काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेका छन् । ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो १ बजेर ४० मिनेटदेखि ब्युरोभित्रै छन् ।
शिवाकोटीले कानून व्यवसायीलाई सँगै लैजान चाहे पनि प्रहरीले कानुन व्यवसायीलाई प्रवेशमा रोक लगाएको छ । शिवाकोटीले दुई घण्टादेखि आफू साइबर ब्युरोमै रहेको र सोधपुछको काम भइरहेको बताए ।
साइबर ब्युरोले नेता शिवाकोटीलाई पत्रकार रोशन खड्काको उजुरीका आधारमा सोधपुछ गर्न बोलाएको हो । दुवैसँग छुट्टाछुट्टै सोधपुछ भएको ब्युरो स्रोतले बताएको छ ।
स्रोतका अनुसार सहमतिको प्रयास भइरहेको छ । शिवाकोटीले प्रतिपक्ष दलको नेताका हैसियतमा सरकारले गरेका कामका बारेमा प्रश्न उठाउँदै आएका छन् । सो क्रममा पत्रकार खड्का पनि जोडिएपछि उनले साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

शिवाकोटीले सामाजिक सञ्जालमा खड्काका कुरा किन पत्याउनु भन्दै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नहरूको सरकारले जिम्मेवार ढंगले जवाफ देओस् भनी लेखेका थिए ।
शिवाकोटीले सामाजिक सञ्जालमार्फत नै सरकारले विधि विधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन् ।
उनले बिचौली भनिएका इनम सापकोटा र प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनका बारेमासमेत पनि स्पष्ट पारेका छन् ।
यसअघि उनलाई गत साता नै साइबर ब्युरोले खोजेको थियो । उनी धार्मिक यात्रामा भारतमा रहेका बेलामासमेत उनलाई साइबर ब्युरोले खोजेको तर सम्पर्क नभएपछि साथीहरूमार्फत उनले ब्युरोले खोजेको खबर पाएका थिए ।
त्यसलगत्तै उनी कार्यक्रम छोट्याएर गत बिहीबार नै काठमाडौँ फर्केका थिए । यसको जानकारी सर्वत्र भए पनि प्रहरीले कुनै सम्पर्क गरेन । तर चाडबाडका बेलामा लक्ष्मी पूजा गर्ने बेलामा साइबर ब्युरोले कार्यालयमा बोलाएको हो ।

















प्रतिक्रिया