दमौली अस्पताल स्तरोन्नति गर्न जग्गा प्राप्ति « Khabarhub

दमौली अस्पताल स्तरोन्नति गर्न जग्गा प्राप्ति


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा प्राप्ति गरेको छ ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निावरण मन्त्रालयको गत कात्तिक २६ मा भएको निर्णयअनुसार जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको सात रोपनी जग्गा अस्पताललाई उपयोग गर्न दिइएको हो ।

मालपोत कार्यालयले माघ १९ गते प्रदेश अस्पताल दमौलीलाई जग्गा उपयोगको प्रमाणपत्र उपलब्ध गराएको मालपोत प्रमुख राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार जिल्ला समन्वय समितिको नाममा रहेको पाँच रोपनी, कृषि विकास कार्यालयको नाममा रहेको दुई रोपनी र भेटेरीनरी अस्पतालको नाममा रहेको एक रोपनी जग्गा अस्पताललाई उपलब्ध गराइएको हो ।

जग्गा उपयोग गर्न दिइएपछि केही शर्तहरु राखिएको छ । पौडेलका अनुसार उपयोग गर्न दिइएको जग्गा अतिक्रमण हुन नपाउनेगरी उचित संरक्षण र संवर्द्धन गर्नुपर्ने छ ।

त्यस्तै उपयोग गर्न दिइएको जग्गा नाफामूलक तथा व्यापारिक कार्यमा प्रयोग गर्न वा कुनै व्यक्ति वा निकायलाई प्रयोग गर्न दिन वा भाडामा दिन नपाइने पौडेलले बताए ।

जुन प्रयोजनका लागि माग गरिएको हो सोही प्रयोजनमा मात्र उपयोग गर्नुपर्ने, उद्देश्यअनुरुपको कार्यमा प्रयोग नगरेमा पूर्वाधारसहितका जग्गा नेपाल सरकारले लिनसक्ने उनले बताए ।

जग्गा प्राप्ति नहुँदा स्तरोन्नति रोकिएको अस्पतालको अब स्तरोन्नति हुने निश्चित भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्लेले बताए । गण्डकी प्रदेश सरकारले अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिसकेको छ । उक्त निर्णयसँगै अस्पतालमा आठ जना विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत भएको छ ।

२०३४ सालमा स्वास्थ्यचौकीका रूपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।

अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयू कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायतका सेवा विस्तार भइसकेको छ ।

साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलाइसिस सेवासमेत प्रदान गर्दै आइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले आर्थिक वर्ष २०८१–८२ मा एक लाख सात हजार ९८३ जना, आव २०८०–८१ मा ९८ हजार ३५६ सेवा लिएका थिए । यस्तै आव २०७९–८० मा ७३ हजार २५३ र आव २०७८–७९ मा ६४ हजार ५९४ जनालाई सेवा दिएको थियो ।

जिपी अस्पतालमा विशेषज्ञ चिकित्सक थप
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा नौ जना विशेषज्ञ चिकित्सक थप भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सक थप गरेको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठका अनुसार केन्द्रमा छात्रवृत्तिका चिकित्सक थप भएसँगै सेवा प्रवाहमा सहजता छ । अरु आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीहरू थप गरी केन्द्रबाट प्रदान हुने सेवा विस्तार गरिनेछ ।

अस्पतालमा मिर्गौला बिरामीका लागि दुई सिफ्टमा डायलाइसिस विस्तार गरिएको छ । आकस्मिक, शल्यक्रिया, स्त्रीरोग, नाक, कान, घाँटीसम्बन्धी शल्यक्रिया सुरु गर्ने लक्ष्य लिइएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘इन्कोस्कोपी सेवा सुरु भइसकेको छ भने ब्रोन्कोस्पोपी सेवा सञ्चालन गर्न लागेका छौँ । केन्द्रको मुख्य भवनमा लिफ्ट जडानका लागि बजेट प्राप्त भएको छ । लिफ्ट जडानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ ।’

अस्पताललाई ३०० शय्यामा विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले २०६७ सालमा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व २०७५ सालमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।

हाल उपचार केन्द्रका नाममा ७४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् ।

उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ । जनतालाई सहज रूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको डा श्रेष्ठले बताए ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी, भीमाद नगरपालिका, म्याग्दे, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, कल्चर सेवा, ओपिडी सेवा, चौबिसै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, भिडियो एक्सरे सेवा, समान्य शल्यक्रिया लगायतका सेवा प्रदान गरिरहेको छ । (रासस)

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १० : ०८ बजे

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने क्रम

फेरि बढ्यो सुनको मूल्य : तोलाको तीन लाख पाँच सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि

हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ

आजदेखि देशभरका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं– सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको