काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारी वर्षा हुन सक्ने सम्भावना छ । वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ ।
प्रतिकूल मौसमले पदयात्रा र हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले विभागले यात्रा स्थगित गर्न तथा उच्च हिमाली क्षेत्रमा पुगिसकेका पदयात्री र पर्वतारोहीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर मात्र यात्रा योजना बनाउन आग्रह गरेको छ ।
विभागले खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौं र पोखराका स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन सम्बन्धित निकायलाई पनि आग्रह गरेको छ ।














प्रतिक्रिया