बन्दीगृहजस्तो कष्टकर होल्डिङ सेल्टरभित्र बढ्दैछ घरझगडा « Khabarhub

बन्दीगृहजस्तो कष्टकर होल्डिङ सेल्टरभित्र बढ्दैछ घरझगडा



काठमाडौं- सरकारले डोजर चलाएर लखेटेको सुकुम्बासीलाई अस्थायी रुपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेल्टरमा मिडियालाई पूर्ण रुपमा निषेध गरिएको छ । राधास्वामी सत्संग व्यास आश्रमको सेल्टरमा सुरुका दिनहरुमा मिडियालाई प्रवेश दिइएपनि पछिल्लो समय पूर्ण रुपमा बन्देज गरिएको छ । सेल्टरको गेटमा सुरक्षाकर्मी तैनाथ छन् ।

खबरहबको टिम बुधबार सो स्थान पुग्दा सेल्टरमा बसेकाहरुलाई बाहिर निस्कन र भित्र प्रवेश गर्न पनि उत्तिकै कडाइ गरिएको देखियो । उनीहरुको सुरक्षाको लागि खटिएको बताइए पनि प्रहरीले पत्रकारलाई चाहिँ माथिको आदेशमा प्रवेश निषेध गरिएको बतायो । काठमाडौं महानगरपालिकाको आदेशले पत्रकारलगायत अन्य अभियानकर्मी र अधिकारकर्मीलाई रोक लगाएको जानकारी दिइएको छ ।

गोपनीयता भङ्ग हुने भएका कारण सेल्टरमा बसिरहेकाहरुले नै मिडियालाई भित्र पस्ने अनुमति नदिन आग्रह गरेपछि त्यसो गरिएको उनीहरुको भनाइ छ । खबरहबले यसबारे काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसँग बुझ्ने प्रयास गर्‍यो । प्रवक्ता मानन्धरले मेयरको निर्देशन भएकाले यसबारे आफूले केही गर्न नसक्ने भन्दै फोन काटिदिए ।

खबरहबले कार्यवाहक मेयर सुनिता डंगोलसँग पनि पटक पटक टेलिफोन सम्पर्क गर्ने प्रयास गर्‍यो । तर उनीसँग फोन सम्पर्क हुन सकेन । टेलिफोन सम्पर्क गर्दा महानगरका अन्य कर्मचारीले पनि सेल्टरभित्र प्रवेश गर्न लागि समन्वय गर्न नसकिने जवाफ दिए । समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरु घण्टौसम्म सत्संगको गेटमा बसेर फिर्ता हुन बाध्य भए ।

सेल्टरमा खटिएका एक जना सुरक्षाकर्मीले सेल्टरभित्र झगडा भएको जानकारी दिए । परिचय नखुलाउने सर्तमा उनले मिडियामा बोल्ने वा नबोल्ने विषयमा सेल्टरभित्र बसेकाहरुबीच आपसमा झडप भएको बताए । उनले भने, ‘मिडियामा बोल्ने र नबोल्ने विषयमा भित्र झगडा भएको छ । एकथरीले मिडिया नपठाउ भनेका छन् । मिडियाले सुतिरहेको, लुगा चेञ्ज गरिरहेको समेत फोटो र भिडियो खिचेकोपछि कोही रिसाएका छन् । कतिपय चाहिँ आफूलाई सुकुम्बासी हुँ भनेर आफूलाई परिचय दिन नरुचाउने समूह पनि छ ।’

ती सुरक्षाकर्मीले सेल्टरभित्र बन्दीगृहजस्तो वातावरण रहेको खुलासा गरे । ‘केहीलाई यहाँ बस्न मन परेको छैन । स्वतन्त्र काम गरी खाएर हिड्नेहरुलाई एक किसिमले जेलमा बसेजस्तो भएको छ । कतिलाई चुरोट, सुर्ति र रक्सी पनि खाने बानी छ । यहाँभित्र त्यस्तो केही खान पाइँदैन, सबै निषेध गरिएको छ । त्यस कारण लत भएकाहरुलाई उकुसमुकुस भएको छ ।’

सेल्टरभित्र अनेक किसिमका मान्छे भएकाले सुरक्षाका कारण पनि पत्रकारलाई भित्र प्रवेश गर्न नदिइएको उनले बताए । ‘रिसमा भएको मान्छेसँग कुरा गर्दा पत्रकारमाथि पनि आइलाग्न सक्छन् । यस्ता हुनसक्ने विभिन्न घटनाबाट जोगिनको लागि सतर्कता अपनाइएको हो,’ उनले भने ।

होल्डिङ सेल्टरका केही व्यक्तिहरु आफ्नो समस्या मिडियामा भनेरै सरकारसमक्ष आफ्ना कुरा राख्न चाहिरहेका देखिन्छन् । अर्को पक्ष भने गोपनीयता भंग भएकोमा दुःखी देखिन्छन् । होल्डिङ सेल्टर सुरक्षार्थ खटिएका अर्का एक सुरक्षाकर्मीले चाहिँ नियम कडा पार्न पत्रकारहरुले नै बाध्य पारेको तर्क गरे । उनले भने, ‘गोपनीयताको ख्याल नगर्दिने, जो रक्सी खाएर मातेर बसेको छ । उसैको इन्टरभ्यु लिइदिने । अनावसनाव बोल्ने मान्छे खोज्ने, जायज कुरा बोल्ने मान्छे नखोज्ने ? पत्रकारिताको मानमर्यादा नराखी रिर्पोटिङ गरिएको पाइएपछि बाध्य भएर मिडियालाई निषेध गर्नुपरेको हो ।’

‘राम्रो कुराहरु खिच्छौँ नराम्रो केही खिच्दैनौँ भनेर छिर्ने तर भित्र चाहिँ मोबाइल लुकाएर खिच्ने काम भइरहेको हुन्छ । जुन दृश्य मिडियामा देखाउन मिल्दैन वा देखाएपनि ब्लर गरेर देखाउनुपर्छ, त्यस्ता भिडियो छ्यापछ्याप्ती आइरहेको छ,’ प्रहरी थप भन्छन् ।

‘आमाले बच्चालाई ब्रेस्ट फिडिङ गरेको भिडियो मिडियामा आयो । त्यति पनि ख्याल हुन्न पत्रकारलाई ?’ ती प्रहरीले हामीलाई आचारसंहिता सिकाए ।

सामान किन्न सेल्टरबाहिर निस्किएकी एक जना महिलाले सुनाएको घटनाक्रम भने प्रहरीभन्दा बिल्कुल फरक थियो । सत्संगको गेटबाहिर भेटिएकी उनले सरकारले आफूहरुलाई खोलाबाट उठाएर खोलामै ल्याएर राखेको गुनासो गरिन् ।

खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘झुपडी भएपनि आफ्नै घर थियो । सेल्टर र घरको बसाइमा आकाश जमिनको फरक हुन्छ । यहाँ घरपरिवार भित्रै झगडा हुन थालेको छ ।’

उनका अनुसार सेल्टरमा श्रीमान्-श्रीमती र दाजुभाइबीच झगडा हुन थालेको छ । उनी भन्छिन्, ‘आजभन्दा २० वर्ष अगाडी काठमाडौंकै जग्गा सस्तो थियो । तर सुकुम्बासी नापी हुन्छ भनेर श्रीमानले छोड्न नमान्दा आज यो हालत भएको भन्दै झगडा गर्न थालेका छन् । दाजुभाइको कारणले बस्ती नछोड्दा यो हालत भएको भनेर अर्का परिवार नै झगडामा उत्रिन थालेका थालेका छन् ।’

‘गरिब भोकले मर्नु भएन । त्यत्ति नै हो त हाम्रो जीवन ? सुकुम्वासीले सास फेरे पुग्ने हो ? टहरामाथि डोजर चलाइयो । मान्छेमाथि चलाइएन । यहीहो हामी माथिको न्याय ?’ उनले प्रश्न गरिन्, ‘सामान्य भन्दा सामान्य आवश्यकता पनि पूरा गरिएको छैन ।’

उनी भन्छिन्, ‘यहाँबाट बाहिर निस्कन रिपोर्ट गर्नुपर्छ । आउँदा पनि त्यस्तै छ । खानाको कुरा गर्ने हो भने बच्चा, ठूला मान्छे र बूढाबूढी सबैलाई एकै किसिमको दिएको छ ।’

उनका अनुसार बिरामी भएकाहरुलाई पनि एउटै किसिमको एकै खाना दिइएको छ, उनले भनिन्, ‘हामीलाई भोकै राखेको छैन । तर, जाउलो खाने बच्चा, बिरामीले खाने खाना र काममा जाने मान्छेले खाने खाना एउटै छ । तपाईंहरुको घरमा सबैका लागि उस्तै खाना पाक्छ ?’

सरकारले छिटो भन्दा छिटो सुकुम्बासीको व्यवस्थाप गर्न सकेन भने भित्रै लडाईं हुने उनको भनाइ छ । सेल्टरको बसाईले परिवार नै छिन्नभिन्न हुने अवस्थामा रहेको उनले दाबी गरिन् ।

उनी बोल्दै गर्दा प्रहरीको भ्यान टुप्लुक्क आइपुग्छ ।

उनी प्रहरीतिर हेर्छिन् र डराउँदै भन्छिन्, ‘पुलिसले मिडियासँग नबोल्न भनेको छ ।’

उनी हतारहतार सत्संग आश्रमको गेटभित्र छिर्छिन् ।

प्रहरीले गेटबाहिर बसेका पत्रकारलाई हट्न निर्देशन दिन्छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ७ : २२ बजे

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज