बागलुङ– बाढीले थातथलो बगाएपछि पर्वतको फोर्सेवासीलाई न दसैँले छोयो, न तिहारको रौनक छ । गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीले उक्त ठाउँ बगरमा परिणत छ ।
पर्वतको जलजला गाउँपालिका–८ मा पर्ने फोर्से बजारका ७५ घर–टहरा बाढीले बगाएपछि सयौँ नागरिक घरबारविहीन बनेका छन् । उच्च जोखिममा रहेका २७ घरका स्थानीय घर मर्मत गरेर बस्न थालेका छन् ।
बाढीले घर बगाएपछि बजारमाथि टेन्टमा बस्दै आएका पीडित चिसो बढेपछि आफन्त र कोठा भाडामा लिएर सर्न थालेका छन् । बाढीबाट यहाँका करिब ३ सय जना प्रभावित भएका थिए ।
प्रभावितलाई अस्थायी रुपमा टेन्टमा राखिएको थियो । अहिले घरविहीन भएका सरकारको सहयोगको आशमा छन् । सामान्य क्षति पुगेको घरमा मर्मत गरेर बसेका स्थानीय रातिमा निदाउन सक्दैनन् । कतिबेला बाढी आएर बगाउँछ कि भन्ने त्रास उनीहरूमा छ ।
केही पीडित दसैँअगावै टेन्ट छोडेर गएका थिए भने केहीले दसैँपछाडि छोडे । बाढीले घर बगाएपछि आफन्तकहाँ आश्रय लिँदै आएका टीकाराम क्षेत्रीले घरसँगै भाडाकुँडा, लत्ता कपडासहित सबै सामान बगाएको सुनाए ।
बाढीलगत्तै दसैँतिहार आएको भन्दै पैसा नहुँदा बच्चालाई मीठोमसिनो खुवाउन र नयाँ कपडा किनिदिन नसकेको उनले दुःखेसो पोखे । ‘घरसँगै हाम्रो सबै सम्पत्ति बाढीले बगायो । अहिले आफन्तको घरमा सिंगो परिवार नै बसेका छौँ,’ क्षेत्रीले भने, ‘दसैँ आयो, गयो । फेरि तिहार आयो । साना छोराछोरी छन् । उनीहरुले राम्रो लगाउने, मिठो खाने भन्छन् । पैसा छैन कहाँबाट लिएर उनीहरुलाई मिठो खुवाउने ? नयाँ लुगा किनिदिने ? निकै पीडा भयो ।’
अर्का बाढीपीडित चन्द्रा कुमारी फगामी मगरले टेन्टमा बस्दा जाडोले बिरामी परेपछि बजारको एक घरमा कोठा भाडामा लिएको सुनाइन् । घरको आधाभन्दा बढी भाग बाढीले बगाएपछि घर बस्नै नमिल्ने अवस्थामा रहेको उनको भनाइ छ । विभिन्न संघसंस्थाले दिएको खानेकुरा खाइरहेको भन्दै कपडासमेत घरबाट निकाल्न नपाएको फगामीले बताइन् । ‘अब कहाँ बस्ने ? कहाँ जाने ? भएको यही घर थियो । त्यही पनि बाढीले बगाइदियो । हाम्रो त एक टुक्रा जमिन पनि छैन,’ उनले भनिन् ।
सरकारले बस्ने घर बनाइदिए अरू केही नचाहिने उनले बताइन् । ‘सरकारले बस्नलाई सानो–सानो घर बनाइदिए हामीलाई केही चाहिने थिएन । बुढेसकाल लाग्यो, काम गर्न पनि सकिँदैन । यस्तो बेला बाढीले बेघरबार बनायो,’ उनले सुनाइन् ।
बाढीपीडित रामप्रसाद सुवेदीले अहिलेसम्म सरकारबाट कुनै सहयोग प्राप्त नभएको गुनासो गरे । व्यक्ति र संस्थाबाट राहत पाएको उनले बताए । बाढीले सयौँ स्थानीयको बिचल्ली हुँदा पनि राज्य मुकदर्शक बनेको उनको भनाइ छ । पीडितको दीर्घकालीन व्यवस्थापन हुनुपर्ने उनको माग छ । बाढीले पुरानो बजारको आधाभन्दा बढी क्षेत्र बगाएको उनले सुनाए ।
















तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी














प्रतिक्रिया