वर्षायामको सुरुसँगै प्राकृतिक विपद्का घटना बढ्दै: के छ व्यवस्थापनको तयारी ? « Khabarhub

वर्षायामको सुरुसँगै प्राकृतिक विपद्का घटना बढ्दै: के छ व्यवस्थापनको तयारी ?


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्राकृतिक तथा गैरप्राकृतिक दुवै प्रकारका विपद्को उच्च जोखिममा रहेको देश हो । विश्वव्यापी जोखिम सूचकाङ्कअनुसार नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औँ तथा पानीजन्य प्रकोपको जोखिमका आधारमा ३० औँ स्थानमा रहेको छ ।

हाल देशैभर मनसुन सक्रिय भएसँगै विपद्का घटनाले मानवीय तथा आर्थिक क्षति पुऱ्याइरहेका छन् । विपद् पूर्वतयारीभन्दा राहत वितरणमा बढी केन्द्रित हुने प्रवृत्तिको कारण नेपालमा हरेक वर्ष ठूलो क्षति हुने गरेको विज्ञ बताउँछन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष वैशाख १ गतेदेखि असार २२ गतेसम्म देशभर कुल तीन हजार २ सय ५१ वटा विपद्का घटना भइसकेका छन् ।

प्राधिकरणका अनुसार यो तीन महिनाको अवधिमा विपद्का घटनामा परी देशभरका ३ हजार ६ सय २३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने १ सय ३६ जनाको मृत्यु र ६ सय ३५ जना घाइते भएका छन् ।

यस वर्ष सर्पदंश सबैभन्दा ठूलो मानवीय क्षति निम्त्याउने विपद् बनेको छ । सर्पको टोकाइबाट मात्रै २८ जनाको मृत्यु भएको छ भने ४०४ जना घाइते भएका छन् ।

त्यस्तै चट्याङ लागेर २१ जना र लेक लागेर २१ जनाले ज्यान गुमाएका छन् । आगलागीबाट १७ जना र वन्यजन्तुको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

हावाहुरी, बाढी र पहिरोः हावाहुरीका कारण १३ जना र बाढी तथा पहिरोमा परी १४ जनाको मृत्यु भएको छ । भारी वर्षा, हिमपहिरो, वन डढेलोलगायतका घटनामा थप ७ जनाले ज्यान गुमाएका छन् ।

सर्पदंश न्यूनीकरणका लागि विशेष सचेतना

वर्षायाममा बाढी र पहिरो जत्तिकै चुनौतीपूर्ण बनेको सर्पदंश न्यूनीकरणका लागि प्राधिकरणले स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्राधिकरणले सर्पदंशबाट बच्ने उपायसम्बन्धी श्रव्य–दृश्य सामग्री निर्माण गरी बढी प्रभावित समुदायमा स्थानीय भाषामै प्रचार–प्रसार गरिरहेको जनाएको छ ।
सर्पले टोकेको अवस्थामा झारफुक वा घरेलु उपचारमा समय खेर नफाल्न र तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न नागरिकलाई आग्रह गरिएको छ ।

के छ पूर्वतयारी ?

यस वर्षको मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान, चट्याङ, सर्पदंश तथा खडेरीजन्य जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वतयारीलाई तीव्र बनाएको छ ।
देशका विभिन्न स्थानमा विपद्का घटनाले मानवीय तथा आर्थिक क्षति पुऱ्याइरहेका बेला गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक तयारी पूरा गरिएको जनाएको छ ।

प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार यस वर्ष सरदरभन्दा केही कम वर्षा हुने प्रक्षेपण गरिए पनि विपद्को जोखिम भने कम नहुने भएकाले उच्च सतर्कताका साथ तयारी गरिएको छ ।

उनका अनुसार कुनै क्षेत्रमा अत्यधिक वर्षा र कुनै क्षेत्रमा कम वर्षा हुन सक्ने सम्भावना रहेकाले बाढी, पहिरो, डुबानसँगै खडेरी र तातो हावाको लहरलाई समेत ध्यानमा राखेर तयारी गरिएको हो ।

विशेषगरी कोशी प्रदेशका तराई जिल्लाहरू तथा पश्चिमी तराई क्षेत्रमा अत्यधिक गर्मी र खडेरीको जोखिम देखिएकाले मनसुन व्यवस्थापनसँगै हिट वेभका प्रभाव न्यूनीकरणका लागि पनि आवश्यक योजना कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

जोखिमयुक्त बस्तीको अध्ययन, स्थानान्तरणमा स्थानीय तहको भूमिका

सिन्धुपाल्चोकसहित बाढी तथा पहिरोको उच्च जोखिममा रहेका जिल्लामा बस्ती स्थानान्तरणको विषय विगतदेखि नै उठ्दै आएको छ । यस सन्दर्भमा प्राधिकरणले जोखिमयुक्त क्षेत्रहरूको भूगर्भीय अध्ययन गरी प्रतिवेदन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिसकेको जनाएको छ ।

महतका अनुसार जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि उपयुक्त स्थान छनोट गर्ने र आवश्यक पूर्वाधार विकास गर्ने जिम्मेवारी स्थानीय तहको कार्यक्षेत्रभित्र पर्छ । स्थानीय तहले प्रस्ताव गरेका स्थान सुरक्षित छन् वा छैनन् भन्ने विषयमा भने प्राधिकरणले प्राविधिक अध्ययन गरी सुझाव दिने काम गरिरहेको छ । कतिपय जिल्लामा यससम्बन्धी प्रक्रिया अघि बढिसकेको पनि उनले जानकारी दिइन् ।

उद्धारका लागि २६ हजार बढी जनशक्ति तयारी अवस्थामा

मनसुनजन्य विपद्का घटनामा तत्काल खोज तथा उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी २६ हजारभन्दा बढी तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

विपद्को सूचना प्राप्त हुनासाथ तत्काल परिचालन हुने गरी सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै खोज तथा उद्धारका लागि आवश्यक उपकरणहरू जोखिमयुक्त क्षेत्रमा राखिएको छ भने थप हेभी इक्विपमेन्ट खरिद तथा भण्डारणको काम पनि गरिएको छ । प्रदेशस्तरीय गोदामहरूमा राहत सामग्री मौज्दात राखिएको छ ।

प्राधिकरणका अनुसार विपद्को अवस्थामा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन कम्तीमा १५ दिनसम्म पुग्ने खाद्यान्न मौज्दात राख्ने निर्णय कार्यान्वयनको चरणमा रहेको छ ।

आवश्यक परे प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न तथा राहत सामग्री पठाउन सकिने व्यवस्था मिलाइएको छ ।

पूर्वतयारीमा लगानी बढाउनुपर्ने आवश्यकता

विज्ञका अनुसार प्राकृतिक प्रकोप आफैँमा विपद् होइन, तर उच्च जोखिमको जानकारी हुँदाहुँदै पनि आवश्यक सतर्कता र पूर्वतयारी नअपनाउँदा त्यसले विपद्को रूप लिन्छ।

विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण र पुनःस्थापनामा खर्च हुने रकमको केही अंश मात्र पूर्वतयारीमा लगानी गर्न सके पनि ठूलो मानवीय तथा आर्थिक क्षति रोक्न सकिने उनीहरूको भनाइ छ ।

मनसुन अझै सक्रिय रहने भएकाले मौसमसम्बन्धी पूर्वसूचना नियमित रूपमा पालना गर्न, जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन तथा सरकारी निकायबाट जारी हुने सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ११ : १९ बजे

राष्ट्र बैंकका एक दर्जनभन्दा बढी नीति तथा कार्यक्रम अलपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

साउने मेलाका लागि सजाइँदै टुटेश्वरनाथ महादेव मन्दिर

महोत्तरी– भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक