सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्रयाक्टर « Khabarhub

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्रयाक्टर


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गोरखा– केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुल्ला गर्‍यो । एक वर्षदेखि बन्द रहेको नाका खुल्ला हुनासाथ छेकम्पारका बासिन्दा सरसामान किन्न तिब्बती बजार स्याक पुगे । त्यही टोलीमा थिए छेकम गाउँका दोर्जे लामा । 

त्यहाँ उनले तिब्बती गाउँबस्तीका बासिन्दाको दिनचर्या नियाले। सबैजना यातायातका साधन प्रयोग गरेको देखेर उनी प्रभावित थिए।

‘तिब्बत जाँदा त्यहाँ मान्छेहरू घाँस काट्न जान परे पनि, गोठमा जाँदा पनि, बाहिर फेर जताततै हिँड्दा पनि बाइक वा स्कुटर चलाएर हिँडेको देखेँ । उताको जमिन र हाम्रो छेकम्पारको जमिन उस्तै त हो, डाँडाकाँडा, भिर पखेरा । यता पनि कसो नचल्ला त भनेर विचार गरेँ’, दोर्जेले भने, ‘पसलमा गएर भाउ सोधेको एक लाखमा बिजुलीबाट चार्ज गर्न मिल्ने स्कुटर आउँदो रहेछ । अनि जसो होला होला, विचार गर्नुपर्‍यो भनेर एउटा किनेर ल्याएको हुँ ।’

स्याकसम्म सडक भए पनि छेकम्पारसम्म स्कुटर ल्याउन सडक थिएन । न त उनलाई स्कुटर चलाउने सीप नै थियो । मान्छे, खच्चड, याक, चौँरी मात्र जसोतसो हिँड्न मिल्ने बाटोमा स्कुटर ल्याउन पनि उनले धेरै नै मेहनत गर्नुपर्‍यो  ।

‘उता (तिब्बत)बाट आउँदा उकालोमा हामी चार–पाँच जनाले बोक्यौँ, सजिलो बाटोमा कतै डोहोर्‍याउँदै, कतै एकजना चढ्ने, अरुले समात्ने गर्दै ल्याइपुर्‍यायौँ’, उनले भने, ‘ल्याउँदा ल्याउँदै बाटोमै स्कुटर चलाउन जान्ने भइयो ।’

हिमालपारि छेकम्पारमा यसरी स्कुटर चलाउने लामा पहिलो व्यक्ति भएका छन् । अचेल उनी स्कुटर हाकेर गाउँघर डुल्ने गर्छन्। सडक सञ्जालले नछोएको र अझै दशौँ वर्ष सडक पुग्ने कल्पना नगरिएको चुमनुब्री–७ छेकम्पारको साँघुरो गल्लीमा दोर्जे चीनबाट ल्याएको स्कुटर हाँकेर हिँड्ने गर्छन्।  

घोडा चढेर गाउँघर, वनजङ्गल आवतजावत गर्ने छेकम्पारबासीकाबीच दोर्जे विद्युतीय स्कुटरमा सवार भएको देख्दा स्थानीवासी पनि प्रभावित छन् ।

‘अहिले त मेरो मात्रै छ । सबैजनाले हामी पनि चढ्छौँ नि भनेर मागेर हैरान पार्छन् । चलाउन जान्दैनन् । बिर्गादिन्छन् झैँ लाग्छ’, दोर्जे भन्छन् ‘अब आउँदो साल त अरुले पनि स्कुटर किन्ने भनेका छन् । अब गाउँमा सिँडी नबनाउने बरु स्कुटर चढ्ने सडक बनाउने निर्णय भइसक्यो ।’

छेकम्पारकै लामा गाउँका पासाङ फुन्जो लामाले भने विगत एक दशकअघि गाउँमा ट्रयाक्टर भित्र्याएका थिए । लामा चुमनुब्री–७ का निवर्तमान वडाअध्यक्ष पनि हुन। सडकले नछोएको छेकम्पारमा लामाले भूकम्पपछि २०७२ सालमा १८ लाख पर्ने ट्रयाक्टर रु ३४ लाख भाडा तिरेर हेलिकाप्टरमार्फत गाउँमा ल्याउनुभएको थियो । ट्र्याक्टरका लागि आवश्यक पर्ने इन्धन भने उनले आरुघाटको आर्खेतबाट खच्चडमार्फत ल्याउने गर्छन्। 

पासाङको ट्र्याक्टरमा निर्माण सामग्री ढुवानी गरी लामा गाउँमा गुम्बा र विद्यालय निर्माण भएका छन् । ट्रयाक्टर भने स्थानीय साम्डु लामाले चलाउने गरेका छन् । 

ट्र्याक्टर छेकम्पारको उकालोओरालोमा सजिलै आवतजावत गर्ने गरेको पासाङको भनाइ छ ।

उनले भने, ‘यसबाट खासै आम्दानी त हुँदैन तर यहाँ पूर्वाधार निर्माणका काममा निकै सजिलो भएको छ ।’

छेकम्पारसम्म सडक आउला र नजिकका गाउँबस्तीमा पनि सजिलै ट्र्याक्टरमा सामान ढुवानी गर्न पाउँला भन्ने अपेक्षा पासाङफुन्जोलगायत सम्पूर्ण छेकम्पारवासीको छ । 
 

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १ : १९ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका