काठमाडौँ– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सेना प्रमुख तथा विपक्षी नेता गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन् ।
गत साता सम्पन्न चुनावमा आइजेनकोटको गठबन्धन र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कसैले पनि १२० सदस्यीय इजरायली संसद् (नेसेट) मा स्पष्ट बहुमत ल्याउन नसकेपछि राष्ट्रपति आइज्याक हर्जोगले राजनीतिक दलहरूसँगको छलफलपछि उक्त जिम्मेवारी दिएका हुन् ।
आइजेनकोटले नयाँ सरकार गठनका लागि २८ दिनको समय पाएका छन् । उक्त समयमा सरकार गठन हुन नसके उनलाई थप १४ दिनको समय दिन सकिने बीबीले जनाएको छ ।
सरकार गठनको जिम्मेवारी पाएसँगै आइजनकोटले समाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले राष्ट्रिय संकटकालीन सरकार गठन गर्ने समय हो। हामी योग्य छौँ भन्ने कुरा सुनिश्चित गर्न म सबै प्रयास गर्नेछु ।’
नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टी र उसका कट्टर दक्षिणपन्थी तथा अति अर्थोडक्स यहुदी सहयोगीहरूले १२० मध्ये ५३ सिट जितेका छन् भने, आइजनकोटको मध्यमार्गी यासार पार्टी र उनको गठबन्धनका अन्य तीन यहुदी विपक्षी दलहरूले ४८ सिट जितेका छन्।
यसैगरी, दुई अरब नेतृत्वका गठबन्धनहरू- युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्टले अरब मतदाताहरूको उच्च सहभागिताका कारण १९ सिट जितेका छन्।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुसार राष्ट्रपति हर्जोगले साताभरि सबै दलहरूसँग परामर्श गरेपछि आइजेनकोटलाई सरकार गठनको पहिलो अवसर दिने निर्णय गरेका हुन् ।
नवनिर्वाचित संसद् सदस्यहरूका प्रतिनिधिमण्डलसँगको परामर्शपछि आइजेनकोटले प्रधानमन्त्रीका लागि ६७ जनाको र नेतान्याहुले ४६ जनाको समर्थन (सिफारिस) प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपतिसँग गठबन्धन बनाउन सक्ने बलियो सम्भावना भएको व्यक्तिलाई छनोट गर्ने अधिकार छ र उनले सबैभन्दा बढी सिट जित्ने दलको नेतालाई नै रोज्नुपर्छ भन्ने अनिवार्य छैन।
इजरायलमा हालसम्म कुनै पनि राजनीतिक दलले एक्लै स्पष्ट बहुमत ल्याउन सकेका छैनन्, जसका कारण त्यहाँका सबै सरकारहरू गठबन्धन नै हुँदै आएका छन्।














प्रतिक्रिया