एजेन्सी- इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनुका साथै दैनिक उपभोगमा समेत थप आर्थिक दबाब परेको छ।
अमेरिकामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रतिग्यालोन ४.१४ अमेरिकी डलर पुगेको छ। यो गत वर्षको तुलनामा झन्डै १ डलर बढी हो।
यसअघि सन् २०१२ मा नियमित पेट्रोलको औसत मूल्य प्रतिग्यालोन ३.८२ डलर पुगेको थियो। पछिल्लो मूल्यले उक्त स्तरलाई समेत पार गरेको छ। यद्यपि, अमेरिकामा पेट्रोलको सर्वकालीन उच्च राष्ट्रिय औसत मूल्य भने सन् २०२२ को जुनमा कायम भएको ५.०२ डलर प्रतिग्यालोन नै हो।
पेट्रोलको मूल्य बढेपछि लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या र यात्राको अवधि घट्न थालेको छ।
पेन्सिलभेनियाकी निकोल कोलिन्सले साथीहरूलाई भेट्न दक्षिण क्यारोलिना जाने योजना बनाएकी थिइन्। तर पेट्रोलमा हुने बढ्दो खर्चका कारण उनको परिवारले यस गर्मीयाममा विगतका वर्षको तुलनामा निकै कम यात्रा गरेको छ।
कोलिन्सका अनुसार पेट्रोलको मूल्य अत्यधिक बढेकाले परिवारको बजेटमा दबाब परेको छ। सानो बच्चाको आवश्यकतामा समेत खर्च गर्नुपर्ने भएकाले इन्धनमा बढेको खर्च व्यवस्थापन गर्न थप कठिन भएको उनले बताएकी छन्।
डेलावेयरको क्लेमन्टस्थित एक पेट्रोल पम्पमा नियमित पेट्रोलको मूल्य प्रतिग्यालोन ४.१९९ डलर पुगेको थियो। अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि पेट्रोलको मूल्य तीव्र रूपमा बढेको समाचारमा उल्लेख छ। त्यसपछि मूल्यमा केही उतारचढाव आए पनि पेट्रोलको मूल्य पुरानै स्तरमा फर्कन सकेको छैन।
मूल्य वृद्धिको प्रमुख कारण विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलडमरूमध्यबाट कच्चा तेलको आवतजावतमा आएको ठूलो गिरावटलाई मानिएको छ।












प्रतिक्रिया