काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको ५१३ औँ सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको निर्णय अनुसार साधारण शेयरधनीहरुका लागि चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ (कर प्रयोजनका लागि समेत) नगद लाभांश वितरण गरिनेछ । यस आर्थिक वर्षका लागि बैंकले बोनस शेयर भने नदिने जनाएको छ ।
यसैगरी, बैंकले ८.२५ प्रतिशत एनएमबि अविमोच्य असञ्चित अग्राधिकार शेयरतर्फ चुक्ता पूँजीको ८.२५ प्रतिशतका दरले हुन आउने १२ करोड २० लाख ५५ हजार ९९४ रुपैयाँ ५२ पैसा (कर प्रयोजनका लागि समेत) नगद लाभांश समानुपातिक रुपमा प्रदान गर्ने निर्णय गरेको छ ।
हाल एनएमबि बैंकको साधारण शेयरतर्फको चुक्ता पूँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार २१७ रुपैयाँ २० पैसा रहेको छ भने अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी ३ अर्ब रहेको छ ।














प्रतिक्रिया