मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य « Khabarhub

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको छ । ‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई अनिवार्य बनाइएको हो । 

सुदूरपश्चिमा ‘हरेलो’, ‘विरिजात’ र विर्सती मेलालाई साँस्कृतिक पर्वका रुपमा धारण गरिन्छ । मेलामा युवाहरूको आकर्षण घट्दै गएपछि उनीहरूलाई संस्कृति सँग जोड्ने उद्देश्यले यहाँका स्थानीय निकायले भलिबल प्रतियोगिताको आयोजना अनिवार्य गरेका छन् । 

कुनै समय जात्रा र मेला भन्नासाथ देउडा, स्थानीय नाचगान तथा सन्देशमुलक सडक नाटकमा आकर्षण हुने बझाङगीहरु अहिले भलिवल खेलप्रति आकर्षण भएका छन् ।  

स्थानीय युवादेखि शिक्षक, कर्मचारी र विभिन्न संस्थामा आबद्ध व्यक्तिसम्म प्रतियोगितामा सहभागी हुन थालेपछि बझाङका मेला–जात्रा केवल मनोरञ्जन र धार्मिक गतिविधिमा सीमित नरही खेलकुद र सामाजिक एकताको थलो बन्दै गएको छ । 

पछिल्ला दुई सातामा चार ठूला खेलले भलिबलमय मेला बनेका छन् । यहि भदौ ७ गते मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १५० औँ जन्मजयन्ती थियो । सोही अवसरमा जयपृथ्वी बहुमुखी क्याम्पस, भोपुरले ‘जयपृथ्वी भलिबल कप–२०८३’ आयोजना गर्‍यो  । 

चौतीस टोली मैदानमा उत्रिए । विजेताले रु एक लाख १०५  नगदसहित ट्रफी प्राप्त गरे । उपविजेतालाई ६० हजार १०५ प्रदान गरियो । जयपृथ्वी भलिबल कप सकिएको भोलिपल्टै सुर्मा गाउँपालिमामा लाग्ने सुर्मादेवी विरिजात सुरु भयो । 

मेलामा सधैँ आकर्षक भइरहने फाग, माङ्गल नाच यो पटक भलिबलले ओझेलमा पा¥यो । खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताले मैदानमा दर्शक झुम्मिन थाले । मूल पूजा हुने पाँकरजडीमा समेत श्रद्धालु पातलिए ।
    
रु एक लाख ३५ हजार पुरस्कार राखेको पुरुष भलिबलमा ३५ टिम सहभागी भए । रु ६५ हजार महिलाको पहिलो पुरस्कारका लागि दर्जन बढी टिम सहभागी थिए । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको विरिजातमा देउडा, नृत्य, झाँकीसँगै ठाँकनाच प्रतियोगितासमेत गरिएको थियो । गएको शनिबारदेखि मष्टा गाउँपालिका–६, रिलुमा लागेको हरेलो मेलामा पनि भलिबल प्रतियोगिता भयो । प्रतियोगितामा पुरुषतर्फ २६ टोली र महिलातर्फ १२ टोली सहभागी थिए । 
    
‘वडाध्यक्ष कप’ नाम दिइएको प्रतियोगितामा जिल्लाका विभिन्न वडाका टोलीले सहभागिता जनाए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले रु एक लाख, महिलातर्फ प्रथम हुने टोलीले ६० हजार प्राप्त गरे ।

एउटै मेलामा पुरुष र महिलाका गरी ३८ टोली मैदानमा उत्रिनुले बझाङमा भलिबलप्रतिको बढ्दो आकर्षणलाई मात्रै देखाउँदैन, महिला खेलाडीको सहभागिता र अवसर विस्तार हुँदै गएको संकेत गर्छ । 

