बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू) « Khabarhub

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल र चीनबीचको स्थल व्यापार चाडपर्वको मुखमा ठप्प बनेको छ ।

गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले भन्सार, सडकसहित सबै संरचना ध्वस्त बनाएपछि रसुवागढी नाका बन्द भएको थियो । त्यसपछि पहिरोको जोखिम देखाएर सिन्धुपाल्चोकको तातोपानी नाकामा चीनले आयात–निर्यात रोक्यो । 

काठमाडौँबाट दूरीको हिसाबले नजिक पर्ने दुवै नाका बन्द भएपछि व्यापारीले मुस्ताङको कोरला नाका प्रयोग गर्न थालेका थिए । 

तर, असोज ९ देखि ११ सम्मको भारी वर्षाले बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा पहिरो खसेकाले यो नाकाबाट पनि आयात–निर्यात बन्द छ । कोरला नाका हुँदै नेपाल प्रवेश गरेका करिब दुई सय कन्टेनर र सयौँ विद्युतीय गाडी मुस्ताङमै फसेका छन् ।

चीनतर्फका नाका बन्द हुँदा तीज, दसैँ–तिहार र जाडोका कपडा आयातमा असर परेको छ । चीनबाट आयात व्यापारमा संलग्न व्यवसायीको संस्था एकता व्यापार संघ नेपालका अध्यक्ष तेजप्रसाद आचार्य बजारमा आउनुपर्ने सामान आउन नसकेको र त्यसले बजारमा महँगीको अवस्था सिर्जना गरेको बताउँछन् । 

नियमित ल्याइनेभन्दा फरक नाका प्रयोग गर्नुपरेको, गाडी भाडा र लगानी बढेकाले महँगी बढ्ने उनको भनाइ छ । ‘हिजो ७५ हजार तिर्ने गाडी भाडा फरकफरक नाका घुमाउँदा–घुमाउँदै ५ लाखसम्म पुगेको अवस्था छ । ३ महिना लगाएर ल्याएको सामानको लगानी, ब्याज त्यसैमा जोडिने हो । व्यापारीले घाटा खाएर बेच्ने कुरा हुँदैन,’ उनले भने ।

तीज र दसैँका लागि गरिएको लगानी खेर गएको उनको जिकिर छ । ‘तीज र दसैँलाई भनेर लगानी गरेको पुँजी त्यहीँ (नाकामै) रह्यो । अहिले जाडोको सामान ल्याउनुपर्ने बेलामा बाटो ठप्प भएको अवस्था छ,’ उनले थपे, ‘उत्तरी नाकाबाट सामान आउँदा १५ दिनसम्म लाग्छ । अब भारतबाट आउने सामान हालेर सम्भावना छैन । जाडोको कपडा नै अभाव हुने अवस्था छ ।’

नाका बन्द हुँदा त्यसलाई खुलाउन राज्यले देखाउनुपर्ने तदारुकता, पहलकदमी र कूटनीतिक पहल हुनुपर्ने ठाउँमा हुन नसकेको उनको गुनासो छ । ‘बजारमा नयाँ सामान आउनुपर्ने हो । त्यो आएको देखिँदैन । बाटाघाटा बन्द भएको अवस्था छ । 

राज्यले देखाउनुपर्ने तदारुकता, पहलकदमी हुनुपर्ने ठाउँमा हुन सकेको छैन,’ उनले भने । नाका बन्द हुनु भनेको व्यवसायीलाई मात्र नभई राज्यलाई पनि घाटाको विषय भएकाले खोल्न सक्रिय हुनुपर्ने उनले बताए ।

अर्का व्यवसायी राजकुमार श्रेष्ठले पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष सामान कम आएको र व्यापार पनि कम भइरहेको सुनाए । 

आउनुपर्ने सामान नआएको, नियमित आयात हुने नाका बन्द भएकाले अन्य नाका प्रयोग गर्नुपर्दा यातायात खर्च बढेर सामान महँगो भएको उनको अनुभव छ । बाहिर मान्छे देखिएपनि पसलमा त्यसअनुसारको व्यापार नरहेको उनले दाबी गरे ।

नेपालमा तयारी पोसाकको ८० प्रतिशत व्यापार हिस्सा चीनले ओगटेको छ । विद्युतीय सवारीसहित अन्य सामानमा पनि चीन नै ठूलो आयातको स्रोत हो । 

तर, चीनसँगको व्यापार ठप्प बनेपछि दसैँको मुखमा अत्यावश्यक सामानमा भारतको भर पर्नुपर्ने अवस्था छ । नियमित आयात हुनेभन्दा अन्य स्रोतबाट सामान ल्याउनुपर्दा यसले सर–सामानको बजारभाउ आकासिने सम्भावना अधिक छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ४ : ४७ बजे

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

काठमाडाैं – मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप

मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

जनकपुर – मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री

इरानद्वारा बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान – इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

बाँके – प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज