काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गरिब र निमुखाप्रति निर्मम बनेको बताएका छन्। उनले सरकारको कार्यशैलीले धनीहरूप्रति वफादार र गरिबप्रति निर्मम व्यवहार गरिरहेको देखिएको टिप्पणी गर्दै यही अवस्था कायम रहे नयाँ राजनीतिक विकल्प अर्थात् ‘थर्ड पोल’ निर्माणको बाटोमा जानुपर्ने बताएका छन्।
जेन-जी आन्दोलन भएको एक वर्ष पुगेका अवसरमा खबरहबसँग कुरा गर्दै ढुङ्गानाले वर्तमान सरकारले आन्दोलनका अपेक्षाअनुसार काम गर्न नसकेको बताए। यद्यपि, सरकारलाई केही समय कुर्ने पक्षमा आफूहरू रहेको उनले स्पष्ट पारे।
‘के पायौँ भन्दा नयाँ सरकार पायौँ, त्यो छँदैछ। तर नयाँ सरकारबाट जति हामीले अपेक्षा राखेका थियौँ, पूरा हुन सकेका छैनन्। के पाउन बाँकी छ भन्दा धेरै पाउन बाँकी छ। हामीले कति पनि पाएका छैनौँ। यो देशमा गरी खाने अवस्था छैन,’ उनले भने।
उनका अनुसार ओली नेतृत्वको अघिल्लो सरकारभन्दा नयाँ सरकार धेरै बलियो र जनअपेक्षाअनुसार काम गर्ने सरकार बन्ने अपेक्षा थियो। तर जनजीविकाको अवस्थामा उल्लेख्य सुधार आउन नसकेको उनको भनाइ छ।
‘पुरानो सरकारभन्दा नयाँ सरकार कयौँ गुना बलियो र जनअपेक्षाअनुसारको होला भन्ने आशा थियो तर त्यो पूरा हुन सकेको छैन। हाम्रो जनजीविकामा के सुधार भएको छ ? लगभग अवस्था उस्तै छ। हामीले जति परिकल्पना गरेका थियौँ यो आन्दोलनपूर्व, त्यो आउन बाँकी नै छ,’ उनले भने।
ढुङ्गानाले वर्तमान सरकार नयाँ शक्तिका रूपमा उदाएकाले जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताए। तर सरकारले त्यसअनुसार काम गर्न नसके देशलाई नयाँ उपाय र बाटो आवश्यक पर्ने उनको भनाइ छ।
‘उहाँहरू नयाँ शक्ति भएर उदाउनुभएको छ। उहाँहरूले गर्नुपर्छ भन्ने चाहना हो। तर त्यो अनुसार भइरहेको छैन। उहाँहरूले गर्न नसके देशलाई एउटा नयाँ उपाय र बाटो चाहिन्छ। उहाँहरूले गर्न नसके हामी थर्ड पोल निर्माणमा लागिरहेका छौँ। तर केही समय उहाँहरूलाई कुर्छौँ,’ उनले भने।
‘जनतालाई झुलाएर राख्ने पक्षमा छैनौँ’
ढुङ्गानाले सरकारलाई अनिश्चित समयसम्म कुर्न नसकिने संकेत गर्दै जनताका समस्या सम्बोधन गर्न तत्काल काम थाल्नुपर्ने बताए।
‘हामी जनतालाई झुलाएर राख्ने पक्षमा छैनौँ। सबै कुरा सुधार गर्नुपर्नेछ। देश समग्र रूपमा सबै ठाउँमा विकास हुनुपर्यो। देशमा उद्यम गर्ने अवस्था पनि राज्यले सुनिश्चित गर्नुपर्ने हो तर यहाँ उल्टै करको दर र दायरा बढिरहेको छ,’ उनले भने।
उनले सरकारलाई जनताको अवस्था बुझेर नीति तथा कार्यक्रम बनाउन सुझाव दिए। विशेषगरी गरिब र निमुखा वर्गको उत्थानमा सरकार केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
‘खास सुझाव, जनतालाई सरकारले अलिक बुझ्न खोज्नुपर्यो। यो देशमा सबै हुने-खाने वर्गका मात्रै छैनन्। गरिब-निमुखा धेरै छन्। त्यो हुँदा गरिब-निमुखाको उत्थान गर्ने नीति र कार्यक्रम चाहियो। देशमा गरी खान पाउने अवस्था चाहियो,’ उनले भने।
‘नातावाद-कृपावादलाई सरकारको संरक्षण’
ढुङ्गानाले वर्तमान सरकारमाथि नातावाद र कृपावादलाई संरक्षण गरेको आरोपसमेत लगाए। सरकार परिवर्तन भए पनि जनताले महसुस गर्ने गरी अवस्था परिवर्तन हुन नसकेको उनको भनाइ छ।
‘नातावाद-कृपावादलाई सरकारले संरक्षण गरिरहेको छ। पहिलाभन्दा के फेरियो त भन्ने प्रश्न आइरहेको छ। त्यहीअनुसार यो कुरा जनभावना बुझेर सरकार अगाडि बढ्नुपर्छ,’ उनले भने।
ढुङ्गाना २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका अगुवामध्ये एक हुन्। आन्दोलन आह्वान गर्नेमध्येका एक भए पनि आन्दोलन हिंसात्मक बन्ने अवस्था आएपछि आफू पन्छिएको उनको भनाइ छ।
भदौ २३ र २४ गते माइतीघर मण्डललगायतका क्षेत्रमा भएको आन्दोलनका क्रममा उनी प्रत्यक्ष रूपमा सडकमा देखिएका थिएनन्। आन्दोलनका क्रममा आफूलाई धम्की आएपछि भूमिगत हुनुपरेको उनले त्यसबेला बताएका थिए। अहिले पनि उनी वालेन्द्र शाह नेतृत्वको सरकारका कटु आलोचकका रूपमा परिचित छन्।
जेन-जी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार हुँदै फागुन २१ गतेको निर्वाचनपछि वालेन्द्र शाह नेतृत्वको सरकार बनेको हो।
जेन-जी आन्दोलनको पृष्ठभूमिमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको छ। तर आन्दोलनका अगुवाहरू भने वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्ट हुँदै गएका छन्।
ढुङ्गानाले भने सरकारलाई केही समय काम गर्ने अवसर दिनुपर्ने भए पनि जनअपेक्षा पूरा गर्न नसके वैकल्पिक राजनीतिक शक्तिको बाटोमा अघि बढ्ने संकेत गरेका छन्।












प्रतिक्रिया