परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।

अस्ट्रेलियाको मेलबर्नमा आज भएको उक्त द्विपक्षीय भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा दुवै मन्त्रीले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका थिए । 

लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान तथा जनस्तरको सुदृढ सम्बन्धमा आधारित दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा उनीहरूले जोड दिए ।

सो अवसरमा अस्ट्रेलियाका विदेशमन्त्री वङले नेपालमा हालै गएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुनःनिर्माणका प्रयासमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताए ।

मन्त्री वङले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा गरे । यसअघि अस्ट्रेलियाले आपतकालीन प्रतिकार्यका लागि प्रतिबद्ध गरेको ११ मिलियन अस्ट्रेलियन डलर सहयोगमा उक्त रकम थप हुनेछ । नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभ कार्यमा केन्द्रित रहने बताइएको छ ।

मन्त्री खनालले विपद्को समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त शीघ्र तथा उदार मानवीय सहयोगप्रति हार्दिक आभार व्यक्त गरे ।

संकटका समयमा प्राप्त यस्तो ऐक्यबद्धताले नेपाल र अस्ट्रेलियाबीचको दीर्घकालीन सद्भाव तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रतिबिम्बित गरेको उनले बताए ।

भेटवार्तामा जलवायु परिवर्तनबाट नेपाल र प्रशान्त क्षेत्रका मुलुकमा परेको साझा जोखिमका विषयमा पनि छलफल भएको थियो ।

मन्त्री खनालले अन्तरराष्ट्रिय तहमा अस्ट्रेलियाको नेतृत्वदायी भूमिकाको उपयोग गर्दै, विशेषगरी आगामी कोप–३१ को सन्दर्भमा, हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असमान र गम्भीर प्रभावलाई विश्वसामु थप प्रभावकारी रूपमा उजागर गर्न आग्रह गरे ।

मन्त्री खनालले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण तथा विपद् तयारी र जलवायु–उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा नेपाल–अस्ट्रेलिया सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

यसैगरी दुई मन्त्रीबीच शैक्षिक सहकार्य विस्तारका विषयमा पनि छलफल भएको थियो । नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (टीभीईटी) संस्था स्थापना गर्ने तथा अस्ट्रेलियाका विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा स्थापना गर्ने विषयमा पहल अघि बढाउने सम्भावनाबारे विचार आदानप्रदान भएको थियो ।

मन्त्री खनालले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज तथा अर्थतन्त्रमा नेपाली विद्यार्थी र नेपाली डायस्पोराले पुर्‍याउँदै आएको योगदानबारे उल्लेख गर्दै हालैका विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनका क्रममा वास्तविक तथा योग्य नेपाली विद्यार्थीका लागि अनुकूल र न्यायोचित व्यवस्था गर्न आग्रह गरे । 

भेटवार्तामा नेपाल–अस्ट्रेलिया आर्थिक साझेदारीलाई थप विस्तार गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो ।

व्यापार तथा प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन प्रवर्द्धन र श्रम गतिशीलतालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल भएको थियो ।

त्यसैगरी, नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत दुई पक्षबीच कुराकानी भएको थियो । प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

अस्ट्रेलियाका विदेशमन्त्री वङले नेपालसँगको साझेदारीलाई आगामी दिनमा थप सुदृढ गर्न अस्ट्रेलिया प्रतिबद्ध रहेको बताउँदै प्राथमिकताका क्षेत्रमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 

दुवै पक्षले उच्चस्तरीय नियमित आदानप्रदानलाई निरन्तरता दिने तथा भेटवार्तामा भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न निकट सहकार्य गर्ने सहमति जनाएका छन् ।

दुई देशका जनताको पारस्परिक हितमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ र बहुआयामिक बनाउने विषयमा समेत दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् । रासस
 

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ११ : १९ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै