सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का « Khabarhub

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने मर्का परेको छ ।
  
काठमाडौँ उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने उद्देश्यले आज भन्दा तीन वर्ष अघिदेखि  सुरु गरिएको झन्डै १६ किलोमिटर सडक तोकिएकै समयमा निर्माण नहुँदा स्थानीयवासी हिलो र धुवाँका कारण मर्कामा परेका हुन् ।  

सडक विस्तारका लागि तोकिएको ३६ महिनाको मूल सम्झौता अवधि समाप्त भएपछि आयोजनाको म्याद थप गरिएको थियो । बजेट अभाव, निर्माण स्थलमा देखिएका अवरोध तथा विभिन्न प्राविधिक समस्याका कारण आयोजनाको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।

मुख्य चार लेन र दुई सर्भिस लेन गरी छ लेनमा विस्तार गर्ने लक्ष्यसहित आयोजना अघि बढेको छ । सडक विस्तारसँगै नाला, पैदलमार्ग, सडक सुरक्षा संरचना, रिटेनिङ वाल तथा आवश्यक स्थानमा पुल र अन्डर पासलगायतका संरचना निर्माण गर्नुपर्ने सम्झौता छ । 

सडक विभागका अनुसार आयोजनाको कूल अनुमानित लागत १० अर्ब ५० करोड रुपैयाँ छ भने सम्झौता रकम रु आठ अर्ब ५१ करोड रुपैयाँ छ । आयोजनाको काम सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई सडक खण्डमा विभाजन गरिएको छ । 

पछिल्लो विवरणअनुसार सिङ्गो आयोजना पूरा गर्न अझै ४० प्रतिशत भन्दा बढी काम बाँकी रहेको छ । काभ्रेतर्फको साँगा–धुलिखेल खण्डमा ६८ प्रतिशत भौतिक र ६३ दशमलव पाँच प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले दावी गरेको छ । 

भक्तपुरतर्फको सूर्यविनायक–साँगा खण्डमा भौतिक प्रगति ५४ प्रतिशत र आर्थिक प्रगति ४८ प्रतिशत पुगेको बताइन्छ । आयोजनाअन्तर्गतको आठ दशमलव तीन किलोमिटर लामो साँगा–धुलिखेल खण्डको स्तरोन्नतिको सम्झौता लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ ।  

विसं २०७९ मङ्सिर २७ गते चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको यस खण्डको म्याद २०८३ मङ्सिर २३ गतेसम्म सम्पन्न गरिसक्नु पर्छ ।  

त्यस्तै, सात दशमलव पाँच किलोमिटर लामो सूर्यविनायक–साँगा खण्डको काम बन्धन भगवती जेभीले गरिरहेको छ । यस खण्डका लागि २०७९ पुस २४ गते तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । मूल सम्झौता अवधि ३६ महिना रहेको यस खण्डको म्याद २०८३ फागुन २९ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ ।  

दुई खण्डअन्तर्गत उल्लेख्य अन्तर देखिएको छ । काभ्रेतर्फको साँगा–धुलिखेल खण्डमा सर्भिस लेन, नाली तथा रिटेनिङ वाल निर्माणको काम धेरैजसो सम्पन्न भइसकेको छ भने मुख्य सडकमा कालोपत्र गर्ने काम अघि बढिरहेको आयोजना कार्यालयले जनाएको छ । 

साँगा, जनागाल, बाँसघारी, बुडोल तथा बनेपा बजार आसपासका क्षेत्रमा रिटेनिङ वाल, पक्की ढल नाली तथा सर्भिस लेन र मुख्य सडक पिच निर्माणको सुस्त गतिमा भरहेको छ । बनेपा बजारको मुख्य सहरी क्षेत्रमा ढल, सर्भिस लेन तथा मुख्य सडक कालोपत्र गर्ने काम धिमाह गतिमा अघि बढ्दा नगरवासीले सास्ती व्यहोर्नु परेको छ भने स्थानीयको व्यापार व्यावसायमा समेत असर पुगेको बताइन्छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १२ : १४ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि