नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण « Khabarhub

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्न सक्ने प्रक्षेपण गरेको छ । बैंकको पछिल्लो आर्थिक परिदृश्य र मौद्रिक रणनीति प्रतिवेदन अनुसार, सरकारी नीतिमा हुने सुधार, निजी क्षेत्रको बढ्दो आत्मविश्वास र उपभोग तथा लगानीको मागमा आउने बढोत्तरीले यो लक्ष्य हासिल गर्न सकिने आधार देखिएको हो । यद्यपि, राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०२५/२६ मा भने आर्थिक वृद्धिदर केही सुस्त भई ३.८५ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

सेवा क्षेत्रको मुख्य योगदान र निजी उपभोगको हिस्सा उच्च रहे पनि ऊर्जा र खाद्य वस्तुको मूल्य वृद्धिका कारण मुद्रास्फीतिमा चाप परेको प्रतिवेदनमा उल्लेख छ । मे २०२६ सम्ममा मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा विप्रेषण (रेमिट्यान्स) को निरन्तर आप्रवाहका कारण बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको छ, जसले गर्दा बजारमा ब्याजदर न्यून रहेको छ । तर, पर्याप्त तरलताका बाबजुद कर्जा प्रवाहमा भने अपेक्षित सुधार हुन सकेको छैन ।

वित्तीय क्षेत्रको समग्र अवस्था स्थिर देखिए पनि बैंकहरूको सम्पत्तिको गुणस्तरमा आएको ह्रास, पूँजी कोषमा परेको दबाब र नाफामा आएको संकुचनले केही चिन्ता पैदा गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार नेपालको बाह्य क्षेत्र भने निकै मजबुत देखिएको छ ।

चालु खाता र शोधनान्तर स्थिति बचतमा रहनुका साथै विदेशी मुद्राको सञ्चिति ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको छ । पश्चिम एसियाको तनावका कारण पेट्रोलियम पदार्थको आयात बिल बढे पनि रेमिट्यान्सको बलियो वृद्धिले त्यसलाई सन्तुलनमा राखेको विश्लेषण राष्ट्र बैंकले गरेको छ ।

यद्यपि, भारतीय रुपैयाँसँगको आबद्धताका कारण अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ भने उल्लेख्य रूपमा अवमूल्यन भएको छ । प्रतिवेदनले सरकारी वित्त परिचालनमा केही गम्भीर चुनौतीहरू औंल्याएको छ । राजस्व परिचालनले चालु खर्च धान्न सफल भए पनि पूँजीगत खर्च भने लक्ष्यभन्दा निकै न्यून रहेको छ । सरकारले लिने ऋणको ठूलो हिस्सा विकास निर्माण (पूँजीगत खर्च) मा भन्दा पनि पुराना ऋणको साँवा–ब्याज भुक्तानीमा खर्च भइरहेको छ ।

यसले आर्थिक वृद्धिका लागि आवश्यक लगानी जुटाउन चुनौतीपूर्ण बनाएको विश्लेषण प्रतिवेदनमा उल्लेख छ । विश्व बजारमा कच्चा तेलको मूल्य स्थिर रहने र लगानीकर्ताको मनोबल बढ्ने अपेक्षासहित आगामी वर्ष मुद्रास्फीति ५.५ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ३ : ५२ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।