काठमाडौं- लाओसमा चिनियाँ सहयोगमा निर्मित रेलमार्ग सञ्चालनमा आएपछि त्यहाँ चिनियाँ प्रभाव निकै तीव्र गतिमा बढेको पाइएको छ। लुवाङ प्रबाङ रेल स्टेसन पुग्दा सबैतिर चिनियाँ भाषाको बाहुल्यता देखिन्छ। स्टेसनको भित्तामा लेखिएका नामदेखि लिएर उद्घोषण र कर्मचारीका निर्देशनहरूसमेत चिनियाँ भाषामै हुने गरेका छन्। स्टेसन आसपासका पसलहरूमा पनि चिनियाँ अक्षरकै प्रयोग बढी देखिन्छ भने कामदारहरू पनि चिनियाँ भाषामै कुराकानी गर्छन्। युनेस्को विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक सहर लुवाङ प्रबाङको स्वरूपमा यसले ठूलो परिवर्तन ल्याएको छ।
सन् २०२३ देखि सञ्चालनमा आएको यो रेलमार्गले लाओसको राजधानी भियन्टियानलाई पर्यटकीय सहरहरूसँग जोडेको छ। करिब ६ अर्ब डलर लागतको यो परियोजना चीन र लाओसको संयुक्त लगानीमा बनेको हो। चीनले यस रेलमार्गलाई कुनमिङसम्म जोडेर दक्षिण-पूर्वी एसिया हुँदै हिन्द महासागरसम्म पुग्ने रणनीतिक कोरिडोरका रूपमा विकास गरिरहेको छ। यसले यात्राको समयलाई निकै छोट्याए पनि लाओसको अर्थतन्त्रमा भने गम्भीर संकटका संकेतहरू देखिएका छन्।
लाओसको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३५ प्रतिशत हिस्सा ओगट्ने यो रेलमार्गका लागि लाओसले चीनसँग ठूलो मात्रामा ऋण लिएको छ। लाओसको कुल बाह्य ऋणको ७६ प्रतिशत हिस्सा चीनको मात्रै छ। सन् २०२६ को सुरुवातमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लाओसलाई ऋण तिर्न नसक्ने अवस्थामा पुगेको देशका रूपमा वर्गीकरण गरेको छ। चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सहभागी भएपछि श्रीलंका र पाकिस्तानले भोगेको जस्तै आर्थिक संकटको जोखिममा लाओस पनि परेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ।
स्थानीय नागरिकहरूमा पनि यो रेलमार्गलाई लिएर मिश्रित धारणा छन्। कोही यसले गर्दा यात्रा सहज भएको र पूर्वाधार विकासमा सघाउ पुगेको भन्दै खुसी छन् भने कोही चाहिँ लाओसका स्रोत-साधन र बजारमाथि चिनियाँ पकड बलियो हुँदै गएको भन्दै सशंकित छन्। भियन्टियानका युवाहरूमाझ भविष्यप्रति निराशा बढेको छ र रोजगारीको खोजीमा युवाहरू थाईल्याण्डतिर पलायन हुने क्रम जारी छ। पूर्वाधार विकासको नाममा भित्रिएको चिनियाँ लगानीले लाओसलाई एकतर्फी रूपमा चिनियाँ प्रभावको घेरामा पारेको स्पष्ट देखिन्छ।












प्रतिक्रिया