काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा भएको वामपन्थी हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको विश्लेषण गर्नु गलत भएको टिप्पणी गरेका छन् ।
उनले आज सामाजिक सञ्जालमा नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले नभइ त्यसका भविष्यमुखी एजेन्डा, जनता, राष्ट्रको हितका पक्षका गतिविधि र जनतासँगको सम्बन्धका आधारमा निर्धारण हुने भन्दै अहिलेको हार केवल वामपन्थको मात्र हार नभइ नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हार भएको उल्लेख गरेका छन् ।
‘भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्न थालिएको छ,’ उनले समाजिक सञ्जालमा भनेका छन्– ‘जबकि केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ । अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो ।’
अहिलेको मुख्य विषय नेपालको लोकतान्त्रिक आन्दोलनको आधारका रुपमा रहेका शक्तिहरूले हारको कारण खोज्नु, त्यसको गम्भीर समीक्षा र मूल्याङ्कन गर्नु, तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु भएको उनको भनाइ छ ।
संकट र चुनौतीको समयमा निराशा र पलायन अवसरवादी र कायरहरूको बाटो भएको भन्दै उनले एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्ने र प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काम गर्ने बताएका छन् ।














प्रतिक्रिया