नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग « Khabarhub

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ राखिएको होर्डिङ बोर्डमा भारतीय गाउँ लेखिएपछि विरोध भएको छ।

महाकालीमाथि बनेको उक्त पुलको नेपालतर्फ नेपाली ठेगानाको सट्टा भारतीय गाउँ ‘छार्चुम’ लेखिएपछि स्थानीयले विरोधसहित सच्याउन माग गरेका छन्।

पुलको नेपालतर्फ राखिएको बोर्डमा ‘महाकाली–८, असिगडा, दार्चुला, नेपाल’ लेखिनुपर्नेमा ‘काली नदी छार्चुम’ उल्लेख गरिएको छ। नेपाली भूमिमा निर्माण गरिएको पुलको बोर्डमै भारतीय गाउँको नाम राखिएको विषयलाई स्थानीयले गम्भीर रूपमा लिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाका सभापति राजेशसिंह सामन्तले बोर्डमा देखिएको त्रुटिबारे परराष्ट्र मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जानकारी गराइसकेको बताएका छन्।

सामन्तले सामाजिक सञ्जालमार्फत प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलसँग यस विषयमा जानकारी गराइएको बताए । उनलले भारतीय पक्षसँग समेत कुराकानी भइसकेको उल्लेख गरेका छन्। उनका अनुसार भारतीय पक्षले बोर्ड सच्याउने प्रतिबद्धता जनाएको छ।

‘नेपाल–भारत जोड्ने महाकाली नगरपालिका–८ असिगडामा बनेको मोटरेबल पुलको नेपालतर्फ निर्माण गरिएको बोर्डमा महाकाली–८ असिगडा, दार्चुला, नेपाल लेखिनुपर्ने ठाउँमा काली नदी ‘छार्चुम’ लेखिएको विषयलाई गम्भीरताका साथ परराष्ट्र मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय दार्चुलामा सच्याउन जानकारी गराइसकेका छौँ,’ सामन्तले लेखेका छन्।

उनले यस्ता विषयलाई गम्भीरतापूर्वक लिँदै परराष्ट्र मन्त्रालयले भारतसँग आवश्यक वार्ता तथा समन्वय गरी समस्या समाधानका लागि पहल गर्नसमेत आग्रह गरेका छन्।

यसैबीच, दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेल र भारतीय समकक्षी एसडीएम तथा भारतीय लोक निर्माण विभाग (पीडब्लुडी) का इन्जिनियरबीच बोर्ड हटाउने विषयमा समन्वय भएको जनाइएको छ। त्रुटिपूर्ण बोर्ड तत्काल, मंगलबार नै हटाइने जानकारी भारतीय पक्षबाट प्राप्त भएको सामन्तले बताएका छन्।

नेपाली भूमिमा राखिएको बोर्डमा भारतीय गाउँको नाम कसरी उल्लेख भयो भन्ने विषयमा समेत प्रश्न उठेको छ। स्थानीयले यो रणनीतिक रूपमा गरिएको हो वा प्राविधिक त्रुटि मात्र हो भन्नेबारे स्पष्ट हुनुपर्ने बताएका छन्।

स्थानीयले त्रुटिपूर्ण बोर्ड तत्काल हटाएर नेपालको आधिकारिक ठेगाना उल्लेख भएको बोर्ड राख्न माग गरेका छन्।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  २ : ११ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक