पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता « Khabarhub

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) का विभिन्न समूहबीच लामो समयदेखि जारी संस्थागत विवादबीच सुजन लामा नेतृत्वको समितिले त्यहाँको सरकारी निकायबाट आधिकारिक मान्यता प्राप्त गरेको छ।

संस्थाका सचिव सुरज भण्डारीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सन् २०२५ अक्टोबरमा सुजन लामाको नेतृत्वमा रहेको एनआरएनए एनसिसी पोर्चुगलले पोर्चुगलको न्याय मन्त्रालयअन्तर्गतको दर्ता तथा नोटरी संस्था (आइआरएन) मा दर्ता तथा अद्यावधिकका लागि निवेदन दिएको थियो । 
]
उक्त निवेदनको प्रक्रिया पूरा गर्दै आइआरएनले शुक्रबार लामा नेतृत्वको कार्यसमितिलाई आधिकारिक अभिलेखमा अद्यावधिक गर्दै प्रमाणपत्र प्रदान गरेको जनाइएको छ।

सन् २००६ मा स्थापना भएको एनआरएनए पोर्चुगल पछिल्ला वर्षहरूमा नेतृत्व विवादका कारण विभाजित हुँदै आएको थियो । सन् २०२३ देखि सुरु भएको आन्तरिक मतभेदका कारण हालसम्म तीन वटा समानान्तर कार्यसमिति सक्रिय रहेका थिए, जसले संस्थागत एकता र आधिकारिकताको विषयलाई जटिल बनाएको थियो ।

नयाँ निर्णयसँगै लामा नेतृत्वको समितिले पोर्चुगलमा कानुनी रूपमा मान्यता पाएको र अब एनआरएनएको नाममा हुने आधिकारिक गतिविधि यही संरचनामार्फत सञ्चालन हुने दाबी गरिएको छ । लामा नेतृत्वको पक्षले यसलाई संस्थागत स्पष्टता र वैधानिकताको महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ ।

लामाले प्रतिक्रिया दिँदै आफूहरूको प्राथमिकता विवाद नभइ समुदायको हितमा पारदर्शी र समावेशी ढंगले काम अघि बढाउनु रहेको बताएका छन् । 

‘हाम्रो ध्यान विगत होइन, भविष्यतर्फ छ,’ उनले भने, ‘सबैलाई समेटेर संस्थालाई कानुनी र व्यवस्थित रूपमा अघि बढाउने हाम्रो लक्ष्य हो।’

यता, समानान्तर रूपमा सक्रिय अन्य दुई समूहका नेतृत्वकर्ताहरूले भने यस निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् । उनीहरूका अनुसार एकता प्रक्रियाबारे छलफल चलिरहेको अवस्थामा आएको यो निर्णयले थप अन्योल सिर्जना गरेको छ ।

संस्थागत विवादकाबीच आर्थिक पारदर्शितासम्बन्धी प्रश्न पनि उठेका छन् । सचिव भण्डारीका अनुसार संस्थाको बैंक खातामा हाल करिब ३२४ युरो मात्र मौज्दात रहेको देखिएको छ । 

साथै, विभिन्न कार्यक्रम तथा महाधिवेशनका क्रममा संकलित करिब २६ हजार ६५७ युरो बराबरको रकम संस्थाको आधिकारिक खातामा नआएको अभिलेखमा देखिएको दाबी गरिएको छ ।

उक्त रकम समुदायको साझा सम्पत्ति भएकाले सम्बन्धित पक्षलाई संस्थाको खातामा जम्मा गर्न आग्रह गरिएको छ। साथै, आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ ।

एनआरएनए पोर्चुगलले अबदेखि संस्थाको नाम, लोगो र आधिकारिक पहिचान प्रयोग गर्दा केवल आधिकारिक संरचनामार्फत मात्र गर्न आग्रह गर्दै सबैलाई आधिकारिक जानकारीमा मात्र भर पर्न अनुरोध गरेको छ ।

लामो समयदेखि चल्दै आएको नेतृत्व विवाद, समानान्तर समिति र आर्थिक पारदर्शिताका प्रश्नबीच आएको यो नयाँ विकासले एनआरएनए पोर्चुगलको भविष्यको संरचना र एकता प्रक्रियामा कस्तो प्रभाव पार्नेछ भन्ने विषय भने अझै अनिश्चित देखिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १ : २८ बजे

धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति

गोदावरी– धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर

काठमाडौं– नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला

छानबिन समितिले सम्पत्तिबारे सोधेपछि सुधनले उल्टै भने : तपाईंको पनि छानबिन गरौँ

गोरखा- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले आफ्नो

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर– पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ

बागमती र कोशीका अधिकांश जिल्लामा सकियो रास्वपाको जिल्ला अधिवेशन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोशी प्रदेशका