काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले झापा–१ का महाधिवेशन प्रतिनिधिहरूसँग छलफल गरेका छन्।
बिहीबार बिहान भएको छलफलमा शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई ढुक्क भएर आफ्नो विवेक प्रयोग गरी मतदान गर्न आग्रह गरे। उनले कांग्रेसमा अब कुनै गुट वा पक्ष नरहेको दाबी गरे।
‘कांग्रेस एक भइसकेको छ। यो या त्यो पक्ष भन्ने छैन। आफ्नो विवेक प्रयोग गरेर मत हाल्नुहोस्,’ शर्माले भने।
उनले स्वस्थ प्रतिस्पर्धाका लागि सबै महाधिवेशन प्रतिनिधिलाई स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुने वातावरण बनाइएको बताए।
‘स्वस्थ प्रतिस्पर्धा हुने बाटो बनेको छ। सबै महाधिवेशन प्रतिनिधिलाई स्वतन्त्र ढंगले निर्वाचन लड्न दिइएको छ। अहिले गुट भन्ने कहीँ देखिएको छैन,’ शर्माले भने।
शर्माले छलफलका क्रममा महाधिवेशनप्रति स्थानीय प्रतिनिधिहरूको धारणा समेत बुझेका थिए। उनले कुनै पक्षका नाममा चिर्कटो बाँड्न नपाइने र प्यानलसमेत बनाउन नपाइने जानकारी गराए।
कांग्रेसको १५औँ महाधिवेशनबाट शर्मासहित वरिष्ठ उपसभापति पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ। बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुँदैछ।














प्रतिक्रिया