काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पछिल्लो १५ दिनमै नेपाल आयल निगमलाई करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको उल्लेख गर्दै यस्तो निर्णय लिएको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बताइन् ।
रावलले इन्धन खपत घटाउन शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने तथा विद्युतीय सवारी र इथानोल प्रयोगलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गरिएको बताएकी छन् ।
पछिल्लो पटक चैत १९ मा इन्धनको मूल्यमा वृद्धि गरिएको थियो। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार उकालो लाग्दै गएको भन्दै निगमले नयाँ मूल्य समायोजन गरेको थियो।
सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार पेट्रोल, डिजेल तथा मट्टितेल सबैमा समान १५ रुपैयाँले वृद्धि गरिएको थियो ।
नयाँ दरअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ डिजेल र मट्टितेल १७२ रुपैयाँमा कारोबार भइरहेको छ।













प्रतिक्रिया