असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या « Khabarhub

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

तत्काल वैकल्पिक मार्गको सुधार थाल्न विज्ञको सुझाव



काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग पूर्वीनेपाल जोड्ने लाइफलाइन बीपी राजमार्ग केही वर्षयता ठप्प हुने गरेको छ ।

दुई दशक लगाएर विस्तार गरिएको राजमार्ग पूर्वीनेपाल जोड्ने सबैभन्दा छोटो र सजिलो मार्ग पनि हो । जसको निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)को अनुदानमा आर्थिक वर्ष ०५३/५४ देखि थालेर ०७१ चैत्रमा सकिएको थियो ।

तत्कालीन समयमा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन येन लागतमा राजमार्ग निर्माण भएको हो ।

२०७१ चैतदेखि सुचारु गरिएको राजमार्ग २०७२ को भूकम्पले निर्माण सम्पन्न भएको महिना दिनमै क्षतिग्रस्त बन्यो । पुनः जापान सरकारकै सहयोगमा क्षतिग्रस्त राजमार्ग मर्मतसँगै १५ माघ, २०७७ सालमा नेपाल सरकारलाई जिम्मा लगाइयो ।

तर त्यसको ४ वर्ष बित्दा नबित्दै २०८१ असोजको अत्यधिक वर्षापछिको बाढीपहिरोबाट राजमार्ग पुनः ध्वस्त बन्यो । जसकारण काभ्रेको नमोबुद्ध नगरपालिकामा पर्ने भकुण्डेबेँसीदेखि सिन्धुलीस्थित सुनकोशी गाउँपालिकाको नेपालथोकसम्म (२८ किमि) सडक पुनर्निर्माणको चरणमा छ ।

चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेंसी, घुमाउने लगायत करिब ८ किलोमिटर खण्ड सडकको जगबाटै पुनर्निर्माण गर्नुपर्ने छ ।

जसका लागि काभ्रेतर्फको ३ खण्ड पुनर्निर्माण सडक डिभिजन कार्यालय भक्तपुर र सिन्धुलीतर्फको एक खण्डको जिम्मा सडक डिभिजन कार्यालय खाल्टेलाई दिइएको छ । सरकारले यसमा ८ अर्ब ५० करोड स्रोत सहमति दिएको छ ।

‘काभ्रेतर्फका तीन खण्डलाई सात अर्ब ५० करोड र सिन्धुलीको एक खण्डलाई एक अर्ब रुपैँया स्रोत सहमति आएको छ,’ विभागका प्रवक्ता ईन्जिनियर श्यामबहादुर खड्काले जानकारी दिए ।

उक्त सहमतिअनुसार गत आर्थिक वर्षको असारअघि नै ठेक्का लागाएर काम सुरू गरिएको डिभिजन भक्तपुरका सूचना अधिकारी सुमनराज बस्नेतले बताए ।

‘काभ्रेतर्फका ३ ठेक्कामध्ये एउटा त जाइकाको अनुदानमा बन्ने हो, त्यसबारे हामीलाई जानकारी हुँदैन । त्यसबाहेक अन्य दुई खण्ड ०८२ जेठ र असारमा ठेक्का भएर पनि सडकको बेस नै नभएको ठाउँलाई प्राथमिकतामा राखेर काम भइरहेको छ,’ बस्नेतले भने ।

डालाबेँसी-चारसयबेँसी-भकुन्डेबेँसी खण्ड

बस्नेतका अनुसार डालाबेँसी-चारसयबेँसी (८.५ किमी) सडक पुनर्निर्माणका लागि खानी-एवन-कमलजीत जेभीले काम गरिरहेको छ । उक्त कम्पनीसँग एक अर्ब ४२ करोड ३७ लाख रुपैँयामा (भ्याटसहित) सम्झौता भएको छ ।

यस्तै, चारसयबेँसी-भकुन्डेबेँसी (११.८ किमी) सडक पुनर्निर्माणका लागि लामा-नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । जसमा हालसम्म २५ प्रतिशत प्रगति भएको उनको दाबी छ ।

बर्खेखोला-पिप्ले खण्ड

यस्तै, बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडक भने जाइकाको अनुदानमा पुरानै स्वरुपमा बन्नेछ । तर यो खण्ड हालसम्म ठेक्का लागेको छैन ।

‘२ अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने गरी जापान सरकारसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । उहाँहरू अहिले सम्झौता भेरिफिकेसनको चरणमा हुनुहुन्छ,’ सडक विभागका वैदेशिक महाशाखा प्रमुख अर्जुन अर्यालले बताए ।

उक्त प्रकृया यही हप्ता पूरा हुने अनुमान रहेको बताउँदै केही दिनमै खरिद प्रक्रियामार्फत् उक्त खण्डमा पनि काम सुरू हुने उनको भनाइ छ ।

नेपालथोक-बर्खेखोला खण्ड

सिन्धुलीतर्फको नेपालथोक-बर्खेखोला (४.९० किमी) सडक पुनर्निर्माण सुरू भइसकेको छ । भ्याटसहित ६१ करोड रुपैयाँ लागतमा खरिढुङ्गा-घिसिङ-क्षितिज जेभीले उक्त खण्डमा काम गरिरहेको छ ।

०८१ मा रोशीखोलामा आएको बाढीले क्षतिग्रस्त यो खण्ड डाइभर्सन निर्माण गरि सुचारु गरिएको थियो । गत असोजमा पुनः बाढीले डाइभर्सन बगाएसँगै हरेक पटकको सामान्य वर्षाले पनि समस्या निम्त्याइरहेको छ ।

‘यस खण्डमा हामीले पहिलो चरणमा सडकको जग नै नभएको ठाउँमा तलबाट आरसीसी पर्खाल लगाएर काम गरिरहेका छौँ । हालसम्म ३० प्रतिशत प्रगति भएको छ,’ सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका सूचना अधिकारी ईन्जिनियर सुदर्शन उप्रेतीले बताए ।

उनका अनुसार बर्खायामअगावै ६५ प्रतिशत प्रगतिसहित अतिजोखिम क्षेत्रमा काम सम्पन्न गर्ने योजना छ ।

यो खण्डको विकल्प के ?

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएमा भरपर्दो वैकल्पिक मार्गको अभाव देखिएको छ । सम्भावित विकल्पका रूपमा मध्यपहाडी लोकमार्गलाई हेरिए पनि सुनकोशी र खानी खोलालगायत तीन स्थानमा ठूला पुल नबनेकाले बर्खामा सवारी सञ्चालन सम्भव छैन । ती पुल बनेको भए सित्खाबाट छिरेर सीधै जलघाट निस्कने भरपर्दो मार्ग हुने थियो ।

तर दुई वर्षको बाढीसँगै राजमार्ग अवरुद्ध हुँदा ओखलढुंगा, उदयपुर, सोलुखुम्बु लगायतका जिल्लाबाट छुटेका सवारीसाधनले वैकल्पिक रूपमा मध्यपहाडी राजमार्ग प्रयोग गरेका थिए ।

अर्को विकल्पका रुपमा सिन्धुरेटार पुल तरेर तिमाल हुँदै भकुण्डेबेँसी निस्कने करिडोर छ । तर त्यो पनि साना तथा दुईपांग्रे सवारीका लागि उचित देखिँदैन ।

यस्तै, बीपी राजमार्गको खुर्कोट हुँदै रामेछापको मन्थली, तामाकोशी, दोलखाको चरिकोट, अरनिको राजमार्गको खडीचौर हुँदै काठमाडौं पुग्न सकिन्छ । यो राजमार्गको यात्रा गर्दा खुर्कोटबाट काठमाडौं पुग्न २०४ किलोमिटर छिचोल्नुपर्ने हुन्छ ।

यस्तै, सिन्धुलीमाडीबाट मदन भण्डारी राजमार्ग हुँदै हेटौँडा-फाखेल भएर काठमाडौं पुग्न सकिन्छ, जसको दूरी करिब २०९ किमि हुन्छ ।

ठूला सवारीका लागि सिन्धुलीमाडी-हेटौंडा-पालुङ-नौबिसे हुँदै काठमाडौं पुग्ने रुट करिब २१९ किमि छ । तर यी सबै सडक आफैँ सुधारको पर्खाइमा छन् ।

अर्को, सबैभन्दा लामो रुट बर्दिबास-हेटौंडा-नारायणगढ-मुग्लिन-काठमाडौं करिब ३५७ किमि दूरीको छ । जुन लामो भइकन पनि भरपर्दो विकल्प हो ।

तर त्यही रुटको सास्ती घटाउन बीपी राजमार्गको परिकल्पना गरिएको थियो । अन्ततः सरकारले पूर्वतर्फकै वैकल्पिक सडकलाई भरपर्दो बनाउन नसके पटक-पटक विपत्ति भोगेको बीपी राजमार्गको विकल्पमा लामो यात्रा तय गर्नुपर्ने बाध्यता पूर्वी नेपालका यात्रुलाई पर्न सक्छ ।

बीपी राजमार्गलाई नै बर्खाअघि तयार गर्ने विभागका सूचना अधिकारी शुभाञ्जन दाहाल बताउँछन् ।

‘यसको दीर्घकालीन विकल्प भनेर त कुनै सडक तोकिएको छैन । त्यस्तो योजना पनि बनेको छैन । हामीले यसलाई नै वर्षाअघि सक्नेगरी उच्च जोखिम क्षेत्रमा प्राथमिकता दिएर काम गर्न भनेका छौँ,’ उनले भने । बीपी राजमार्ग हुँदै दैनिक करिब ३ हजार सवारीसाधन आवतजावत गर्दछन् ।

के भन्छन् पूर्वाधारका जानकार ?

भौगोलिक अफ्ठ्यारोबीच निर्माण भएको बीपी राजमार्गको विकल्पका रुपमा सरकारले तत्काल मध्यपहाडी लोकमार्ग तथा कान्ति लोकपथलाई स्तरोन्नति गर्नुपर्ने भौतिक तथा यातायात मन्त्रालयका पूर्वसचिव किशोर थापा सुझाउँछन् ।

‘बीपी राजमार्ग भौगोलिक अफ्ठ्यारोबीच लामो समय लगाएर निर्माण गरिएको थियो । अहिले प्राकृतिक विपत्तिले क्षतिग्रस्त छ । पुनर्निर्माणमा अझै समय लाग्छ । त्यसैले सरकारले दक्षिणकाली हुँदै जाने कान्ति लोकपथ र मध्यपहाडी राजमार्गलाई मुख्य विकल्पका रुपमा सुधार गर्नु जरुरी छ,’ थापाले भने ।

पहिले विकल्प नभएका कारण नारायणघाट-मुग्लिन हुँदै आउनुपर्ने थियो । तर अब सरकारसँग यसका अनेक विकल्प छन् । त्यसैले ती वैकल्पिक सडकलाई सुधारको पहल गर्नुपर्ने उनले सुझाएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ८ : ०१ बजे

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको

बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह