काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते हुन लागेको संसदीय निर्वाचनका सबै सिटमा जित्ने दाबी गरेका छन् ।
गृहजिल्ला चितवनमा बिहीबार आयोजित रास्वपाको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले आगामी चुनावमा कुनै दलसँग गठबन्धन नगर्ने घोषणा गरे ।
लामिछानेले उक्त निर्वाचनमा रास्वपाले देशका सबै क्षेत्रमा एकसेएक सक्षम उम्मेदवार उठाउने बताए । उनले सबै क्षेत्रमा जित हासिल गर्ने दाबी पनि सम्बोधनका क्रममा गरे ।
‘सभापति र अध्यक्ष एक एकवटा गर्दै कार्यकाल बाँड्दै, दुइटा कुर्सी छेउमा राख्ने युगलाई अन्त्य गर्छौँ’, उनले भने, ‘एउटा पार्टीले अर्को पार्टीका लागि भोट माग्ने युगको अन्त्य गर्ने हो । चुनावअगाडि गठबन्धनको नाममा ठगबन्धनले राज्यसत्ता हत्याउने अभियानलाई बन्द गर्ने हो ।’
उनले राष्ट्रको आवश्यकता अनुसार यस पटक उम्मेदवार छान्नमा गल्ती नगरे रास्वपाले एक सिट नहार्ने बताए । सहकारी ठगी प्रकरणमा बिगो बुझाएर नख्खु जेलबाट रिहा भएयता लामिछानेको दोस्रो पटक चितवनमा पुगेर सम्बोधन गरेका हुन् । उनले आफूलाई चुनावकेन्द्रित गराउँदै लगेका छन् ।













प्रतिक्रिया