डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम « Khabarhub

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै गएको देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार यस वर्ष डेङ्गु सङ्क्रमण गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतले घटेको छ ।

तथ्याङ्कअनुसार गत वर्ष यही अवधिमा ५३० जनामा डेङ्गु पुष्टि भएको थियो भने यस वर्ष २९२ जनामा मात्र सङ्क्रमण देखिएको छ। सन् २०२२ यता डेङ्गु सङ्क्रमण निरन्तर ओरालो लागिरहेको डा.दाहालले बताए । 

पाँच वर्षको विवरण हेर्दा सन् २०२२ मा ५४ हजार ७८४, सन् २०२३ मा ५२ हजार ७९०, सन् २०२४ मा ४१ हजार ८६५ र सन् २०२५ मा ८ हजार ९३२ जनामा डेङ्गु पुष्टि भएको थियो । यसैगरी डेङ्गुबाट हुने मृत्यु संख्या पनि वर्षेनी घट्दै गएको छ । 

सन् २०२२ मा ८८ जनाको मृत्यु भएकोमा सन् २०२३ मा २०, सन् २०२४ मा १५, सन् २०२५ मा ६ र सन् २०२६ मा हालसम्म दुई जनाको मृत्यु भएको तथ्याङ्क छ ।

यद्यपि सङ्क्रमण घटे पनि डेङ्गुको जोखिम भने देशभर कायम रहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । डा. दाहालका अनुसार ७७ वटै जिल्लामा वर्षभरि नै डेङ्गुको जोखिम रहने भएकाले सतर्कता आवश्यक छ । पाँच वर्षको तथ्याङ्कमा मधेश प्रदेशमा डेङ्गुका बिरामीको प्रतिवेदन सबैभन्दा कम रहेको उल्लेख गरिएको छ ।

डेङ्गु नियन्त्रणका लागि सरकारले असारको अन्तिम सातादेखि कात्तिकसम्मको अवधिलाई उच्च जोखिमको समय मानेर विशेष निगरानी र जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । साउन महिनालाई डेङ्गु सचेतना महिनाका रूपमा मनाउने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ ।

स्वास्थ्य निकायले डेङ्गु नियन्त्रण स्वास्थ्य क्षेत्रको प्रयासले मात्र सम्भव नहुने निष्कर्ष निकालेको छ। त्यसका लागि अटो वर्कसप, कवाडी तथा रिसाइकल व्यवसाय, होटल, विद्यालय तथा विभिन्न छाता सङ्गठनसँग सहकार्य गरी जिल्ला तहसम्म अभियान विस्तार गर्ने योजना बनाइएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार डेङ्गुलाई पूर्ण रूपमा अन्त्य गर्न कठिन भए पनि समयमै पहिचान, उपचार र प्रभावकारी व्यवस्थापनमार्फत मृत्यु तथा जटिलता उल्लेखनीय रूपमा घटाउन सकिन्छ । 

यही उद्देश्यका साथ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई डेङ्गु पहिचान, उपचार र व्यवस्थापनसम्बन्धी नियमित अभिमुखीकरण प्रदान गरिँदै आएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार कोभिड–१९ महामारीपछि नेपालमा रोग निगरानी प्रणाली थप मजबुत बनेको छ । 

अहिले रोग फैलिसकेपछि मात्र प्रतिक्रिया दिने होइन, सम्भावित जोखिमका प्रारम्भिक संकेत पहिचान गरेर समयमै नियन्त्रण गर्ने प्रणाली विकास गरिएको उनले बताए । 

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा.अनुज भट्टचनले जोखिमको स्तरअनुसार स्थानीय, प्रदेश वा संघीय तहबाट प्रतिकार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिए । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार रोग लागेपछि उपचार गर्नु भन्दा रोगको स्रोत र जोखिमका कारणहरू नियन्त्रण गर्नु बढी प्रभावकारी र कम खर्चिलो उपाय हो । 

स्वास्थ्यका धेरै चुनौतीहरू स्वास्थ्य क्षेत्रभन्दा बाहिरका वातावरण, सरसफाइ, खानेपानी, खाद्य सुरक्षा तथा पशु स्वास्थ्यसँग जोडिएका हुने भएकाले ती विषयमा पनि निरन्तर ध्यान दिनुपर्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ६ : २४ बजे

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै