काठमाडौं– सरकारले खोला किनारका सुकुम्वासी बस्ती हटाएपछि सयौँ परिवार अहिले उपत्यकाको विभिन्न होल्डिङ सेन्टरमा बस्न बाध्य भएका छन् । यसरी होल्डिङ सेन्टरमा बस्दै आएकाहरूले तत्काल उचित बसोबास र रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
होल्डिङ सेन्टरमा खाना बस्न राम्रो भए पनि उनीहरूको मन त्यहाँ अडिन सकेको छैन । बस्दै आएको घरमा डोजर चले पछि होल्डिङ सेन्टरमै बस्दै आएका उनीहरूलाई सरकारले छिटो उचित बसोबास व्यवस्था गर्नु पर्ने माग राख्दै आएका छन् ।
सरकारले घर टहरा भत्काउनुअघि पर्याप्त सूचना वा समय नदिएको उनीहरूको गुनासो समेत छ । ‘कम्तीमा केही दिन समय दिएको भए सामान निकाल्न सक्थ्यौँ,’ भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र होल्डिङ सेन्टरमा बस्दै आएकी ७१ वर्षीय कान्छी थापाले बताइन् ।
पुरानो ठेगाना धादिङ भए पनि २०-२२ वर्ष देखि गैरीगाउँको सुकुम्वासी बस्ती नै उनको स्थायी ठेगाना थियो, त्यहाँ डोजर चलेसँगै उनी अहिले घरबार र ठेगानाविहीन भएकी छन् । उनीसँग अहिले ज्यानको एक सरो लुगा बाहेक केही छैन ।
सानोतिनो व्यापार गरेर दुःख सुख गरी बनाएको टहरामा डोजर चल्दा होल्डिङ सेन्टरको कोठा अहिले उनको ठेगाना भएको छ । उनी भन्छिन्, ‘सरकारले तत्काल उचित बसोबास र रोजगारीको व्यवस्था मिलाइदिन पर्यो । यसरी घरबार विहीन बनाउनु हामी अन्य देशको नागरिक हो र, नेपालीको नागरिक भएर जाने कहाँ ?’
शंखमुलबाट विस्थापित भएका वीर बहादुर तामाङका बुबा २०३० सालमा शंखमुल बस्तीमा बस्न पुगेका थिए । वीर बहादुरले आफ्ना बुबा आमा त्यही बितेका थिए, बुबाआमाको काजक्रिया त्यही गरेका वीर बहादुरले अहिले घर विहीन भएका छन् ।
सानै भए पनि दुःख गरी बनाएको घरमा डोजर चल्दा उनीहरूको परिवार नै छुट्टिएर बस्नु परेको छ । छोराछोरी, नातिनातिना र पनेसनातिना गरी १३ जनाको परिवार । रहेको वीर बहादुरको छोरा बुहारी र नातिनातिना ललितपुरको लुभु तिर कोठा खोजी बस्ने गएको उनले बताए ।
सुकुम्वासीलाई कोठा पाउन पनि गाह्रो काठमाडौंमा त्यसैलाई उनीहरू लुभु गएको जानकारी दिए। परिवारसँग हाँसी खुसी बस्दै आएका वीर बहादुरले र सानु मायालाई होल्डिङ सेन्टरको कोठामा त्यति निन्द्रा पर्दैन, नातिनातिनाको याद र भविष्यको चिन्तालाई उनीहरूलाई सुत्न दिँदैन ।
वर्षौँदेखि खोलाकिनारमा बस्दै आएका यी परिवारहरू आफूहरू बाध्यतावश त्यहाँ बस्नुपरेको बताउँछन् । ‘हामी रहरले बसेका होइनौँ, विकल्प नभएर बसेका थियौँ,’ बल्खुबाट विस्थापित भएकी मञ्जु तामाङले भनिन् ।
श्रीमानले अर्को विवाह गरे पछि तीन सन्तान हुर्काउन कै लागि २ वर्ष इराक र ५ वर्ष साउदी बसेकी मञ्जुले कमाएको जति सबै घर बनाउनको लागि खर्च गरेकी थिइन्, अहिले उनीसँग केही छैन ।
बुबा आमा बितेपछि एक्ली भएकी गीता तामाङ होल्डिङ सेन्टरमा प्राय निराश देखिन्छिन् । उमेरले ५६ वर्ष टेकी सक्दा पनि उनको नागरिकता अझै सम्म बनेको छैन । बल्खु बस्तीबाट विस्थापित उनले उनी जस्ता गरिब, बेसाहारा नागरिकलाई उचित व्यवस्था गरी दिन सरकारसँग माग गर्छिन् ।
टेकु बंशिघाटबाट विस्थापित ८१ वर्षीय जगत सुनार र उनको श्रीमती ७६ वर्षीय लक्ष्मी सुनारको माग सरकारले छिटो र उचित व्यवस्थापनको छ । २०५९ सालदेखि त्यहाँ बस्दै उनीहरू अहिले घर विहीन भएका छन् ।
बल्खु सुकुम्वासी बस्तीबाट विस्थापित रोजिना खातुन अहिले २५ वर्षकी भइन् । सानै उमेरमा बुबा गुमाएकी उनको अहिले सम्म नागरिकता बन्न सकेको छैन । दुःख सुख गरी आमाले ११ कक्षासम्म पढाएको उनले बताइन् । पढाई बीचमै छाडी काम गरी आमाको सहरा बन्ने सोच रहे पनि राम्रो काम पाउन नसकेको उनले बताइन् ।
नागरिकता पनि छैन, त्यसैले पनि काम पाउन मुस्किल भएको उनले भनिन् । कवाडीको काम गर्दै आएको उनको परिवार अहिले होल्डिङ सेन्टरमा घर र रोजगार विहीन भएका छन् ।
यसरी सुकुम्वासी बस्तीबाट विस्थापित भएका धेरैजसो परिवारमा साना बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगी सदस्य रहेका छन् । केहीले दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका थिए भने कतिपय साना पसल वा ठेला व्यवसायमा निर्भर थिए । बस्ती हटाइएपछि उनीहरूको आयआर्जनसमेत पूर्ण रूपमा रोकिएको छ
उनीहरूको मुख्य मागमा तत्काल अस्थायी आवास (टहरा वा शिविर), खाद्यान्न तथा आधारभूत सेवा, दीर्घकालीन रूपमा सानो जग्गा उपलब्ध गराई पुनर्स्थापना, र जीविकोपार्जनका लागि रोजगारी वा साना व्यवसायमा सहुलियतपूर्ण ऋण समावेश छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी





























प्रतिक्रिया