‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’ « Khabarhub

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई विश्वासमा लिएर समन्वयकारी ढङ्गले काम गर्न नसकेको बताएका छन्। उनले सरकारको कार्यशैलीमा अझै सुधार आवश्यक रहेको भन्दै जनताको आक्रोश व्यवस्थापन गर्न नसके फेरि विद्रोहको अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

जेन-जी आन्दोलन भएको एक वर्ष पुगेका अवसरमा खबरहबसँग कुरा गर्दै चाम्लिङले अहिले नै सरकारप्रति पूर्ण निराश भइहाल्ने अवस्था नभए पनि यही कार्यशैली कायम रहे सरकारको कार्यकाल पूरा हुँदासम्म जनता थप निराश हुने बताए।

चाम्लिङ २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका अगुवामध्ये एक हुन्। उनी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडको पक्षमा थिएनन्। माइतीघर मण्डलबाट शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा घुसपैठ भएपछि बानेश्वरमा हिंसात्मक घटना भएको उनको भनाइ छ।

उक्त आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार हुँदै फागुन २१ गतेको निर्वाचनपछि वालेन्द्र शाह नेतृत्वको सरकार बनेको छ। जेन-जी आन्दोलनको पृष्ठभूमिमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको छ। तर आन्दोलनका अगुवाहरू भने वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्ट हुँदै गएका छन्।

चाम्लिङले सरकारले आन्दोलनका माग सम्बोधन गर्ने इच्छा र तत्परता देखाए पनि त्यो पर्याप्त नभएको बताए। ‘सरकारले माग सम्बोधन गर्ने इच्छा र तत्परता देखाएको छ। तर त्यो एकदमै अपर्याप्त र न्यून छ। अस्ति सत्तापक्षकै सांसदले पनि भन्नुभयो, ढङ्ग पुगेको छैन। तर अहिले नै निराश हुनुपर्ने स्थिति भइसकेको छैन,’ उनले भने।

उनले सरकारको चरित्र सुधार हुँदै जाने अपेक्षा रहेको बताउँदै समयमै नसच्चिए विकल्पहरू खुला हुने चेतावनी दिए। ‘यही तरिकाले गए सरकारको कार्यकाल पूरा हुँदै गर्दा जनता सन्तुष्ट हुँदैनन्। त्यतिबेलासम्म निराश भइसक्छन्। जे अहिलेसम्मको सरकारको चरित्र छ, त्यो सुधार हुँदै जाला, सुध्रिँदै जाला भन्ने अपेक्षा छ। कार्यकाल पूरा हुँदै गर्दा जनता थप निराश होलान् भन्ने विश्लेषण छ मेरो। विकल्पहरू प्रशस्त हुन सक्छन्, त्यसकारण सरकार बेलैमा सच्चिनुपर्छ,’ उनले भने।

‘सरकार सबैसँग सम्पर्कमा रहनुपर्छ’

चाम्लिङले वर्तमान सरकारका धेरै समस्याको समाधान संवाद र समन्वयबाट हुन सक्ने बताए। उनका अनुसार सरकारले कुन क्षेत्र, समुदाय र वर्गसँग संवाद गर्ने भन्ने पहिचान गरेर निरन्तर सम्पर्कमा रहनुपर्छ।

‘सबै समस्याको एउटै समाधान सरकार कम्युनिकेसनमा रहनुपर्यो। कुन-कुन क्षेत्र, समुदाय र वर्गसँग कम्युनिकेसन गर्ने भन्ने सरकार आफैंले जान्नुपर्छ। दलहरूसँग पनि आवश्यकताअनुसार संवादमा रहनुपर्यो। सरकारकै स्वायत्त निकायलाई शत्रु व्यवहार गर्नु भएन। युवाहरूसँग डिस्टेन्समा रहनुभएन,’ उनले भने।

उनले विगतको सरकारमाथि युवाहरूको गुनासो नसुनेको आरोप लागेकै कारण जेन-जी आन्दोलनजस्तो विस्फोट भएको स्मरण गराउँदै वर्तमान सरकारले त्यही गल्ती दोहोर्याउन नहुने बताए।

‘हिजोको सरकारले युवाहरूका कुरा नसुन्दा यो तहसम्मको विस्फोटन भयो। कुनै पनि मुलुकमा समस्या हुँदा त्यहाँका सचेत जनता र युवाहरूले गुनासो गर्न थाल्छन्। त्यो गुनासो र प्रश्नलाई नजरअन्दाज गरिसकेपछि आक्रोशमा बदलिन्छ। आक्रोशको व्यवस्थापन नभए विद्रोह जन्मिन्छ,’ उनले भने।

उनले मुलुकले थप विद्रोह थेग्न नसक्ने भन्दै सरकारलाई कार्यशैली परिवर्तन गर्न सुझाव दिए।

‘थप विद्रोह फेस नगर्ने भए सरकारले कार्यशैली बदल्नुपर्छ। मुलुकले थप विद्रोह बहन गर्न सक्दैन। त्यसकारण सरकार सजग र धैर्यवान भएर काम गर्नैपर्छ। युवाहरूलाई राज्यका निकाय र अंगसँग दूरीमा राख्ने गल्ती गर्नु हुँदैन,’ चाम्लिङले भने।

‘जेन-जी खुसी बनाउने नाममा अरूसँग दुश्मनी मोल्नु हुँदैन’

चाम्लिङले जेन-जीलाई खुसी बनाउने नाममा अन्य राजनीतिक दल र संवैधानिक तथा स्वायत्त निकायसँग दुश्मनी मोल्नु सरकारको गलत नीति हुने बताए।

‘जनता र जेन-जीलाई खुसी बनाउने बहानामा अरू दल र स्वायत्त निकायसँग दुश्मनी मोलेर चिढ्याउनु उचित हुँदैन। पुराना शक्ति र दलहरूले निर्माण गरेका संयन्त्रलाई दुःख दियो भने जेन-जी खुसी होलान् भन्नेतर्फ पनि सरकार अघि बढेको देखिन्छ, यो एकदमै गलत छ। यो भ्रमबाट सरकार मुक्त हुनुपर्छ,’ उनले भने।

कानुनअनुसार दोषी देखिएकामाथि कारबाही गर्न समस्या नरहेको तर पुरानो भएकै आधारमा कसैलाई कारबाही गर्ने प्रवृत्ति ठीक नहुने उनको भनाइ छ।

‘त्यति धेरै मूर्ख जनता छैनन्। कानुनले दोषी देखिए कारबाही गर्दा फरक पर्दैन तर निर्दोष फस्नु भएन। तर पुरानो भएकैले कारबाही गर्नुपर्छ भन्नेतर्फ सत्ताधारी पार्टी र सरकार लाग्नु हुँदैन,’ उनले भने।

‘प्रदेश र स्थानीय तहलाई पाखा लगाएर संघ अघि बढ्न सक्दैन’

चाम्लिङले महाविपत्तिपछिको सामाजिक पुनर्स्थापनामा सबै निकाय र व्यक्तिको सहकार्य आवश्यक रहेको बताए। संघीय सरकारले प्रदेश र स्थानीय तहलाई बेवास्ता गरेर अघि बढ्न खोजेको देखिए त्यसले मुलुकलाई हित नगर्ने उनको भनाइ छ।

‘महाविपत्तिबाट सामाजिक पुनर्स्थापनातिर सबै निकाय र व्यक्तिको सहकार्यबाट अगाडि बढ्नुपर्छ। सरकारको कमजोरी पालिका र प्रदेश सरकारसँग समन्वयमा पनि देखिएको छ। त्यो भ्रमबाट सरकार मुक्त हुनुपर्छ। उहाँहरूलाई पाखा लगाएर संघीय सरकार एक्लै अगाडि बढ्न सक्दैन,’ उनले भने।

प्रदेश र स्थानीय तहसँग संघीय सरकारले समन्वय नगरे विकासमा समेत असर पर्ने उनले बताए।

‘प्रदेश सरकार र स्थानीय तहलाई संघले बेवास्ता गर्दै अगाडि बढे मुलुकलाई हित गर्दैन। यसले विकास पनि गर्दैन। त्यो अवस्था रहे फेरि अर्को बाटो आउन सक्छ। सरकार अरू निकायसँग पनि समन्वयमा रहनुपर्छ,’ चाम्लिङले भने।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ७ : १४ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान