नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण « Khabarhub

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्न सक्ने प्रक्षेपण गरेको छ । बैंकको पछिल्लो आर्थिक परिदृश्य र मौद्रिक रणनीति प्रतिवेदन अनुसार, सरकारी नीतिमा हुने सुधार, निजी क्षेत्रको बढ्दो आत्मविश्वास र उपभोग तथा लगानीको मागमा आउने बढोत्तरीले यो लक्ष्य हासिल गर्न सकिने आधार देखिएको हो । यद्यपि, राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०२५/२६ मा भने आर्थिक वृद्धिदर केही सुस्त भई ३.८५ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

सेवा क्षेत्रको मुख्य योगदान र निजी उपभोगको हिस्सा उच्च रहे पनि ऊर्जा र खाद्य वस्तुको मूल्य वृद्धिका कारण मुद्रास्फीतिमा चाप परेको प्रतिवेदनमा उल्लेख छ । मे २०२६ सम्ममा मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा विप्रेषण (रेमिट्यान्स) को निरन्तर आप्रवाहका कारण बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको छ, जसले गर्दा बजारमा ब्याजदर न्यून रहेको छ । तर, पर्याप्त तरलताका बाबजुद कर्जा प्रवाहमा भने अपेक्षित सुधार हुन सकेको छैन ।

वित्तीय क्षेत्रको समग्र अवस्था स्थिर देखिए पनि बैंकहरूको सम्पत्तिको गुणस्तरमा आएको ह्रास, पूँजी कोषमा परेको दबाब र नाफामा आएको संकुचनले केही चिन्ता पैदा गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार नेपालको बाह्य क्षेत्र भने निकै मजबुत देखिएको छ ।

चालु खाता र शोधनान्तर स्थिति बचतमा रहनुका साथै विदेशी मुद्राको सञ्चिति ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको छ । पश्चिम एसियाको तनावका कारण पेट्रोलियम पदार्थको आयात बिल बढे पनि रेमिट्यान्सको बलियो वृद्धिले त्यसलाई सन्तुलनमा राखेको विश्लेषण राष्ट्र बैंकले गरेको छ ।

यद्यपि, भारतीय रुपैयाँसँगको आबद्धताका कारण अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ भने उल्लेख्य रूपमा अवमूल्यन भएको छ । प्रतिवेदनले सरकारी वित्त परिचालनमा केही गम्भीर चुनौतीहरू औंल्याएको छ । राजस्व परिचालनले चालु खर्च धान्न सफल भए पनि पूँजीगत खर्च भने लक्ष्यभन्दा निकै न्यून रहेको छ । सरकारले लिने ऋणको ठूलो हिस्सा विकास निर्माण (पूँजीगत खर्च) मा भन्दा पनि पुराना ऋणको साँवा–ब्याज भुक्तानीमा खर्च भइरहेको छ ।

यसले आर्थिक वृद्धिका लागि आवश्यक लगानी जुटाउन चुनौतीपूर्ण बनाएको विश्लेषण प्रतिवेदनमा उल्लेख छ । विश्व बजारमा कच्चा तेलको मूल्य स्थिर रहने र लगानीकर्ताको मनोबल बढ्ने अपेक्षासहित आगामी वर्ष मुद्रास्फीति ५.५ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ३ : ५२ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम