काठमाडौं – उसको दैनिकी गाँजाको नशामा बित्छ । सुधार केन्द्र राख्दा पनि कुलत छुटेन । परिवारले उसमाथि आश मारिसकेको छ, त्यसैले काठमाडौंको डेरामा एक्लै बस्छ । ऊ पूर्वको हो । परिवारसँग सम्पर्क छैन ।
कुलतमा ऊ सिनियर भइसक्यो । आजकाल कुलतको हन्टिङमा ऊ हिँड्दैन । भाइहरूले नशाको प्रबन्ध गरिदिन्छन् । भाइहरू अर्थात्, टोलका केटाहरू ।
नशाले रातो र झल्लु भएका आँखा छोप्ने नियतले ऊ कालो चस्मा लगाउँछ ।
साथीभाइ धेरै विदेशमा सेटल छन् । उसँगै कुलतमा फसेका केही रिह्याबमा छन् । उसले उज्ज्वल भविष्य त गुमायो-गुमायो, परिवार पनि गुमायो । कारण एउटै गाँजाको नशा ।

तर, उसले घरभेटी मज्जाको भेटेको छ । उसले बेला-बेलामा सोध्छ, ‘घरभेटी बा केही समस्या त छैन नि ? घरभेटी जवाफ दिन्छन्, ‘छैन बाबु छैन । बरू पाइन्ट चाहिँ कम्मरमै लगा है ।’
उसको र घरभेटीको ट्युनिङ मिलेको छ ।
चाहेर पनि गाँजाको नशाबाट निस्किन नसक्ने त्यो युवा हो– विज्ञान । त्यही ‘कमेडी नाइट्स विथ च्याम्पियन’को विज्ञान । जसको सृष्टिकर्ता कलाकार भरतमणि पौडेल हुन् ।
अर्थात्, विज्ञानको चरित्र निर्वाह गरेर भरतमणिले दर्शक हँसाइरहेका छन् । दर्शकले पनि विज्ञानलाई माया गरेका छन् । त्यसैले विज्ञानको कमेडी सामाजिक सञ्जालमा चर्चित छ ।
विज्ञानबारे थप
विज्ञानले कपाल डेडलक गरेको छ । बब मार्ली फोटो प्रिन्ट गरिएको ओभरसाइज टिसर्ट उनको प्रिय छ । उक्त टिसर्टमा उसले चाहेर पनि छोड्न नसेको कुलत गाँजाको पात पनि छ ।
ब्यागी जिन्स, साइड ब्याक र कालो चस्मा उसको गेटअपमा छुट्दैनन् ।
ब्यागचाहिँ उसले विदेशमा बस्ने साथीसँग मगाएको हो । भरतमणि भन्छन्, ‘एक दिन विज्ञानले अनलाइनमा साइड ब्याग देखेछ । अनि साथीलाई भन्यो– तँलाई अहिलेसम्म केही मागेको छैन, यो ब्याक मनपर्यो पठाइदे ल । अनि साथीले पठाइदिएको हो ।’
हुन त विज्ञान आफैंमा व्यक्ति होइन, काल्पनिक पात्र हो । जसको कल्पना भरतमणिले नै गरेका हुन् । भरतमणिलाई विज्ञान बन्न गेटअपमै मात्रै ५० हजारभन्दा माथि खर्च नै लाग्यो ।
विज्ञान चरित्र निर्वाह गर्ने सोच भरतमणिले एक–डेढ वर्षअघि बनाएका थिए । भन्छन्, ‘जुन विज्ञानले लगाएको पेन्ट छ नि, त्यो मैले किनको एक डेढ वर्ष नै भयो । विदेशका कार्यक्रममा जाँदा त्यो पाइन्ट विज्ञान चरित्रकै लागि किनेको हो ।’
साइड ब्याग पनि भरतमणिले साथीमार्फन् नै विदेशबाट झिकाएका हुन् । तर, त्योचाहिँ आफ्नै प्रयोगका लागि थियो । विज्ञानले लगाउने लकेट विदेश कार्यक्रममा जाँदा उनले आफ्नै लागि किनेका हुन् ।
विज्ञानले लगाउनेमध्ये सबैभन्दा महँगो चस्मा हो । उसको कपाल डेडलक बनाउन पनि राम्रै खर्च भएको छ ।
भरतमणि भन्छन्, ‘चस्मा करिब २० हजार, कपाल डेटलक बनाउन २२ हजार लाग्यो, टिसर्ट, लकेट, पेन्ट सबै गर्दा विज्ञानको गेटअपका लागि ५० हजारभन्दा केही बढी खर्च भएको छ ।’
विज्ञान जमनामा प्रहरीसँग आजित पात्र हो । अहिले भने उसलाई ‘आफू गलत नै भएर प्रहरी कडा स्वभावमा प्रस्तुत भएको रहेछ’ भन्ने महसुस छ ।
कार्यक्रम प्रस्तोता विशाल भण्डारी विज्ञानका साथी हुन् । त्यही भएर ऊ पाहुनाकै अगाडि भण्डारीलाई ‘तँ’ सम्बोधन प्रयोग गर्छ ।
विशाललाई उसले ‘जडियाँ’मा गन्छ । ‘विज्ञान र भण्डारीको कुरा सितन खाने बेला मिल्छ, अरू कुनै बेला मिल्दैन,’ भरतमणि ठट्टा गर्छन् ।

तर, विज्ञान बिन्दास छ । उनी भन्छन्, ‘उसलाई अरूले आफूमाथि टिप्पणी गरेको मन पर्दैन । आफू पनि अरुको टिप्पणी गर्दैन ।’
विज्ञानको कल्पना
भरतमणि पौडेल नेपाली समाजका चर्चित व्यक्तिहरूको क्यारिकेचरबाटै चर्चामा आएका हाँस्य कलाकार हुन् । पूर्वयुवराज पारस शाहको क्यारिकेचरले उनलाई मास अडिएन्समा फैल्याइदियो ।
आफैँ नयाँ पात्र सिर्जना गर्ने सोचको उपज हो- विज्ञान ।
मदिराको नशामा रहेको व्यक्तिको चरित्र धेरैले गरेका छन् । उनले गाँजाको नशामा भएको व्यक्तिको चरित्र बनाउने साचे ।
भरतमणि भन्छन्, ‘यो पात्र निर्माण गर्ने क्रममा त्यो कुलतमा फसेका व्यक्तिहरूको निगरानी गर्दा मलाई उनीहरू रोचक लागे। गाँजा खानेहरूको बोल्ने, हाँस्ने, हिड्ने र गेटअप शैली फरक हुँदो रहेछ । मलाई रोचक लागेका विषय समेटेर विज्ञान पात्र सिर्जना गरेको हुँ ।’
अलिक बढी समय लगाएर निर्माण गरेको चरित्र भएर विज्ञान पात्रसँग भरतमणिको विशेष प्रेम छ ।
भन्छन्, ‘गाँजा खाने व्यक्तिहरू लुकेरै खान्छन् । आफ्नो सर्कलमा त्यो कुलतमा लागेर बिग्रिएका मान्छे छैनन् । अनि मैले फिल्म, डकुमेन्ट्री र अनलाइन रिसर्च गर्नुपर्यो । समय पनि राम्रै लाग्यो ।’
तर, विज्ञान पात्रले पाएको सकारात्मक प्रतिक्रियालाई उनले मिहिनेतको फल मानेका छन् ।
उनी भन्छन्, ‘कार्यक्रम आयोजकहरूले विज्ञान पात्रको माग गर्नुभएको छ । म पनि त्यो पात्र बनेर दर्शक भेट्न उत्साहित छु ।’
भरतमणि दुई महिनाअघि अमेरिका कार्यक्रममा जाँदा विज्ञान समावेश दुई–तीन एपिसोड मात्रै प्रदर्शन भएको थियो । त्यहाँ पनि दर्शकले विज्ञान खोजेको उनले सेयर गरे ।
उनी भन्छन्, ‘पहिलो–दोस्रो भाग प्रसारण गरेर म अमेरिका गएको थिएँ । तर, दर्शकहरू मैले विज्ञान क्यारेक्टर नै गर्छ भन्ने सोच्नु भएको रहेछ । उहाँहरूले कार्यक्रमपछिको भेटमा किन विज्ञानको क्यारेक्टर नगरेको भनेर सोध्दै हुनुहुन्थ्यो ।’














प्रतिक्रिया