बझाङको  बिर्सती मेलाले सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ । तर, यो वर्ष बझाङीले ‘बिर्सती’ भलिबल प्रतियोगिताको आयोजना गरे । बझाङको दुर्गाथली र छबिसपाथिभेरा गाँउपालिकाको बीचमा पर्ने (बिसौनाचौर) क्षेत्रमा प्रत्येक वर्ष भदौ १८ देखि २१ गतेसम्म मनाइन्छ यो मेला । 

संस्कृति लोप हुन नदिने उद्देश्यले मेलाको नाम बाट बझाङमा आइतबारदेखि ‘बिर्सती’ भलिबल प्रतियोगिताको आयोजना गरियो । 

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले दुई लाख दुई हजार १२१, द्वितीयले रु एक लाख दुई हजार १२१, तृतीयले ५० हजार १२१ र सान्त्वना हुने टोलीले रु १५ हजार १२१ पाउनेछन् । उन्नाइस टिम सहभागी छन् । 

महिलातर्फ प्रथम पुरस्कार ५० हजार १२१, द्वितीय २५ हजार १२१, तृतीय १२ हजार १२१ र सान्त्वना पुरस्कार छ हजार १२१ प्राप्त गर्नेछन् । महिलातर्फ पनि ११ टिमले उपस्थिति जनाएको छ । 

बझाङका गाउँघरमा मेला–जात्रा आफैँमा सामाजिक पुनर्मिलनका अवसर हुन् । रोजगारी, अध्ययन वा अन्य कारणले गाउँबाहिर रहेका युवा पनि मेला–जात्राका अवसरमा गाउँ फर्किन्छन् ।

बिर्सतीका भलिबल सह संयोजक अर्जुन दौल्यालका अनुसार एउटा गाउँको टोली अर्को गाउँमा पुग्छ । स्थानीय दर्शकले बाहिरबाट आएका खेलाडीको खेल हेर्छन् । खेलपछि प्रतिस्पर्धीहरू फेरि साथी बन्छन् । 
    
जितको खुसी र हारको अनुभवसँगै आपसी चिनजान र सम्बन्ध पनि विस्तार हुन्छ । भलिबलको मैदान केवल खेल हुने ठाउँ होइन, सम्बन्ध गाँसिने ठाउँ पनि बन्न थालेको उनी बताउँछन् ।

पुरस्कारभन्दा ठूलो सहभागिता

बझाङका मेला–जात्रामा भलिबल प्रतियोगिताको पुरस्कार राशि पनि पछिल्लो समय आकर्षक बन्दै गएको छ । कतिपय प्रतियोगितामा लाखौँ रुपैयाँसम्म पुरस्कार राखिँदा जिल्लाभित्रका मात्रै नभई बाहिरका खेलाडी तथा टोलीलाई समेत आकर्षित गर्न थालेको छ । आयोजकका लागि पुरस्कारभन्दा ठूलो विषय सहभागिता र मेलाको आकर्षण हुन्छ । 

भलिबल प्रतियोगिता आयोजना गर्दा स्थानीय युवाले खेल्ने अवसर पाउँछन् । नयाँ खेलाडीले आफूलाई परीक्षण गर्ने मौका पाउँछन् । दर्शकले मनोरञ्जन पाउँछन् । आयोजकले मेलामा थप भीड आकर्षित गर्न सक्छन् । स्थानीय व्यापार–व्यवसायमा समेत यसको सकारात्मक प्रभाव पर्ने भन्दै गाउँ गाउँमा खेलहरु हुने गरेको जयपृथ्वी बहुमुखी क्याम्पसका उप प्राध्यापक ईश्वर हमाल बताउँछन् । 

उनले भने, ‘यसरी हेर्दा एउटा भलिबल प्रतियोगिताले खेलाडी, दर्शक, आयोजक र स्थानीय व्यवसायी सबैलाई जोड्ने काम गरिरहेको छ ।’

महिला खेलाडी पनि मैदानमा

बझाङका मेला–जात्रामा महिला भलिबल प्रतियोगिता समावेश हुनु अर्को सकारात्मक पक्ष हो । परम्परागत रूपमा महिलाको सहभागिता सांस्कृतिक कार्यक्रम, देउडा वा धार्मिक गतिविधिमा बढी देखिने जिल्लामा अहिले महिला खेलाडी पनि भलिबलको मैदानमा प्रतिस्पर्धा गर्न थालेका छन् ।

हरेलो, विरिजात र बिर्सती मेलामा मात्रै तीन दर्जनभन्दा बढी महिलाले प्रतिष्पर्धा गरे । यसले गाउँका किशोरी तथा युवतीलाई खेलकुदमा लाग्न प्रेरित गर्नुका साथै प्रतिस्पर्धा, आत्मविश्वास र नेतृत्वको अवसर समेत प्रदान गरेको छ ।
 
संस्कृतिसँग खेलकुदको सहयात्रा

बझाङको मौलिक संस्कृति देउडा, जात्रा, मेला, नाचगान र धार्मिक परम्परासँग गहिरोसँग जोडिएको छ । पछिल्लो समय त्यसैमा भलिबल थपिन थालेको छ ।    यसलाई कतिपयले परम्परामा आधुनिकताको प्रवेशका रूपमा हेरेका छन् भने कतिपयले संस्कृति जोगाउँदै नयाँ पुस्तालाई जोड्ने माध्यमका रूपमा लिएका छन् ।

मेला–जात्रामा बढ्दै गएको भलिबलको आकर्षणलाई व्यवस्थित गर्न सके बझाङमा खेलकुद पर्यटनको सम्भावना पनि देखिने खप्तडछान्ना ५ का लोकराज जोशी बताउँछन् । 

देशका विभिन्न ठाउँबाट टोलीहरू प्रतियोगितामा आउन थाले भने उनीहरूले स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य र धार्मिकस्थलसमेत अवलोकन गर्ने अवसर पाउने उनी बताउँछन् । 

खेलाडी र दर्शकको आवागमनले स्थानीय होटल, यातायात, पसल तथा अन्य व्यवसायमा आर्थिक गतिविधि बढाउन सकिने उनले बताए।

प्रतियोगितालाई  व्यवस्थित, नियमित र पारदर्शी बनाउनु आवश्यक रहेको उनले बताए। मैदान, खेल सामग्री, रेफ्री, खेलाडीको सुरक्षा, पुरस्कार वितरण र व्यवस्थापनमा ध्यान दिन सके बझाङका मेला राष्ट्रियस्तरका खेलकुद कार्यक्रमका रूपमा स्थापित हुन सक्ने बताइन्छ । 

जात्रैपिच्छे खेल, गाउँगाउँमा उत्साह

बझाङमा अहिले देखिएको दृश्य केवल एउटा प्रतियोगिताको कथा होइन । जयपृथ्वी भलिबल कपमा ३४ टोली, हरेलो मेलामा ३८ टोली तथा बिर्सतीमा ३० टोली, विरिजात ३२ टोली मेलामा छुट्टाछुट्टै महिला–पुरुष भलिबल प्रतियोगितामा सहभागी हुनु भनेको मेला र खेलकुदबीचको सम्बन्ध बलियो हुँदै गएको देखाउँछन् ।

‘कुनै समय जात्राको मुख्य आकर्षण देउडा र नाचगान हुन्थ्यो,’ सत्यवादी माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद जोशीले भने, ‘अहिले त्यससँगै भलिबलको आवाज पनि मिसिन थालेको छ । गाउँका खेल मैदानमा पोल गाडिँदा बालबालिकादेखि वृद्धसम्मको ध्यान त्यतातिर जान थालेको छ । खेलाडी मैदानमा पस्दा दर्शकको भीड बढ्छ । हरेक अंकसँगै हुटिङ हुन्छ । जित्दा खुसी र हार्दा अर्को पटक अझ राम्रो गर्ने उत्साह जन्मिन्छ ।’

भूमिराज पिठातोली/रासस


 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १ : ३२ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण