काठमाडौं– यतिबेला नेकपा (एमाले)मा युवा, विद्यार्थी, वुद्धिजिवी लगायतको एउटा समूहले विशेष महाधिवेशन आह्वान गर्न हस्ताक्षर अभियान चलाइरहेको छ ।
एमालेका विशेषगरी युवा र विद्यार्थीहरूको समूहले पार्टीको ११औँ महाधिवेशनका प्रतिनिधिहरूलाई विशेष महाधिवेशनको माग गर्नको लागि सहमत गराउँदै हस्ताक्षर अभियान चलाएका हुन् । उनीहरूलाई मंगलबार च्यासल बोलाएर अभियान रोक्न दबाब दिइएको छ ।
एमालेको संसदीय दलको नेता र कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका रामबहादुर थापा बादलले हस्ताक्षर अभियान चलाएका गजेन्द्र थपलिया, उपेन्द्र शाही र कमल जोशीलाई पछि हट्न दबाब दिए। बादलले यदि फिर्ता नलिए पार्टीले अभियान दबाउने चेतावनी पनि दिए ।

एमालेको असन्तुष्ट समूहले विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियान चलाएपछि हाल हिरासतमा रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ।
एमालेको ११औँ महाधिवेशनका लागि दुई हजार चार सय जना प्रतिनिधि चयन भएका थिए । एमालेको विधान महाधिवेशनले विशेष महाधिवेसन आह्वानसम्बन्धी स्पष्ट व्यवस्था गरेको छ ।
विधानको धारा ६९ मा ‘ठोस कार्यसूची र उचित कारण दर्शाइ दुई तिहाइ ल्लिा कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखितरूपमा माग गरेमा मागपत्र दर्ता गरेको मितिले ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्नेछ’, भनिएको छ ।
सोमबारसम्म ११औँ महाधिवेशनका प्रतिनिधिमध्ये पाँच सयजनाले हस्ताक्षर गरेको हस्ताक्षर अभियानमा संलग्न नेताहरूले बताएका छन् ।
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान तीव्र हुन थालेपछि भने एमालेको विशेषगरी अध्यक्ष केपी ओली पक्षधर नेताहरू सशंकित हुन पुगेका छन् । त्यहीकारण बादलले उनीहरूलाई बोलाएर थर्काएका हुन् ।

नेतृत्व लिने आँट भएन
जेन–जी आन्दोलनले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको तत्कालीन सरकारलाई नै बढारेर फालिदिएको थियो । त्यतिमात्रै नभएर तत्कालीन नेतृत्वले लिएको नीति तथा कार्यक्रम र विचारलाई समेत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनले किनारामा हुत्याइदियो ।
०७८ मंसिरमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ७९ सिटसहित प्रतिनिधिसभामा दोस्रो ठूलो दल बनेको एमाले अहिले २५ सिटमा खुम्चिएको छ ।
निर्वाचनसम्म आइपुग्दा लामोसमयदेखि संगठनात्मक रूपमा नेपालकै सबैभन्दा ठूलो र बलियो संगठन बनाएको पार्टी एकाएक रछ्यानमा मात्रै पुगेन कि त्यसको नेतृत्वकै कारणले नेपालको परम्परागत राजनीतिक शक्तिसमेत सँगै संकटमा परे ।
निर्वाचनपछिको अवस्थामा आइपुग्दा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, वर्तैमान उपमहासचिव योगेश भट्टराई लगायत नेताहरूले पार्टी अध्यक्षले अब नेतृत्व छाड्नुपर्ने आवाज उठाउँदै आएका थिए । महासचिव भट्टराईले सहज ढंगले नेतृत्व नछाडेमा अप्रिय निर्णय गर्नेसमेत सार्वजनिक रूपमा नै चेतावनी दिएका थिए ।
पार्टीभित्र विस्तार हुँदै गएको अन्तरविरोध र संसदीय दलको नेता चयनसम्म आउँदा युवाहरूको समूहले औपचारिक रूपमा नै विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरु गरेको देखिन्छ ।
तत्कालीन कांग्रेसमा तेस्रो पुस्ताले विशेष महाधिवेशनको हस्ताक्षर चलाइरहँदा पार्टी केन्द्रको तर्फबाट त्यसको नेतृत्व तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका थिए ।
तर, एमालेमा भने लामो समयदेखि अध्यक्ष ओली समूहको गहिरो दबदबा रहेको कारण अहिलेसम्म औपचारिक रूपमा विशेष महाधिवेशन हुनुपर्ने पक्षको नेतृत्व कुनै पदाधिकारी वा पूर्व पदाधिकारीले गर्नेगरी अघि आउन नसकेको देखिन्छ ।














प्रतिक्रिया