काठमाडौं- सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। यसले होटल, रेस्टुरेन्ट, पसल र अन्य पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको व्यवसायीहरूले बताएका छन्।
पहिले मुख्यतः युरोपेली तथा अन्य विदेशी पर्यटकको केन्द्र मानिने ठमेल अहिले भारतीय पर्यटकको रोजाइमा पनि पर्न थालेको छ। यहाँ आउने भारतीय पर्यटकले नेपाली परिकार, सांस्कृतिक वातावरण र हस्तकलाका सामग्रीको अनुभव तथा किनमेलमा विशेष रुचि देखाउने गरेका छन्।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीका अनुसार भारतीय पर्यटकको बढ्दो उपस्थितिले ठमेल क्षेत्रको आर्थिक गतिविधि थप चलायमान बनेको छ। उनका अनुसार होटल, रेस्टुरेन्ट, पसल र मनोरञ्जनस्थलमा भारतीय पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ।
ठमेलस्थित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयालका अनुसार हाल होटलमा बस्ने पाहुनामध्ये करिब ३० प्रतिशत भारतीय पर्यटक छन्। उनका अनुसार अधिकांश भारतीय पर्यटक पशुपतिनाथ दर्शनका लागि नेपाल आए पनि पछिल्लो समय ठमेलमा पनि उनीहरूको बसाइ र घुमफिर बढेको छ।
भारतीय पर्यटकहरू पशुपतिनाथसँगै स्वयम्भूनाथ, बौद्धनाथ, पाटन दरबार क्षेत्र र काठमाडौँ दरबार क्षेत्रका सम्पदास्थलको भ्रमणमा पनि आकर्षित हुने गरेका छन्।
नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीप कार्कीले भारतलाई केन्द्रमा राखेर सञ्चालन गरिएका पर्यटन प्रवर्द्धन कार्यक्रमका कारण भारतीय पर्यटकको सङ्ख्या बढेको बताए। उनका अनुसार बोर्डले पछिल्लो एक वर्षमा भारतका प्रमुख सहरमा २४ वटा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नुका साथै नेपाल–भारत सीमा नाकाहरूमा पनि प्रचारप्रसार अभियान चलाएको थियो।
बोर्डका तथ्याङ्कअनुसार सन् २०२५ मा नेपाल आएका ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् दुई लाख ९२ हजार ६२४ जना भारतीय थिए।
त्यसैगरी सन् २०२६ को पहिलो छ महिनामा नेपाल आएका छ लाख २० हजार ४५३ विदेशी पर्यटकमध्ये एक लाख ७२ हजार ४८१ जना भारतबाट आएका छन्। यस अवधिमा जनवरीमा २६ हजार ६२४, फेब्रुअरीमा २२ हजार ७४५, मार्चमा २५ हजार ७२८, अप्रिलमा १५ हजार १९६, मेमा ४० हजार ७८२ र जुनमा ४१ हजार ८०९ भारतीय पर्यटक नेपाल आएका छन्।
व्यवसायीहरूका अनुसार भारतमा बढ्दो गर्मी, नेपाल–भारत खुला सीमा, धार्मिक पर्यटन र हिमाली गन्तव्यप्रतिको आकर्षणका कारण भारतीय पर्यटकको आगमन निरन्तर बढिरहेको छ। यसको प्रभाव काठमाडौँसँगै पोखरा र मुक्तिनाथ क्षेत्रको पर्यटन व्यवसायमा पनि देखिन थालेको छ।











प्रतिक्रिया