जय बागेश्वरीका ७५ वटा घरलाई मौलिक स्वरूपमा रूपान्तरण गरिँदै, लागत ९ करोड रुपैयाँ « Khabarhub

जय बागेश्वरीका ७५ वटा घरलाई मौलिक स्वरूपमा रूपान्तरण गरिँदै, लागत ९ करोड रुपैयाँ


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका वडा नं. ८ जयबागेश्वरी क्षेत्रका ७५ वटा भवनहरूलाई मौलिक स्वरूपमा रूपान्तरण गर्न लागिएको छ । 

यसका लागि बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर ९ करोड ४ लाख ८९ हजार ३७७ रुपियाँमा सम्झौता भइसकेको छ । यसको लागत अनुमान १० करोड ९० लाख ५७ हजार ९४४ रुपैयाँ थियो । 

यस योजनाअन्तर्गत जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको २९० मिटर सडक दायाँबायाँ रहेका घरहरूको सडकतर्फको मोहडालाई रूपान्तरण गरेर मल्लकालीन वा राणाकालीन शैलीको स्वरूप प्रदान गरिनेछ ।    

स्वामित्वका हिसाबले व्यक्ति वा संस्था जसको भए पनि इतिहासको निश्चित समयावधिमा काठमाडौँ उपत्यकाभित्र विकास भएका वास्तु शैलीलाई परम्परागत मानिएको छ । 

यसमा  मल्लकालदेखि राणा कालसम्मका संरचना पर्छन् । वडा ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्, ‘मल्लकालीन शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानो जस्ता भाग महत्त्वपूर्ण हुन्छन् । घरको गारोमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन् । छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको घर मल्लकालीन घरको डिजाइन हो । आधुनिक बनेको संरचनालाई हामीले यही शैली फिर्ता गर्न लागेका हौँ ।’ 

यस सडकसँग करिब २५० घर परिवार जोडिएका छन् । तीमध्ये सडक वा खुला ठाउँबाट देखिने घरको अगाडिको भागको स्वरूप परिवर्तन गर्न लागिएको संगतको भनाइ छ । 

यी घरहरूसँग यही सडक खण्डभित्र सेतो ढोका (टुयु ध्वाखा), ढोकासिंह नरसिंह फल्चा, ताम्रेश्वर फल्चा, ताम्रेश्वर महादेव मन्दिर, मन्दिर परिसरमा परम्परागत इनार, ढोका छेँ फल्चा, बच्छलेश्वरी डवली फल्चा, मूर्ति सहितको गम्ती महादेव मन्दिर, मन्दिर परिसरमा परम्परागत इनारसहित धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका संरचनाहरू छन् ।

वुद्ध चैत्य, ग्वलःदे फल्चा, ग्वलःदे डवली, स्थान गणेश, नास द्यः छेँ, लुक महाद्यः, कुमारी द्यः दुद्ध स्तुप, रामलंका फल्चा, नवग्रह मूर्ति, मठा फल्चा, मृत्युञ्जय महादेव, व्रह्मा मन्दिर, नरसिंह भगवान मन्दिर, नवदूर्गा फल्चा, नवदूर्गा डवली, जयबागेश्वरी मन्दिर, सुन्धारालगायत स्थानीय जनजीवन, आस्था र श्रद्धासँग जोडिएका मूर्त सम्पदा छन् । 

मचातिं जात्रा (त्रिशूल जात्रा) निकाल्ने फल्चा, धन्वन्तरी मन्दिर, उमामहेश्वर मन्दिर, श्रीकृष्ण मन्दिर, सूर्यनारायण मन्दिर, इन्द्रेश्वर महादेव, यही परिसरमा परम्परागत इनार, तलेजु भवानी मन्दिर, अष्टमातृका मन्दिर, नित्यनाथ मन्दिर, तुपेक भैरव र गणेश, निर्माणेश्वर महादेव मन्दिर यस क्षेत्रका मानिसहरूको जीवन पद्धतिसँग सम्बन्ध राख्ने सम्पदा हुन् । 

नवदूर्गा नाच, १२ बर्षे हरिसिद्धि नाच, त्रिशूल जात्रा, बच्छलेश्वरी जात्रा, श्रीकृष्ण जात्रा, गाईजात्रा, खड्गजात्रा, रोपाइँजात्रा, यलाँ पर्व, गुंला पर्व यही ठाउँबाट सञ्चालन हुन्छ ।

देशोद्वार पूजा, कुमाःमचा (कुमार र कुमारी पूजा), बालाचतुर्दशीमा सतवीज छर्ने कामको प्रारम्भ यहीँबाट हुन्छ । पाशुपत क्षेत्रमा हुने धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु यस स्थानमा ल्याउने चलन छ । यस क्षेत्रमा बसोबार गर्ने संगत र महर्जनहरु बसाइँ सरेर अन्यत्र जहाँ पुगेपछि ब्रतबन्धका लागि स्थान गणेशमा अनिवार्य आउनु पर्ने परम्परा रहेको वडाध्यक्ष संगतले जानकारी दिए । 

ग्वल देः कान्तिपुरको छुट्टै देश थियो । यसको विशेषता भनेको तान्त्रिक विधि र प्राचीनतामा ९ अङ्कको प्रयोग हो । ग्वलः क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्तिपीठ, ९ वटा पाटीपौवा, ९ वटा डवली, ९ वटा टोल र ९ थरी जात छन् ।

यस क्षेत्रको प्राचीनतालाई निरन्तरता दिनका लागि ९ वटा परम्परागत सि गुठि खल छन् । यी गुठिहरुले परम्परागत बाजा बजाउन सिकाउने, संस्कार चलाउने र युवाहरुलाई संस्कारका विधि सिकाउने गर्छन् । यस्तै डवली तथा फल्चामा दाफा भजन गाउने गर्छन् । 

यो लिच्छवीकालीन सहर हो । यही प्राचीनतालाई कायम राखेर मौलिक स्वरूप पुस्तान्तरण गर्नु योजनाको मुख्य उद्देश्य हो । यस क्रममा वडाले करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको यःपुखु (मनपर्ने पोखरी) पुनःनिर्माण गर्दैछ । 

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्वका परम्परागत शैलीका निजी तथा संस्थागत स्वामित्वका भवनहरूको स्वरूपलाई कायम राख्न कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

मौलिक शैलीका भवनहरुको मर्मत सम्भार गर्ने क्रममा स्वरूप र शैलीमा आएको परिवर्तनलाई सुधार गरेर पुरानै शैली दृश्यात्मक अवस्थिति निर्माण गर्नु यसबाट प्राप्त गर्ने नतिजा हो ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १२ : ०६ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने