सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने « Khabarhub

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा अपमानजनक अभिव्यक्तिमाथि निगरानी गर्ने भएको छ। त्यस्ता सामग्रीको ‘स्क्रिनसट’ संकलन गरी अध्ययन तथा अनुसन्धानपछि बुलेटिन प्रकाशन गर्ने निर्णय पार्टीले गरेको हो।

एमाले बाँकेकी उपसमिति तथा प्रचार विभाग प्रमुख निर्मला सुनारले सामाजिक सञ्जालमा हुने चरित्रहत्या, अशिष्ट तथा अमर्यादित अभिव्यक्ति र घृणा तथा द्वेषपूर्ण गतिविधिको स्क्रिनसट संकलन गरिने बताइन्। संकलित सामग्रीको अध्ययन गरी तथ्यका आधारमा बुलेटिन प्रकाशन गरिने उनले जानकारी दिइन्।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक असहमति र आलोचनालाई गालीगलौज तथा व्यक्तिगत आक्रमणमा परिणत गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख छ।

पार्टीले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता तथा कार्यकर्ताबाट राजनीतिक विरोधी र आलोचकलाई लक्षित गरी अशिष्ट तथा अपमानजनक अभिव्यक्ति आउने गरेको भन्दै आपत्ति जनाएको छ।

एमालेले आलोचना लोकतन्त्रको आवश्यक पक्ष भए पनि आमाको नाम जोडेर गाली गर्ने, चरित्रमाथि प्रश्न उठाउने, अश्लील शब्द प्रयोग गर्ने तथा व्यक्तिगत अपमानमा उत्रिने प्रवृत्तिलाई राजनीतिक संस्कार मान्न नसकिने जनाएको छ।

सामाजिक सञ्जालमा हुने चरित्रहत्या, घृणा तथा द्वेषपूर्ण अभिव्यक्तिले समाजमा असहिष्णुता र राजनीतिक ध्रुवीकरण बढाउन सक्ने भन्दै एमाले बाँकेले सबै राजनीतिक दलका नेता–कार्यकर्ता तथा आम नागरिकलाई सामाजिक सञ्जालको मर्यादित प्रयोग गर्न आग्रह गरेको छ।

पार्टीले ‘विचारसँग लडौँ, व्यक्तिसँग होइन, तर्कले जवाफ दिऔँ, गालीले होइन’ भन्ने सन्देश अघि सारेको छ। राजनीतिक विरोधीलाई गाली गर्दैमा आफ्नो विचार बलियो नहुने एमालेको भनाइ छ।

सामाजिक सञ्जालमा हुने अशिष्ट तथा अमर्यादित गतिविधिको निगरानी र बुलेटिन प्रकाशनका लागि एमाले बाँकेले सात सदस्यीय समिति गठन गरेको छ।

समितिको संयोजकमा निर्मला सुनार रहेकी छन्। सदस्यमा खेमराज शर्मा, मिनबहादुर मल्ल, कौशिला कठायत, माया गौतम, अनिता पौडेल र सकिल खाँ रहेका छन्।

समितिले संकलन गरेको सामग्रीका आधारमा तयार हुने बुलेटिन सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइने एमालेले जनाएको छ। सम्बन्धित व्यक्ति सम्पर्कमा नआए घरपरिवारमार्फत जानकारी गराउने र घरपरिवारसमेत सम्पर्कमा नआए सम्बन्धित रास्वपा नेता वा पार्टी कार्यालयलाई सामग्री उपलब्ध गराउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

एमाले बाँकेले अभियानको उद्देश्य कसैलाई व्यक्तिगत रूपमा अपमानित वा प्रताडित गर्नु नभई सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्टता, चरित्रहत्या, घृणा तथा द्वेषपूर्ण अभिव्यक्तिविरुद्ध सभ्य, जिम्मेवार र मर्यादित राजनीतिक संस्कार निर्माण गर्नु रहेको स्पष्ट पारेको छ।

यसैबीच, एमाले बाँकेले भदौ १० गते रसुवामा आएको बाढी तथा पहिरोपछि उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सरकार गम्भीर रूपमा चुकेको आरोप लगाएको छ।

सरकारको ‘अहंकार’, ‘दम्भ’ र ‘अल्पज्ञान’ तथा घटनाको गम्भीरतालाई सही ढङ्गले बुझ्न नसक्दा ठूलो मानवीय क्षति भएको दाबी गर्दै एमालेले सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ।

एमालेले लोकतन्त्रमा जनताले सरकार तथा राजनीतिक दलसँग प्रश्न गर्न र जवाफदेहिता खोज्न पाउने अधिकार रहेको जनाएको छ। यस्ता प्रश्नको जवाफ गाली, धम्की वा व्यक्तिगत आक्रमणबाट नभई तथ्य, तर्क र जिम्मेवार राजनीतिक व्यवहारमार्फत दिनुपर्नेमा पार्टीले जोड दिएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १ : ०९ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक