दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान « Khabarhub

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी फैलिएको दादुरा प्रकोप नियन्त्रण गर्न बङ्गलादेशले देशव्यापी आपत्कालीन खोप अभियान सुरु गरेको छ ।

तीव्र रूपमा बढ्दो सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उच्च जोखिम क्षेत्रबाट अभियान अघि बढाइरहेको छ ।

सरकारले विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र गाभी खोप गठबन्धनसँगको सहकार्यमा आइतबारदेखि १८ उच्च जोखिममा रहेका जिल्लाहरूमा छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरेको जनाएको छ । यो अभियान अर्को महिनादेखि चरणबद्ध रूपमा देशभर विस्तार गरिने योजना रहेको छ ।

युनिसेफका प्रतिनिधि राणा फ्लावर्सले सङ्क्रमण तीव्र गतिमा बढिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरिन् । उनका अनुसार यो प्रकोपले विशेष गरी खोप नलगाइएका वा न्यून खोप लगाइएका बालबालिकामा रहेको प्रतिरक्षात्मक खाडल उजागर गरेको छ ।

साथै, नौ महिनाभन्दा कम उमेरका शिशुहरूमा सङ्क्रमण देखिनु झन् चिन्ताजनक भएको उनले बताइन्, किनकि उनीहरू नियमित खोपका लागि अझै योग्य हुँदैनन् ।

सरकारी तथ्याङ्कअनुसार करिब १७ करोड जनसङ्ख्या रहेको देशमा मार्च १५ यता सात हजार ५०० भन्दा बढी शङ्कास्पद सङ्क्रमित फेला परेका छन् ।

तीमध्ये ९०० भन्दा बढीमा दादुरा पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दादुरा अत्यन्तै सङ्क्रामक वायुजन्य रोग हो, जसले ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या र शरीरमा विशेष प्रकारको बिमिरा ल्याउँछ । साना बालबालिकामा यसले गम्भीर जटिलता र मृत्यु समेत निम्त्याउन सक्छ ।

रोगको फैलावट रोक्न कम्तीमा ९५ प्रतिशत जनसङ्ख्यामा खोप कभरेज आवश्यक हुने बताइएको छ । तर बङ्गलादेशमा खोप पहुँचमा असमानता कायम रहँदा जोखिम अझै उच्च रहेको देखिएको छ ।

स्वास्थ्यमन्त्री सरदार मोहम्मद सखावत हुसेनले संसद्मा जवाफ दिँदै वर्तमान प्रकोप विगतका सरकारहरूको कमजोर व्यवस्थापनको परिणाम भएको बताए ।

उनका अनुसार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको अघिल्लो सरकार र त्यसपछिको अन्तरिम प्रशासनले खोप भण्डारण र आपूर्ति व्यवस्थापनमा आवश्यक निर्णय लिन नसक्दा दादुरासहित अन्य छ रोगका खोप अभाव सिर्जना भएको हो ।

हालैको राजनीतिक अस्थिरताले पनि खोप अभियानमा अवरोध पुर्‍याएको थियो । सन् २०२४ मा भएको जनविद्रोहपछि शेख हसिना सत्ताच्युत भएकी थिइन् भने त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । उक्त सरकारले फेब्रुअरीमा सम्पन्न निर्वाचनपछि सत्ता निर्वाचित सरकारलाई हस्तान्तरण गरेको थियो ।

स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई बालबालिकामा दादुराको लक्षण देखिए तत्काल अस्पताल लैजान आग्रह गरेका छन् ।

ढाकास्थित सङ्क्रामक रोग अस्पतालकी उपनिर्देशक एफ. ए. आसमा खानले उच्च ज्वरो देखिएमा औषधि पसलबाट आफूखुसी औषधि नलिन सुझाव दिँदै समयमै अस्पताल पुर्‍याउन आग्रह गरिन् । उनका अनुसार अस्पतालमा उपलब्ध चिकित्सकीय सेवाले उचित उपचार सुनिश्चित गर्न सक्छ ।

बङ्गलादेशले सन् १९७९ देखि खोप अभियान सञ्चालन गर्दै आएको छ, जसले खोप कभरेज दुई प्रतिशतबाट बढेर ८१.६ प्रतिशत पुर्‍याउन सफल भएको छ ।

तर युनिसेफले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा देशले प्रगति गरे पनि खोप पहुँचमा गहिरो असमानता अझै कायम रहेको चेतावनी दिएको थियो । रासस
 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  २ : ११ बजे

सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र

ट्रम्पको धम्कीलाई चुनौती दिँदै पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउने इरानको तयारी

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि व्यापक हमलाका लागि निर्धारण

भाउजुका नाममा एसईई दिने नन्द पक्राउ

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं- नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति