मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली « Khabarhub

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन तथा विद्युत् रिडिङमा सुधारलगायतका कारण चुहावट घट्दै गएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो दुई महिनामा गत आर्थिक वर्ष २०८२–८३ को सोही अवधिको तुलनामा विद्युत् चुहावट १ दशमलव ६१ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको साउन र भदौमा २२ दशमलव ५६ प्रतिशत विद्युत् चुहावट भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा २० दशमलव ९५ प्रतिशतमा झरेको हो ।

चालु आर्थिक वर्षको साउनमा २० दशमलव ०९ प्रतिशत र भदौमा २१ दशमलव ७६ प्रतिशत विद्युत् चुहावट भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको साउनमा २५ दशमलव ६७ प्रतिशत र भदौमा २३ दशमलव ५२ प्रतिशत चुहावट भएको थियो ।

सबैभन्दा कम बाराको सिमरा वितरण केन्द्रमा २ दशमलव ९४ प्रतिशत चुहावट भएको छ भने सबैभन्दा बढी रौतहटको मौलापुर वितरण केन्द्रमा ४७ दशमलव ७७ प्रतिशत विद्युत् चुहावट भएको प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर शम्भु कुसियैतले जानकारी दिए ।

प्रमुख कुसियैतका अनुसार विद्युत् चुहावटका दृष्टिले रौतहटको मौलापुर र गौर क्षेत्र तथा सर्लाहीको मलङ्गवालगायत क्षेत्रमा समस्या बढी देखिएको छ । औद्योगिक ग्राहकको सङ्ख्या धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रमा भने विद्युत् चुहावट तुलनात्मक रूपमा कम रहेको उनले बताए ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विद्युत् महसुल नतिर्ने आठ हजार ७८२ ग्राहकको लाइन काटिएको छ । लाइन काटिएकामध्ये आठ हजार २३४ ग्राहकले पुनः विद्युत् जडान गराएका छन् । उनीहरूबाट २० करोड नौ लाख ७७ हजार बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ ।

मिटर लिएर विद्युत् उपभोग गर्ने तर लामो समयसम्म महसुल नतिर्ने प्रवृत्ति बढेकाले लाइन काट्ने अभियान सञ्चालन गरिएको प्रमुख कुसियैतले बताए । गत आर्थिक वर्षमा ४२ हजार ६६४ ग्राहकको लाइन काट्दा एक अर्ब ४७ लाख बक्यौता असुल भएको थियो ।

मधेस प्रदेशमा ५९ प्रतिशत औद्योगिक र ३१ प्रतिशत घरेलु ग्राहक रहेको प्राधिकरणले जनाएको छ । मधेस प्रदेशका ९९ दशमलव ९९ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको र बाँकी क्षेत्रमासमेत निरन्तर विद्युत् जडानको काम भइरहेको प्रमुख कुसियैतले बताए । मधेस प्रदेशका जिल्लामा करिब १० प्रतिशत सिँचाइको विद्युतीकरण भएको जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  १० : ०० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको