ईश्वरी हत्याकाण्ड : डिभोर्सको अन्तिम चरणमा सम्पत्ति बाँडफाँटमा असन्तुष्टि « Khabarhub

ईश्वरी हत्याकाण्ड : डिभोर्सको अन्तिम चरणमा सम्पत्ति बाँडफाँटमा असन्तुष्टि



काठमाडौं– कुमार थापा मगरले ईश्वरी भुजेलसँग सानै उमेरमा प्रेम बिवाह गरे । केही समयसम्म श्रीमान्-श्रीमतीको सम्बन्ध सामान्य नै थियो । यो दम्पत्तिले दुई सन्तान पनि पाए । तर सम्बन्ध लामो समय टिक्न सकेन ।

‘नेपाली ब्रो’ भनेर चिनिने कुमार सामाजिक सञ्जालमा आफूलाई बडिबिल्डर भनेर चिनाउँथे । केही वर्षदेखि युट्युबरले ‘नेपाली ब्रो’ लाई सेलिब्रेटी मानेर अन्तवार्ता लिने गरेका थिए ।

उनले अन्तवार्तामा श्रीमतीबाहेक अरु प्रेमिकासँग सम्बन्ध भएको खुलेरै बताउँथे । दुख, संघर्ष गर्दै गर्ने महिलालाई सहयोग गर्नु र बदलामा केही चिज अपेक्षा गर्नु गलत नभएको तर्क गर्थे । अमेरिका, अष्ट्रेलिया र जापान लगायतका देशहरुमा आफ्ना प्रेमिकाहरु भएको बताउँथे ।

साथै, खेलाडी तथा व्यवसायीको घरबाहिर सम्बन्ध हुनु सामान्य भएको पनि बताउने गर्थे । समग्रमा भन्दा उनी कन्टेन्टका लागि अन्टसन्ट बोलेर भाइरल भएका पात्र हुन् ।

ईश्वरी चाहिँ नेपाली सेनामा सेवारत थिइन् । लामो समयदेखि सम्बन्धमा दरार आएपछि उनीहरुले अलग हुने निर्णय लिएका थिए । उमेरले दुबै जना ४२ पुगेको यो जोडी सम्बन्धविच्छेदको अन्तिम चरणमा थियो ।

विभिन्न युवतीहरुलाई प्रेमिका भनेर चिनाउँदै आएका थापाले पछिल्लो समय एक ट्याक्सी चालक महिलालाई पनि बिहेको प्रस्ताव गरेको भिडियो भाइरल भयो । भाइरल भिडियोमा उनले भनेका छन्, ‘तिमी पनि डिभोर्सी, मेरो पनि डिभोर्स हुन लागेको छ । हामी बिहे गरौँ ।’

शुक्रबार राति अचानक कुमारले फलामको रड हानेर श्रीमती ईश्वरीको हत्या गरे । राति रड प्रहारबाट गम्भीर घाइते भएकी ईश्वरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा शुक्रबार १० बजेर १० मिनेटमा मृत्यु भएको थियो ।

यससँगै माइती पक्षले भाइरल भिडियोमा देखिएको ट्याक्सी चालक महिलामाथि अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । घटनामा ती महिलाको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता हुनसक्ने मृतक पक्षका आफन्तहरूको आशंका छ । उनीहरुले निष्पक्ष र गहिरो अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

शनिबार दिउँसो परिवारका सदस्य एवम् शुभेच्छुकहरुले बालाजु प्रहरी कार्यालयअगाडि भेला भएर घटनामा संलग्नमाथि कारवाहीको माग गरेका हुन् । यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कवीन्द्र बुर्लाकोटी र पूर्वगृहमन्त्री सुधन गुरुङ पनि बालाजु प्रहरी कार्यालय पुगेर हत्यारालाई कारवाही गर्न माग गरेका थिए ।

आफन्तका अनुसार कुमारले विगतमा जेठो छोरामाथि पनि दुर्व्यवहार र कुटपिट गर्दै आएका थिए । उनले विगतदेखि नै आमा–छोरालाई धम्की दिने गर्थे । उनीहरुले भनेका छन्, ‘घटनाको दिन जेठो छोरो आमासँगै नभएकाले बाँच्यो, नत्र थप दुःखद अवस्था सिर्जना हुन सक्थ्यो ।’

विभिन्न अड्कलबाजीबीच सम्पत्ति बाँडफाँटमा कुरा नमिल्दा कुमारले ईश्वरीको हत्या गरेको बुझिन्छ । एक अन्तर्वार्तामा कुमारले आफूले दुख गरेर काठमाडौंमा बनाएको घर श्रीमती ईश्वरीले दाबी गरेको खुलाएका थिए ।

यद्यपि श्रीमतीले पनि त्यो घर आफ्नै कमाइले बनाएको दाबी गर्दै आएकी थिइन् । डिभोर्सको अन्तिम समयमा उनीहरुबीच सम्पत्ति बाँडफाँटको कुरा नमिलेपछि कुमारले ईश्वरीको हत्या भएको देखिन्छ ।

यद्यपि यसअघि नै ईश्वरीले श्रीमानबाट असुक्षित रहेको भन्दै प्रहरीकहाँ उजुरी दिएकी थिइन् । तर, प्रहरीले नै आरोपी कुमारसँग हात मिलाएको तस्बिर सार्वजनिक भएको थियो । अहिले भने प्रहरीले नै हात मिलाएर अपराधीको मनोबल बढाएको भन्दै कडा आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालमा ईश्वरीको पनि एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले कुमारलाई मानुपर्नेजस्ता आपराधिक अभिव्यक्ति दिएकी छिन् । त्यति मात्रै होइन, उनले सानो छोरासामु समेत ‘बाबालाई मार्ने’ जस्ता शब्द बोलेको देखिन्छ । उक्त भिडियोलाई लिएर कतिपयले श्रीमती पनि दोषी रहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय महिला आयोग कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल (खतिवडा) ले ईश्वरीको हत्यालाई समाजको असफलतासँग जोडेकी छिन् । उनले भनेकी छिन्, ‘महिला घरभित्रै असुरक्षित हुनु सभ्य समाजका लागि गम्भीर चिन्ताको विषय हो । महिलामाथि हुने हिंसा व्यक्तिगत घटना होइन । यो सम्पूर्ण समाजको असफलता हो । प्रत्येक महिलाले डर होइन, सम्मान, सुरक्षा र आत्मसम्मानका साथ बाँच्न पाउने वातावरण निर्माण गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।’

त्यसैगरी, मानव अधिकारकर्मी मोहना अन्सारीले समाजमा ईश्वरीजस्ता धेरै श्रीमतीहरुले श्रीमानबाट यातना भोग्न बाध्य भएको बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्-

आज ईश्वरी भुजेललाई हत्या गर्ने उनका पति थुनामा छन्। कैयौं ईश्वरीहरु आज पनि उकुसमुकुसको जिवन जिउन बाध्य छन्। सिधैं मार्छु काट्छु तेरो परिवार सकाई दिन्छु भनि धम्कि दिनेहरु अदालतको प्रागंणमा, प्रहरीको गेट नगएको दिन छैन। प्रहरीले भन्छ प्रमाण के छ? परिवारले भन्छ एकमौका देउ। समाजले भन्छ मिलेर बस भोली यहि पतिको आश्रा छ।

ईश्वरी नेपाली सेनामा कार्यरत थिईन तर आफूलाई जोगाउन सकिनन।

मानसिक रोगीहरुले समाजभरि सकेको छ। अहिले कतिपय त्यस्ता रोगीहरुको चर्कोस्वर समाजलाई राम्रो लागि रहेको छ। नपत्याए एकपटक त्यो नेपाली ब्रोको सामाजिक संजाल का फलोवर र भ्यूज हेरौं र विष्लेषण गरौं हामीले खोजेको कस्तो समाज हो?

ईश्वरीको जीवन फर्किदैंन न उनको तिनका साना नानीले आमाको न्यानो नै पाउछन् तर के हामी अरु महिला लाई ईश्वरीको जस्तो नियती भोग्नबाट रोक्न सक्दैनौं??

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ६ : ४१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२