बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने मर्का परेको छ ।
काठमाडौँ उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने उद्देश्यले आज भन्दा तीन वर्ष अघिदेखि सुरु गरिएको झन्डै १६ किलोमिटर सडक तोकिएकै समयमा निर्माण नहुँदा स्थानीयवासी हिलो र धुवाँका कारण मर्कामा परेका हुन् ।
सडक विस्तारका लागि तोकिएको ३६ महिनाको मूल सम्झौता अवधि समाप्त भएपछि आयोजनाको म्याद थप गरिएको थियो । बजेट अभाव, निर्माण स्थलमा देखिएका अवरोध तथा विभिन्न प्राविधिक समस्याका कारण आयोजनाको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।
मुख्य चार लेन र दुई सर्भिस लेन गरी छ लेनमा विस्तार गर्ने लक्ष्यसहित आयोजना अघि बढेको छ । सडक विस्तारसँगै नाला, पैदलमार्ग, सडक सुरक्षा संरचना, रिटेनिङ वाल तथा आवश्यक स्थानमा पुल र अन्डर पासलगायतका संरचना निर्माण गर्नुपर्ने सम्झौता छ ।
सडक विभागका अनुसार आयोजनाको कूल अनुमानित लागत १० अर्ब ५० करोड रुपैयाँ छ भने सम्झौता रकम रु आठ अर्ब ५१ करोड रुपैयाँ छ । आयोजनाको काम सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई सडक खण्डमा विभाजन गरिएको छ ।
पछिल्लो विवरणअनुसार सिङ्गो आयोजना पूरा गर्न अझै ४० प्रतिशत भन्दा बढी काम बाँकी रहेको छ । काभ्रेतर्फको साँगा–धुलिखेल खण्डमा ६८ प्रतिशत भौतिक र ६३ दशमलव पाँच प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले दावी गरेको छ ।
भक्तपुरतर्फको सूर्यविनायक–साँगा खण्डमा भौतिक प्रगति ५४ प्रतिशत र आर्थिक प्रगति ४८ प्रतिशत पुगेको बताइन्छ । आयोजनाअन्तर्गतको आठ दशमलव तीन किलोमिटर लामो साँगा–धुलिखेल खण्डको स्तरोन्नतिको सम्झौता लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ ।
विसं २०७९ मङ्सिर २७ गते चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको यस खण्डको म्याद २०८३ मङ्सिर २३ गतेसम्म सम्पन्न गरिसक्नु पर्छ ।
त्यस्तै, सात दशमलव पाँच किलोमिटर लामो सूर्यविनायक–साँगा खण्डको काम बन्धन भगवती जेभीले गरिरहेको छ । यस खण्डका लागि २०७९ पुस २४ गते तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । मूल सम्झौता अवधि ३६ महिना रहेको यस खण्डको म्याद २०८३ फागुन २९ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ ।
दुई खण्डअन्तर्गत उल्लेख्य अन्तर देखिएको छ । काभ्रेतर्फको साँगा–धुलिखेल खण्डमा सर्भिस लेन, नाली तथा रिटेनिङ वाल निर्माणको काम धेरैजसो सम्पन्न भइसकेको छ भने मुख्य सडकमा कालोपत्र गर्ने काम अघि बढिरहेको आयोजना कार्यालयले जनाएको छ ।
साँगा, जनागाल, बाँसघारी, बुडोल तथा बनेपा बजार आसपासका क्षेत्रमा रिटेनिङ वाल, पक्की ढल नाली तथा सर्भिस लेन र मुख्य सडक पिच निर्माणको सुस्त गतिमा भरहेको छ । बनेपा बजारको मुख्य सहरी क्षेत्रमा ढल, सर्भिस लेन तथा मुख्य सडक कालोपत्र गर्ने काम धिमाह गतिमा अघि बढ्दा नगरवासीले सास्ती व्यहोर्नु परेको छ भने स्थानीयको व्यापार व्यावसायमा समेत असर पुगेको बताइन्छ ।












प्रतिक्रिया