विशेष अधिवेशन पक्षधर युवाहरुको आक्रोश- ‘पार्टी फुटाउने होइन, कुर्सी हल्लाउने हो’ « Khabarhub

विशेष अधिवेशन पक्षधर युवाहरुको आक्रोश- ‘पार्टी फुटाउने होइन, कुर्सी हल्लाउने हो’



काठमाडौं- लोकतान्त्रिक अभ्यासमा आफूलाई अब्बल मान्दै आएको नेपाली कांग्रेस यतिबेला अन्तरद्वन्द्वमा फसेको छ । पुसमा हुनुपर्ने १५ औँ महाधिवेशन वैशाखलाई सारिएपछि पार्टीभित्रै कलह सुरु भएको हो । कांग्रेस संस्थापन पक्षले समय अभावको कारण देखाउँदै चुनावपछि मात्रै महाधिवेशन गर्ने बताएको छ ।

महाधिवेशनमा लाग्दा निर्वाचनका लागि गर्नुपर्ने तयारी नपुग्ने भन्दै संस्थापन पक्ष तत्कालको लागि महाअधिवेशन धकेल्ने प्रयासमा छ । विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालयमै उपसभापति विमलेन्द्र निधिमाथि दुर्व्यवहार गरे । त्यसलगत्तै निधि पक्षधरले महामन्त्रीद्वयविरुद्ध ‘मुर्दावाद’ को नारा लगाए । नियमित र विशेष महाधिवेशनको द्वन्द्वले कांग्रेस फुट्ने त होइन भन्ने शंका यतिबेला उब्जिएको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा महाधिवेशन नगरी चुनावमा जान नहुने बताउँछन् । जेन–जी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन मिति तोकिदिएको छ । महामन्त्री गगनले आफू विष पिउने, पार्टी नफुटाउने लाइनमा रहेको प्रष्टीकरण दिएका छन् । साथै, अर्का महामन्त्री विश्वप्रकाशले पार्टी फुट्ने अवस्था आए हलबाट सबैभन्दा पहिले आफू बाहिरिने बताएका छन् ।

विधान अनुसार ४० प्रतिशत हस्ताक्षरमार्फत माग भएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । त्यसैअनुरुप ५४ प्रतिशतको हस्ताक्षरसहित असोज २९ गते केन्द्रीय कार्यालयमा निवेदन पुगिसकेको छ । पार्टीको केन्द्रीय कार्यालयबारे धारा २७ (१) ले कार्यालय महामन्त्रीको मातहत रहने, रेखदेख र सञ्चालन गर्ने भनिएको छ । यसलाई टेकेर महामन्त्रीद्वयले विशेष महाधिवेशनको आह्वान गरेका हुन् ।

महामन्त्रीद्वयले विधानको व्यवस्था पालना गर्न विशेष महाधिवेशन गर्न लागिएको बताएका छन् । तर केन्द्रीय कार्यसमितिले यसलाई अवैधानिक भनेको छ । संस्थापनकोनिर्देशनमा केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्रै निहित रहेको भन्दै चेतावनीयुक्त विज्ञप्ति जारी गरेको छ  ।

महामन्त्रीद्वयको आह्वान र केन्द्रीय कार्यसमितिको चेतावनीले कांग्रेसभित्रको शक्ति संघर्ष टकराव उन्मुख बनेको छ । यसले कांग्रेस एकताको बाटोमा फर्किन्छ कि विभाजनतर्फ अघि बढ्छ भन्ने प्रश्न उठेको छ ।

एकथरि विशेष महाधिवेशन प्रयोजनको लागि गरिएको हस्ताक्षर फिर्ता लिने क्रममा पनि छन् । तर पुस २७-२८ गते भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनको लागि देशैभरबाट नेता तथा कार्यकर्ता काठमाडौं भित्रिन थालिसकेका छन् । विशेष महाधिवेशन पक्षधर जिल्ला–जिल्लाबाट विज्ञप्ति निकालिरहेका छन् । सामाजिक सञ्जालबाट समेत भेलाका लागि आह्वान गरिरहेका छन् ।

पत्रकार महासंघ पूर्वकार्यवाहक अध्यक्ष बाला अधिकारीले कांग्रेस एक्लै चुनावमा लड्न सक्नेगरी जुट्नुपर्ने भन्दै विशेष महाधिवेशनमा जुट्न सबैलाई आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्, ‘फाड्ने होइन, दम्भ र अंहकार तोड्न । एक्लै चुनाव लड्न सक्नेगरी कांग्रेसलाई जोड्न २६ गते काठमाडौं जाऔँ ।’

नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य विना बोगटीले विशेष महाधिवेशन विकल्प नभएर आवश्यकता भएको उल्लेख गरेकी छिन् । उनी लेख्छिन्, ‘अबको नेपाली कांग्रेस दृष्टिले र निर्णयले चल्नुपर्छ । नेपाली कांग्रेसको विशेष महाधिवेशन विकल्प होइन आवश्यकता हो ।’

कांग्रेस समर्थक मोहित पौडेलले पार्टी फुट्ने डर देखाएर प्रश्न गर्ने नसकिने गरी चुप गराइएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘पार्टी फुट्ने डर देखाएर असल प्रश्नहरू चुप गराइँदैछन् । वास्तवमा डर पार्टी फुट्ने होइन, कुर्सी हल्लिने हो । बहुमतलाई विवेकको विकल्प ठानियो । आलोचनालाई अनुशासनको अपराध बनाइयो । आरोपहरूलाई ‘अफवाह’ भनेर ढाकियो र युवाको आक्रोशलाई असभ्य ठहराइयो । यही संस्कृतिलाई जोगाउने नाममा एकताको भाषण धेरै भयो तर सुधार शब्द असहज बनाइयो । बोल्न नसक्ने मौनता पनि दोष हो । गलतसँग बस्ने समझदारी पनि अपराध हो । विशेष महाधिवेशन कुनै सनक होइन । यो त गलत प्रवृत्तिले आफैँ जन्माएको परिणाम हो । म फुट होइन, शुद्धीकरण चाहन्छु । म व्यक्तिको होइन, भविष्यको पक्षमा छु । विशेष महाधिवेशन अब अपरिहार्य । परिवर्तन अब रोकिन्न ।’

त्यसैगरी नेपाल विद्यार्थी संघ पूर्व महासचिव भीमसेन गुरुङले समयमै महाधिवेशन नगर्दा आगामी हुने चुनावमा कांग्रेसलाई असर हुने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको पुस २७-२८ को विशेष महाधिवेशन महत्वपूर्ण मानिनुको मुख्य कारण पार्टी विधानले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन अनिवार्य गर्नुपर्ने व्यवस्था गर्नु हो ।

नियमित महाधिवेशन समयमै हुन नसक्दा यो प्रक्रिया प्रभावित भए पनि महाधिवेशनले आन्तरिक लोकतन्त्र बलियो बनाउने, नेतृत्व पुनःछनोट गर्ने र समयअनुसार नीति नविकरण गर्ने अवसर दिन्छ । जसले पार्टीलाई पुनर्जीवित र संगठित बनाउन मद्दत गर्छ । समयमै महाधिवेशन नहुँदा पार्टीभित्र नेतृत्व विवाद, असन्तोष र एकता संकट गहिरिने जोखिम बढ्छ । जसको प्रत्यक्ष असर आगामी आउने चुनावमा र जनताको नेपाली कांग्रेसप्रतिको विश्वासमा पर्ने देखिन्छ ।

त्यसैले विशेष महाधिवेशनले यसलाई विधान पालन, पार्टीमा आमूल सुधार र नयाँ ऊर्जा प्रवेश गराउने माध्यमका रूपमा अघि सारेका छ । ताकि कांग्रेस पुनः एकढिक्का, बलियो र देशकै प्रमुख राजनीतिक शक्तिका रूपमा उभिन सकोस् । नेपाली कांग्रेस नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक नेतृत्वकर्ता भएकाले यसको कमजोर अवस्था लोकतान्त्रिक राजनीतिक सन्तुलनका लागि चुनौतीपूर्ण संकेत बन्न सक्छ ।

बलियो कांग्रेसले मात्र स्वस्थ प्रतिस्पर्धा, स्थिर लोकतान्त्रिक अभ्यास, प्रतिपक्ष–सत्ता बीच सन्तुलन र राष्ट्रिय मुद्दामा प्रभावकारी भूमिका खेल्न सक्छ भन्ने मान्यता छ । त्यसैले महाधिवेशनमा सहभागिता केवल कुनै समूहको कार्यक्रम नभई यो रुपान्तरण, पुस्ताहस्तान्तरण, लोकतन्त्रको रक्षा, संगठनको पुनर्निर्माण र कांग्रेसलाई देशकै एक नम्बरपार्टी बनाउने सामूहिक अभियानको महत्वपूर्ण कडी हो । त्यसैले सम्पूर्ण अवरोध, बाधा, समस्या अनि डरधम्की चिर्दै उच्च मनोबलका साथ सशक्त अनि जनमुखी पार्टी बनाउने महान विचारका साथ आउन अनुरोधका साथै सम्पूर्णमा राजधानीमा स्वागत गर्दछौ ।’

यसैक्रममा कांग्रेस विशेष महाधिवेशन आयोजक समिति अन्तर्गत नवयुवा (जेन–जी) परिचालन उपसमितिद्वारा आज (बिहीबार) ‘ऐतिहासिक दोस्रो विशेष महाधिवेशन’ र अबको कांग्रेस कार्यक्रम समेत गरेको छ । समग्रमा कांग्रेसी युवाहरु विशेष महाधिवेशनको पक्षमा देखिएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : १० बजे

कृष्ण सिटौलालाई प्रश्न- पार्टी जोगाउनलाई के गर्नुहुन्छ ? 

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको

डा. यसोदा रिजाललाई दुई महिनाका लागि निलम्बन गर्ने मेडिकल काउन्सिलको निर्णय 

काठमाडौं– अदालतबाट झुटा चिकित्सकीय प्रमाण बनाएको अभियोगमा दोषी ठहर भइसकेकी

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको

आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन

काठमाडौं– आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि

सञ्जय दत्तले गरे पशुपतिनाथ दर्शन, आजै स्वदेश फर्किने

काठमाडौं–  बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन्