जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’ « Khabarhub

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नसच्चिए विकल्प खोज्ने चेतावनी दिएका छन् ।

नेपालमा जेन-जी आन्दोलन भएको मंगलबार एक वर्ष पुगेका बेला उनले सरकारलाई खबरदारी गर्दै आन्दोलनका मुद्दा र अपेक्षाअनुसार काम गर्न नसके वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्ने बताएका हुन् ।

गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गराएको थियो । हाल वालेन्द्र शाह नेतृत्वमा झन्डै दुईतिहाइ बहुमतको सरकार छ ।

तर, सडकबाट स्वतन्त्र रूपमा आवाज उठाइरहेका जेन-जी अभियन्ताहरू वर्तमान सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । सरकारको गति आन्दोलनका अपेक्षा र मुद्दासँग मेल नखाएको राना मगरको भनाइ छ ।

‘यो मूलतः राजनीतिक आन्दोलन भएकाले पाएको-गुमाएको नाफाघाटा जोख्ने अवस्था छैन । हामीले त्यत्रा साथीहरूलाई गुमाएर, राज्यका संरचनाहरू ध्वस्त हुँदा यो परिवर्तन पाएका छौँ । गुमाएका साथीहरूप्रति उच्च सम्मान र माया छ,’ उनले भने ।

सरकारले जेन-जी आन्दोलनका अपेक्षा र मुद्दा बिर्सिने चिन्ता बढेको उनले बताए । आन्दोलनका घाइतेको उपचार, सहिद परिवारलाई राज्यले दिनुपर्ने सुविधा तथा आन्दोलनकै कारण थुनामा परेका व्यक्तिको रिहाइका विषयमा सरकार गम्भीर नदेखिएको उनको आरोप छ ।

‘अहिलेको सरकारको गति र आन्दोलनसँग तालमेल भएको छैन । हामी पूर्ण असन्तुष्ट छैनौँ । सरकारको खबरदारी र आलोचना गर्ने समय भएको छैन भनेर पर्खिने स्थिति अब छैन,’ उनले भने, ‘अहिले सरकारले जुन तरिकाले अपरिपक्वता र असंवेदनशीलता देखाइरहेको छ, अब हामीले यो पाँच वर्षको जनादेश प्राप्त सरकार हो भन्ने अवस्था छैन ।’

जेन-जी र अन्तरिम सरकारबीच भएको १० बुँदे सम्झौता पनि सही ढंगले कार्यान्वयन नभएको उनको दाबी छ । सम्झौताका शीर्षकहरू पालना गरेजस्तो देखिए पनि त्यसका अन्तरवस्तु कार्यान्वयन नभएको उनले बताए ।

‘आन्दोलनका घाइतेहरूको उपचारको व्यवस्था सरकारले सही ढंगले गर्न सकेको छैन । सहिद परिवारहरूलाई जुन ढंगले राज्यका संरचनामा सुविधा दिनुपर्ने हो, त्यो प्रभावकारी भएको छैन । जति अन्तरिम सरकारले गरेको थियो, त्यहीअनुसारको काम भएको हो । नयाँ भएको छैन,’ उनले भने ।

त्यस्तै, आन्दोलनमा सहभागी भएकै कारण थुनामा परेका साथीहरूको रिहाइका लागि सरकारले कुनै पहल नगरेको उनले बताए । गरिबी, भूमिहीनता र सुकुम्बासी समस्या समाधान तथा विभेद र असमानताविरुद्ध सरकारले ठोस काम गर्नुपर्ने उनको माग छ ।

सरकारले सुकुम्बासी बस्ती हटाउने नाममा अमानवीय व्यवहार गरेको आरोप पनि उनले लगाए । राज्यका संरचनालाई बलियो बनाउनुपर्नेमा सरकारले त्यसप्रतिको जनविश्वास घटाउने काम गरिरहेको उनको भनाइ छ ।

‘स्टेट मेकानिजमलाई बलियो बनाउनुपर्छ भन्ने हाम्रो माग र मान्यता छ । त्योभन्दा फरक स्टेट मेकानिजमलाई निकम्मा बनाउँदै लैजाने, विश्वास घटाउँदै लैजाने काम भएको छ । व्यक्तिगत बहादुरी देखाउने काम भएको छ । सबै किसिमका कुरामा व्यक्तिलाई हिरो बनाउने काम भएको छ,’ उनले भने, ‘यसले मुलुकको लोकतन्त्र र भविष्यलाई सही ढंगले अगाडि बढाउन सक्दैन ।’

सरकारले हरेक कार्ययोजनाअनुसार नीति बनाएर त्यसको कार्यान्वयनबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनले बताए । एक मन्त्रीले एउटा आदेश दिने, अर्को मन्त्रीले अर्को निर्णय सुनाउने तथा सार्वजनिक रूपमा धम्कीपूर्ण अभिव्यक्ति दिने कार्यशैलीले सरकार सञ्चालन हुन नसक्ने उनको भनाइ छ ।

‘एउटा मन्त्रीले कहीँ गएर यसो गर् भनेर आदेश दिने, अर्को मन्त्री गाउँ सार भन्ने, अर्को मन्त्री सेना प्रमुखलाई थुन्छु भन्ने, अर्को मन्त्री खुट्टा भाँच्छु भन्ने यस्तो तरिकाले हुँदैन,’ उनले भने ।

प्रधानमन्त्री र मन्त्रीहरू जवाफदेही र पारदर्शी हुनुपर्नेमा पनि उनले जोड दिए । सरकारका मन्त्री-प्रधानमन्त्रीको व्यवहारले जोश देखाए पनि जेन-जी आन्दोलन केवल जोशको परिणाम नभएको उनको भनाइ छ ।

‘जेन-जी आन्दोलन जोश मात्रै थिएन, होसियारपूर्ण चालिएको राजनीतिक कदम पनि थियो । त्यसकारण यो कुरालाई सरकारले हेक्का राखोस् । त्यो राजनीतिक कदमलाई यसले न्याय गर्दैन जस्तो लाग्छ,’ उनले भने ।

सरकारप्रति निराशाभन्दा पनि आन्दोलनले अपेक्षा गरेअनुसार काम नहुने अवस्थामा आफूहरू पुगेको उनले बताए । सरकार साध्य नभई साधन भएको भन्दै आन्दोलनका माग पूरा गर्न नसके प्रश्न उठाउने र खबरदारी गर्ने उनले बताए ।

‘सरकारलाई खबरदारी गर्छौं । सच्चिन नसक्ने अवस्थामा पुग्यो भने विकल्प खोज्ने बाटोमा जान्छौँ,’ राना मगरले भने, ‘वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि हिच्किचाउनु हुँदैन । सरकारलाई खबरदारी गर्दै गर्छौँ, नसच्चिने अवस्थामा पुगे विकल्प खोज्छौँ ।’

उनले एउटा निर्वाचनको परिणामले मात्रै राजनीतिक शक्ति र जनसमर्थनको अन्तिम मापन गर्न नसकिने पनि बताए । ‘एउटा निर्वाचनले मात्रै शक्ति जोख्न सक्दैन, त्यसकारण हामी नै अन्तिम विकल्प हौँ भन्ने भ्रम बोक्नु आवश्यक छैन,’ उनले भने ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ७ : ०२ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका