नयाँदिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यले श्रीलङ्काको तीनदिने औपचारिक भ्रमण सुरु गरेका छन् ।
भ्रमणका क्रममा सिंहले श्रीलङ्काली नेतृत्वसँग द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल गर्ने छन्। उनले कोलम्बोस्थित भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
सिंहले श्रीलङ्का भारतको ‘छिमेकी पहिले’ नीति तथा ‘महासागर’ पहलअन्तर्गत महत्वपूर्ण साझेदार रहेको बताएका छन् । भारतीय रक्षा मन्त्रालयका अनुसार भ्रमणले दीर्घकालीन तथा पारस्परिक हितका क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तार गर्न योगदान पुर्याउनेछ।
सन् २०२५ मा श्रीलङ्कामा आएको चक्रवात दिटवाहपछि उत्पन्न संकटका क्रममा भारतले श्रीलङ्कालाई सहयोग गरेको थियो। भारतले सडक, रेल, पुल, आवास, स्वास्थ्य, शिक्षा, कृषि तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा पुनर्निर्माणका लागि ४५ करोड अमेरिकी डलर बराबरको सहयोग प्याकेजसमेत घोषणा गरेको थियो।
राजनाथ सिंहको भ्रमणलाई दुई देशबीच भइरहेको उच्चस्तरीय रक्षा आदानप्रदानको निरन्तरताका रूपमा हेरिएको छ। गत अगस्टमा श्रीलङ्काली नौसेना कमान्डर भाइस एडमिरल डामियन फर्नान्डोले भारत भ्रमण गरी भारतीय रक्षा तथा नौसैनिक अधिकारीसँग रक्षा सहकार्य, संयुक्त सैन्य तालिम तथा समुद्री सुरक्षालगायत विषयमा छलफल गरेका थिए ।
भारत र श्रीलङ्काले हिन्द महासागर क्षेत्रमा शान्ति, सुरक्षा तथा स्थिरता कायम गर्न रक्षा र समुद्री सुरक्षा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याउँदै आएका छन्। सिंहको पछिल्लो भ्रमणले दुई देशबीचको रणनीतिक तथा सुरक्षा साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।












प्रतिक्रिया