्यक्ष, विश्वविद्यालयको कुलपतिदेखि चार दर्जन संस्थाको कार्यभार प्रधानमन्त्रीको काँधमा छ । प्रधानमन्त्री कार्यालयको संरचनात्मक ढाँचाको ज्ञान अपवाद बाहेक अरु सरकार प्रमुखलाई भएन । मन्त्रीले छानिसकेका प्रशासकको दुखीआत्माहरु प्रधानमन्त्री कार्यालयको उम्दा मेसिनरी भित्र पर्छन् । प्रधानमन्त्रीको दैनिकी कार्यालयमा विज्ञसँग नभएर अनुचरसँग बित्छ । ०४६ सालको लोकतन्त्रपछि देखिएको हुबहु अभ्यास यही हो ।
संवैधानिक–कूटनीतिक, सिपाही– संगठन प्रमुख, कार्यालय सहयोगी–मुख्यसचिवसम्मका पद हाताहाती फाइदाका साधन बनाइए । जनताले चुन्ने सार्वभौम पदका टिकट नेताको पँजनी र कमाइको साधन बन्यो । न्याय फुर्सदमा दिने चीज बनाइयो । अर्थशास्त्र मुखाग्र हुने तर चुलोको अर्थशास्त्र नबुझ्ने देश निर्माणका कथित इञ्जिनियरका कारण नेपालीको भाग्य मिलको फित्ता घुमेझैँ गन्तव्यबिनाको चक्रव्यूहमा घुमेको दशकौँ भयो ।
हजुरबादेखि नातिपुस्तासम्मले गरिबीको सारङ्गी पेट उदाहरण दिने इथियोपियामा फलेको बेसार वर्षमा १५ हजार किलो भित्रिन्छ । जोडी अङ्कको आर्थिक विकासमा पाइला टेकेको इथियोपियालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नल्याउने बहादुर नेपाली त्यतिबेला लज्जित हुनेछन, जतिबेला परिवार पाल्ने उपाय नभेटेर श्रम बेच्न इथियोपिया जाने भिसा लगाउन आफ्नै भूमिमा लाईन लाग्नुपर्ने दिन धेरै टाढा छैन ।
खानेतेलको गुणस्तरमा इतिहास बनाएको खोकनाका तेलमिल रुस र अष्ट्रेलियाबाट ल्याइएको तोरीले धानेको यथार्थले कतिको मुटु पोल्छ ? भक्तपुरको जुजु धौ घिटिक घिटिकको अवस्थामा रहेका बेला नेपाली बजारमा स्पेनबाट आयातीत दहीको तिर्खा बढ्दो छ । विश्वमा हतियार बेचेर खरबौँ डलर भित्र्याउने अमेरिकाले झण्डै १७ लाख केजी भटमास नेपाली भान्सामा छिराएको सत्यलाई नेपालको कुन राजनीतिक कोर्समा ठाउँ पाउला ?
मकै बाली भित्र्याउने मौसम यो समयमा अर्जेन्टिनी मकैले बजारमा जमाएको दृश्य कृषि अर्थतन्त्रका लागि कसिङ्गर बनेर प्रकट भइरहेको छ । एलियन नै राज्यसत्तामा आएपनि हाम्रो अर्थतन्त्रमा राजश्वले धानेको आयतन १० खर्बको हाराहारीमा घुमेको छ । बाँकी त आन्तरिक र बाह्य ऋणकै भरमा सरकारको नीति तथा कार्यक्रम धानिदै आएको छ ।
महाभारतमा हेर्नुस त भीष्म, द्रोण, कर्ण सबै महान् थिए । तर उनीहरुको किन हार भयो ? त्यसको सहज उत्तर के हो भने महाभारतमा जित शक्तिको नभई सिद्धान्तको थियो । भीष्म शक्तिशाली थिए, तर सिंहासनमा रहेका गलत मानिस बोकेका थिए । द्रोण विद्वान थिए तर पक्षपातीसँग सहकार्य थियो । । कर्ण वीर थिए यद्यपि सत्यभन्दा बढी मित्रतालाई प्राथमिकता दिँदा दोषमुक्त भएनन् । महाभारतको सन्देश यो हो कि गलतसँग उभिएर कोही सही बन्न सक्दैन । इतिहास कर्म देख्छ, बहाना होइन ।
विषय सामान्य हो तर कैकेयीले कान भरेर रामको बनबास भो । सुपर्णखाले कान भर्दा रावण खर, दूषण मारिए । शकुनीले धृतराष्ट्रको कान भर्दा महाभारत युद्ध भयो । महारानी राजेन्द्रलक्ष्मीको कान भरेरै ३८ वर्षका बहादुर शाह खेदिए । कान भरेरै भीमसेन थापा पदच्यूत भएर नजरबन्दमा परे । महारानीको कान भर्दा कोतपर्व भयो । घमण्ड नगर्दा हुन्छ । एउटा सानो ढुङ्गाले मुखमा पुगिसकेको गाँस बाहिर निकालिदिन्छ । कर्मसँग न कागज छ, न कुनै किताब छ । तर उसले सारा संसारको हिसाब राख्छ । शास्त्र भन्छ– संसारमा चार ठाउँ समुद्र, मसानघाट, लोभको भाँडो र मान्छेको मन कहिल्यै भरिँदैन् ।
देश के हो ? यसको उत्तर शरणार्थीहरुलाई थाहा छ । दलाई लामासँग के छैन ? सबैथोक हुँदा पनि माटो नहुँदा उनको जीवन अपूर्ण छ । एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ । मानिस आउनु जानु प्रक्रिया हो । मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रम शिवाय केही होइन ।
गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहोर्याउनु अक्षम्य अपराध हो । खालखालका प्रयोगले देश छिद्र भइसक्यो । भो अब दाउपेच बन्द गरौँ । धेरै हदसम्म देश चलाउने मियो बनेको राजनीति सङ्लिनु पर्छ । त्यसपछि चिन्ता हैन, चिन्तनको सुन्दर बीउ तमाम देशबासीमा छर्नुपर्छ । एकरातमा एउटा नाइट बसले छिचोल्ने सानो मुलुक बन्न कतिबेर लाग्छ र ? कसैले बनाउन सक्दैन भने उसलाई भत्काउने अधिकार पनि त हुँदैन ।
जीवनबाट बिदा लिनुअघि रावणले रामलाई भनेका थिए– ‘उमेरमा म तिमीभन्दा पाको छु । ज्ञान र बलमा पनि अब्बल छु । तिम्रो सुनको घर, मेरो सुनको देश । तपस्या र क्षमतामा पनि कमजोर छैन । देशको आकार तिम्रो भन्दा ठूलो छ । सबै चीजमा उत्कृष्ट हुँदाहुँदै लडाईं जित्न सकिनँ । यसको एउटैका कारण हो– तिम्रो भाइ तिम्रो साथमा छ, मेरो भाइ शत्रुसँग छ ।’
खाडी, युरोप, अमेरिका बस्नेदेखि सडक सफा गर्ने सम्मलाई राजनीतिक राप, तापको अनौठो तिर्खा छ । जनताको आम्दानी स्रोत सुक्दै जाँदो छ । घरखेत बाँझा छन् । डोरी लाहुरे, तोरी लाहुरे विदेशी भूमिमा बसेर नेपालप्रति अर्तीको अगाध स्नेह बर्साउन मस्त छन् । एउटा गाउँ नगरपालिकामा अनुवाद भएका छन् । गाउँ समिति हुँदा पचास रुपियाँमा तमाम् हुने काम अहिले रातारात पाँच हजार पुर्याइएको छ । काम गर्ने सल्लाहमा विमति भएर नभई बाँडफाँडमा कुरा नमिलेको बाछिटाले जनता आजित भएका हुन् ।
सपना देख्ने पहिलाका नेतासँग समय भएन, समय भएकासँग नियत भएन । राजा त्रिभुवनलाई त्रास देखाइ दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउनेदेखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई एक दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ । नेताहरुको कमजोरीको फाइदा उठाएर स्वार्थीहरुले देशमा फौजी निकायको सङ्ख्या लाखौँ पुर्याइसके । लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो ।
यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरुमा आएन । फूलपाती लिएर पूजा गर्न जाने कार्यकर्ताहरुको हात शीर्ष नेताहरुको गालामा पुग्दा पनि उनीहरुको कार्यशैलीमा बीसको उन्नाइस सुधार आएन । कथित जनयुद्ध सफल पार्न हजारौँले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरुलाई थाहा छ कि छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा फैसला सम्बन्ध विच्छेदका छन् ।
एमाले, कांग्रेस, माओवादी जस्ले जतिसुकै फूटानी लाएपनि देशको सक्कली अनुहार तथ्याङ्कले देखाउने हो । कोही सत्तामा पुगेर मात्तिनु र कोही प्रतिपक्षीमा पुगेर आत्तिनुले केही फरक पर्दैन । प्रणालीमा कोही आउनु जानुले तात्विक फरक राख्दैन । केपी ओली हार्नु देशको जीवनमा केही होइन । बालेन जित्नु अर्को अध्याय हो । उनी निकम्मा निस्किएका दिन ओलीका पालामा त घर जलाइयो, त्यो दिन मान्छे जलाइयो भने आश्चर्य नमाने हुन्छ । साँचो लोकतन्त्र त त्यो हो, जसले राज्य सञ्चालन प्रक्रियामा जनतालाई थोरै भन्दा थोरै गुनासोको अवसर दिन्छ ।
अलेक्जेण्डर ग्राहम बेलकी पत्नी कान नसुन्ने थिइन् । आफ्नी पत्नीलाई कान सुन्ने बनाउन उनले यन्त्रको आविष्कार गर्न भगिरथ प्रयास गरे । पत्नीको कान खुलाउन त सकेनन बरु उनले टेलिफोनको आविष्कार गरेर विश्वमा चर्चा बटुले । स्कटल्याण्डमा जन्मिएका उनको क्यानडामा मृत्यु भयो । उनको मृत्यु हुँदा विश्वका अधिकांश ठाउँमा एक मिनेट टेलिफोन सेवा बन्द गरिएको थियो । आफन्तका लागि काम गर्दा यसरी सम्पूर्ण मानव सेवा गर्न सकियो भने त्यसले दिने आनन्दबाट मुक्तिको बाटो आफैँ खुल्छ ।












प्रतिक्रिया