एमालेका विशेष महाधिवेशन पक्षधरहरूलाई च्यासल बोलाइयो « Khabarhub

एमालेका विशेष महाधिवेशन पक्षधरहरूलाई च्यासल बोलाइयो


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौको जेन-जी आन्दोलनकै समयदेखि हट्नुपर्ने दबाब खेपिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डेढ सातादेखि प्रहरीको हिरासतमा छन्।

जेन-जी आन्दोलनमा भएको हताहतीलाई लिएर ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेर हिरातसमा राखेको हो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसअनुसार पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालको बेडमा छन् ।

यस्तो अवस्थामा संसदीय दलको नेतामा पनि नयाँ पुस्तालाई लत्याउँदै ओलीकै उमेरका उपाध्यक्ष रामबहादुर थापा बादललाई ल्याएपछि अहिले विद्रोहको संकेत देखिएको छ।

ओलीलाई पार्टी नेतृत्वबाटै हटाउनुपर्ने आवाज अहिले सडकदेखि पार्टी कार्यालयसम्मै पुगेको छ। यस्तोमा केही दिनयता एमालेमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलिरहेको छ। नेपाली कांग्रेसमा गत असोजमा चलेजस्तै एमालेमा पनि हस्ताक्षर अभियान थालिएपछि यसलाई छेक्ने कोसिस भएको छ।

यसैलाई लिएर मंगलबार एमालेका उपलब्ध पदाधिकारीहरूको उपस्थितिमा हुने बैठकमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाइरहेका र त्यसलाई साथ दिएका नेताहरूलाई छलफल गर्न भन्दै च्यासलमा बोलाइएको हो ।

एमाले महासचिव शंकर पोखरेलसहितले विशेष महाधिवेशन माग्दै गरिएको हस्ताक्षर अभियान अघि बढाए कारबाही गर्ने चेतावनीयुक्त सन्देश दिइसकेका छन् । यस्तोमा उनीहरूलाई हस्ताक्षर अभियान रोक्ने दबाब दिनका लागि च्यासल डाकिएको हो ।

एमालेको विधानमा बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरे केन्द्रीय कमिटीले निर्णय गरेर बोलाउनुपर्ने व्यवस्था छ। यदि यस्तो माग बेवास्ता गरिएमा हस्ताक्षरकर्ताहरूको भेलाले नयाँ नेतृत्व चयन र नीति पारित गर्न सक्ने प्रावधान पनि विधानमा छ ।

विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान चलिरहँदा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला हिरासतमा छन् । उनलाई सोमबार सर्वोच्च अदालतले केही राहत दिएको छ। सर्वोच्चको आदेशअनुसार यदि मुद्दा अघि नबढे पनि बुधबारसम्म रिहा गर्नुपर्ने हुन्छ। अब ओ‌लीलाई हिरासत निकालेसँगै पार्टी अध्यक्षबाट पनि बिदा गर्ने कोसिस भइरहेको छ।

तर एमालेभित्र यसबारे ठूलो मतभेद छ। एमालेका केही नेता ओलीलाई हिरासतबाट निकालेपछि यसबारे बहस गर्नुपर्ने तर्क गरिरहेका छन् । उता विष्णु पौडेल र योगेश भट्टराईसहितका नेताहरू ओलीको नेतृत्वकै कारण पार्टी कमजोर भएको निचोडसहित फेर्नुपर्ने पक्षमा छन्।

ओली पक्राउ परेपछि एमालेले केही दिन आन्दोलन पनि गर्‍यो तर आन्दोलन प्रभावकारी नभएपछि सचिवालय बैठकले तत्काल सडकमा ननिस्किने निर्णय गरिसकेको छ।

कार्यकर्ता नै सडकमा ननिस्किएपछि एमालेले कानुनी र राजनीतिक प्रतिवादमार्फत् अघि बढ्ने रणनीति बनाएको थियो। एमालेको उक्त निर्णयलाई चुनौती दिँदै विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान चलिरहेको छ। यो हस्ताक्षर अभियानले बहुमत जुटाए ओलीलाई बिदा गर्ने बाटो खुल्नेछ।

गत फागुनको निर्वाचनमा एमाले झन्डै पत्तासाफ भएको छ। उसले केबल २५ सिट जितेको छ। अध्यक्षसहित सबै पदाधिकारी पनि पराजित भएका छन् ।

यस्तोमा ओली पक्राउ परेपछि अर्को संकट आएको छ। तर उनी रिहा भए भने आफ्ना विरोधीलाई ठेगान लगाउन उत्रिने सम्भावना छ । ओली हिरासत हुँदै जेलसम्म पुगेमा हस्ताक्षर अभियान बढेर उनको बिदाइ निश्चित हुनेछ । एमालेको विधानअनुसार बहुमत प्रतिनिधिको हस्ताक्षर मिले विशेष महाधिवेशन हुन सक्छ ।

उता एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी पुनर्गठनको पहल गर्ने बचन दिएका छन्। तर उनी एघारौँ महाधिवेशनमा अन्तिम समयमा ओलीतिरै लागेपछि इतरका नेताहरूले उनलाई विश्वास गर्दैनन् । एमालेमा ओली, महासचिव पोखरेल र उपाध्यक्ष पौडेलसहितको पंक्ति नै बिदा हुनुपर्ने कुरा उठेको छ।

एमालेमा महासचिव शंकर पोखरेलको प्रभाव देखिए पनि उनलाई पार्टी कार्यकर्ताले नै ओलीको सहयोगीभन्दा माथि उठ्न नसकेको टिप्पणी गर्ने गरेका छन्।

यस तनावबीचमा एमालेमा पनि कांग्रेसमा जस्तै विशेष महाधिवेशनको स्वर बढ्दै गएको छ। यदि ओलीलाई बिदा गर्न सकेमा पार्टीले टाउको उठाउन सक्ने तर्क इतर पक्षले गरिरहेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : १० बजे

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले