मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो « Khabarhub

मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलले लागू गरेको विवादास्पद मार्सल ल प्रकरणसँग सम्बन्धित मुद्दामा पूर्वप्रधानमन्त्री हान डक–सूमाथि सुनाइएको जेल सजाय उच्च अदालतले घटाएको छ । 

अदालतले विद्रोहमा संलग्न भएको आरोपलाई भने यथावत् कायम राख्दै उनको कैद सजाय २३ वर्षबाट घटाएर १५ वर्ष पुर्‍याएको हो । सियोल उच्च अदालतले बिहीबार सुनाएको फैसलामा हानले तत्कालीन राष्ट्रपति युनका अवैध कदमलाई वैधानिकता दिन सक्रिय भूमिका खेलेको निष्कर्ष निकालिएको छ।

अदालतका अनुसार मन्त्रिपरिषद् बैठकमार्फत मार्सल ल अनुमोदन गराउने प्रक्रिया अघि बढाउनु तथा प्रमुख सञ्चार संस्थाहरूको पानी र बिजुली काट्ने योजनामाथि छलफल गर्नु राज्यविरुद्धको असंवैधानिक कदमलाई संस्थागत रूप दिन गरिएको प्रयास थियो ।

अदालतले हानमाथि लगाइएका अन्य आरोपहरू पनि पुष्टि गरेको छ । मार्सल ल घोषणासम्बन्धी दस्तावेज झुठो बनाएको, प्रमाण नष्ट गरेको तथा अदालतमा शपथपूर्वक झूट बोलेको आरोपमा उनी दोषी ठहर भएका छन् ।

सियोल उच्च अदालतले आफ्नो फैसलामा हानको भूमिका अत्यन्त गम्भीर रहेको उल्लेख गरेको छ । अदालतले युन प्रशासनमा दोस्रो वरियताका अधिकारी रहेका हानले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्नुको सट्टा विद्रोहमा सहभागिता जनाएको टिप्पणी गरेको छ । अदालतले ‘राष्ट्रप्रति भएको जिम्मेवारी त्यागेर असंवैधानिक कदमलाई सहयोग गर्नु गम्भीर अपराध’ भएको जनाएको छ ।

यसअघि जनवरीमा सियोलको एक जिल्ला अदालतले हानलाई २३ वर्ष जेल सजाय सुनाएको थियो । त्यसको एक महिनापछि तत्कालीन राष्ट्रपति युन सुक योललाई पनि विद्रोहको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो । युनद्वारा नियुक्त प्रधानमन्त्री हानमाथि युनको सत्ता टिकाउन असंवैधानिक कदममा सहकार्य गरेको आरोप लागेको थियो ।

फौजदारी कानून विशेषज्ञ अधिवक्ता पार्क सुंगबेले जिल्ला अदालत र उच्च अदालत दुवैले हानको अपराधलाई गम्भीर रूपमा लिएको बताए। उनका अनुसार उच्च अदालतले सजाय घटाए पनि हानको भूमिका सामान्य नभएको निष्कर्षमा पुगेको देखिन्छ ।

पार्कले हानको सजाय निर्धारण गर्दा मार्सल ल प्रकरणमा संलग्न अन्य अधिकारीसँग तुलना गरिएको बताए। विशेषगरी तत्कालीन गृहमन्त्री ली साङ–मिनलाई सात वर्ष जेल सजाय सुनाइएको अवस्थालाई ध्यानमा राख्दै हानका लागि १५ वर्षको सजाय उपयुक्त ठहर गरिएको उनको भनाइ छ ।

विशेष अभियोजकले भने सुरुदेखि नै हानका लागि १५ वर्ष जेल सजाय माग गरेका थिए । तर जिल्ला अदालतले अपेक्षाभन्दा कडा फैसला सुनाउँदै २३ वर्षको सजाय दिएको थियो । कानूनी विश्लेषकहरूका अनुसार त्यो सजाय कठोर भए पनि अपराधको प्रकृतिअनुसार असामान्य भने थिएन ।

अब हान र सरकारी अभियोजन पक्ष दुवैलाई बिहीबारको फैसलाविरुद्ध दक्षिण कोरियाको सर्वोच्च अदालतमा पुनरावेदन गर्न सात दिनको समय दिइएको छ ।

छयत्तर वर्षीय हान दक्षिण कोरियाका अनुभवी प्रशासनिक अधिकारी मानिन्छन्। चार दशकभन्दा लामो सार्वजनिक सेवामा उनले दुई पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पहिलोपटक सन् २००७ देखि २००८ सम्म तत्कालीन उदारवादी राष्ट्रपति रोह मो–ह्युनको नेतृत्वमा र पछि कन्जरभेटिभ राष्ट्रपति युन सुक योलको कार्यकालमा उनी प्रधानमन्त्री बनेका थिए ।

युन सुक योलमाथि महाभियोग लागेपछि कार्यवाहक नेतृत्व सम्हाल्ने तीन वरिष्ठ अधिकारीमध्ये हान पनि एक थिए। युनले डिसेम्बर २०२४ मा मार्सल ल घोषणा गरेपछि देशभर व्यापक राजनीतिक संकट उत्पन्न भएको थियो । संसद्ले त्यसको विरोध गर्दै युनलाई निलम्बन गरेको थियो ।

पछि दक्षिण कोरियाको संवैधानिक अदालतले गत वर्ष अप्रिलमा युनलाई स्थायी रूपमा पदमुक्त गर्ने फैसला सुनाएको थियो । त्यसपछि भएको आकस्मिक निर्वाचनमा उदारवादी नेता ली जे–म्युङ विजयी भई राष्ट्रपतिको पदमा पुगेका थिए ।

मार्सल ल प्रकरणपछि दक्षिण कोरियाको राजनीति गहिरो ध्रुवीकरणमा पुगेको छ । पूर्वराष्ट्रपति युन र उनका निकट सहयोगीमाथि चलेका मुद्दालाई आधुनिक दक्षिण कोरियाली इतिहासकै सबैभन्दा ठूलो संवैधानिक संकटमध्ये एक मानिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ३ : २९ बजे

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका

सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान