एमालेले प्रधानमन्त्रीकै प्रस्ताव गरे पनि चुनावी गठबन्धन गर्दैनौँ : गुरू घिमिरे « Khabarhub

अन्तर्वार्ता

एमालेले प्रधानमन्त्रीकै प्रस्ताव गरे पनि चुनावी गठबन्धन गर्दैनौँ : गुरू घिमिरे

सके आफ्नै बलबुतामा सरकार, नसके प्रतिपक्ष



काठमाडौं- नेपाली कंग्रेसको विशेष महाधिवेशनपछि महामन्त्री बनेका गुरुराज घिमिरे बौद्धिक नेताको रुपमा चिनिन्छन् । सभापति गगन थापानिकट उनी मोरङ-४ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । २०७९ को निर्वाचनमा कांग्रेसकै सहयोगमा लोकतान्त्रिक वाम गठबन्धनबाट यस क्षेत्रबाट अमनलाल मोदीले जितेका थिए । अहिले त्यस क्षेत्रमा नेकपाका मोदीसहित एमालेका जीवन घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वपत्रकार सन्तोष राजवंशी प्रत्यासी छन् ।

सरसर्ती हेर्दा कांग्रेस महामन्त्री घिमिरेलाई नेकपा र एमालेले चुनौती दिने देखिन्छ । तर, उनी आफ्नै पार्टीका मतदाता बढी रहेकाले निर्वाचन जित्ने दाबी गरिरहेका छन् । विराटनगर महानगरपालिकाको सहरी क्षेत्र १, २, ३, ८, १० र १९ क्षेत्र नम्बर ४ मा पर्छ । मूल शहरै निर्वाचन क्षेत्र ४ पर्ने भएकाले कोइराला निवास पनि त्यहीँ पर्छ । यो सहरी क्षेत्रमा मात्रै ५० हजार मतदाता छन् ।

हेभिवेट नेता भएकाले महामन्त्री घिमिरेलाई चुनाव जित्नुपर्ने चुनौती छ । उनी आफ्नो क्षेत्रमा सचेत मतदाता भएकाले पुरानो पार्टीको नयाँ उम्मेदवारलाई जिताइछाड्ने दाबी गर्छन् । हामीले घिमिरेसँग कांग्रेसको आगामी योजना, घोषणापत्र, गठबन्धन, निर्वाचनबाट कांग्रेसको आकार, पूर्वपदाधिकारी र सभापति थापाको नेतृत्व, मोरङ-४ को राजनीतिक अवस्था लगायतका प्रश्नहरूको जवाफ मागेका छौं । प्रस्तुत छ घिमिरेसँगको कुराकानीको सम्पादित अंश :

यहाँ त मोरङ ४ को उम्मेदवार हुनुहुन्छ । कस्तो छ त्यहाँको अवस्था ?

मोरङ-४ सचेत मतदाता बस्ने ठाउँ हो । अहिले देखिएको चुनावी प्रतिस्पर्धामा बिल्कुल नयाँ उम्मेदवारमा म पर्छु । पुरानो पार्टीको नयाँ उम्मेदवार भएकाले यहाँका जनताले मप्रति ठूलो भरोसा राख्नुभएको छ । मोरङ-४ मैले लामो समय काम गरेको थलो हो । फागुन ४ गतेपछाडि हुने चुनावी प्रचारप्रसारको आन्तरिक तयारीमा लाग्दा जनता एकदमै उत्साहित हुनुहुन्छ । जेन-जी विद्रोहपछि हामीले पार्टीलाई रूपान्तरण गरेका छौँ, अरुले सकेनन् ।

यहाँको मुख्य प्रतिस्पर्धी को हो ? आफू कहाँ छु जस्तो लाग्छ ?

जो निर्वाचनको मैदानमा छन्, ती सबै मुख्य प्रतिस्पर्धी हुन् । कसैलाई प्राथमिक कसैलाई माध्यमिक कसैलाई के भनेर मैले विभाजन गरेको छैन । कोही मुख्य प्रतिस्पर्धी, कोही कमजोर प्रतिस्पर्धी भन्ने छैन । सबैले चुनाव लड्नुभएको छ, सबै प्रतिस्पर्धी हो ।

योबाट चाहिँ म असुरक्षित छु है भन्ने पनि हुन्छ नि ?

त्यस्तो छैन, किनभने अगाडिको निर्वाचनमा पनि अमनलालजीले कांग्रेसकै सहयोगमा जित्नुभएको हो । परम्परागत पार्टी एमाले हाम्रो प्रतिस्पर्धी हो । नयाँले पनि आफ्नो काम गरिराखेकै छन् । त्यसैले सबैलाई मैले समान दृष्टिले हेरेको छु । सबै मेरा प्रतिस्पर्धी हुन् ।

उसो भए जितिन्छ ?

मलाई त उच्च आत्मविश्वास छ । मैले विजय सुनिश्चित देखेको छु । म नयाँ उम्मेदवार र युवा भएकाले मैले आफ्नो योग्यता प्रदर्शन गर्न पाएको छैन । विगतमा प्रदेशमा लडेको थिएँ । यसपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेकाले नयाँपन मसँग छ । जनताको भरोसा पनि मसँगै छ ।

थोरै पार्टीको कुरा गरौंँ । यहाँहरू पार्टीका पूर्वसभापति, पूर्वशीर्ष नेता लगायतको साथबिना विशेष महाधिवेशन गरेर निर्वाचनमा होमिँदै हुनुहुन्छ । तपाईंहरुलाई यसपटक पार्टीको आन्तरिक चुनौती छ नि होइन ?

सबैभन्दा ठूलो कुरा अहिले कांग्रेसलाई सग्लो रुपमा १६५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएर हिँडेका छौँ । कांग्रेसलाई आफ्नो मौलिक धरातलमा उभ्याउँदैछौँ । ०७९ मा हामी ९१ ठाउँमा मात्र निर्वाचन लडेका थियौँ । त्यसमा ८९ जित हासिल गर्‍यौँ । पाँचवटा शक्ति निर्वाचन लडेर निकालेको परिणाम र एक्लै निकालेको परिणाम अलग हुन्छ ।

अहिले हामीलाई आत्मविश्वास के छ भने २०७९ को निर्वाचनभन्दा गतिलो परिणाम निकाल्छौँ । पार्टीभित्रको विवादलाई महाधिवेशनले टुङ्गो लगाइसकेकाले यसलाई थप बढाउनुपर्ने आवश्यकता छैन । पार्टीको नेतृत्व परिवर्तनलाई निर्वाचनको नतिजासँग जोड्ने कुराको खास तार्किक आधार देखिँदैन । एक्लै निर्वाचनमा पुगेका छौँ । हाम्रो एक जना उम्मेदवार अहिलेसम्म सर्वसम्मत भइसक्नुभएको छ । हामीले त खाता पनि खोलिसक्यौँ । संसद्मा हाम्रो एक सिट कायम भइसक्यो।

नेतृत्व परिवर्तन गरेपछि यहाँले कांग्रेस थप शक्तिशाली भयो भन्नुभयो । तर, देशव्यापी रुपमा तपाईहरूप्रति त्यस्तो लहर देखिएन । तपाईंहरू र सभापति पनि देश दौडाहामा निस्किन सक्नुभएको छैन । नयाँहरू दौडिएर प्रधानमन्त्री हुने भइयो भनिसके त।

निर्वाचन भनेको तडकभडक, फेसन र रमाइलो होइन । नयाँ पार्टीका नयाँ नेता हुन खोज्नेलाई रमाइलो लागेको हुनसक्छ । उनीहरूको परीक्षण हुन बाँकी छ र विश्वसनीयता पनि स्थापित भइसकेको छैन । प्राप्त गरेको जिम्मेवारी छोडेर अर्को जिम्मेवारीमा आउन फड्को मारिरहेका छन् ।

के थाहा भोलिको दिनमा त्यो जिम्मेवारी पनि उनीहरुले छोड्न सक्छन् ? मनोगत चाहना र इच्छाअनुसार राजनीति चल्दैन । जनभावना अनुसार राजनीति चल्छ । जनता के चाहन्छन् जनतालाई सुख समृद्धि कसरी दिने भन्ने कुरामा उहाँहरूको चासो नभएर आफू कसरी पपुलर हुने भन्नेमा चासो छ । उहाँहरुले अहिलेसम्म गर्नुभएको गतिविधिको वस्तुनिष्ठ समीक्षा भइरहेको छ । तडकभडक देखाएर मात्रै भएन नि त ! देशलाई कहाँ लाने कसरी लाने भन्ने निश्चित रोडम्याप चाहियो ।

उसो भए तपाईंहरू फागुन ४ पछाडि मात्रै देश दौडाहामा निस्किने हो ?

अहिले साथीहरूले देशभरि आउनुपर्‍यो, घुम्नुपर्‍यो भनिरहनु भएको छ । फागुन ४ पछि त हामी निस्किने स्वाभाविक कुरा हो । निर्वाचन आचारसंहिता लगायतले पनि हामी अहिले निस्किँदैनौँ । नयाँहरू ‘म पनि छु है, म पनि हुँ है’ भनेर हिँडिरहनु भएको होला । हामीले म पनि छु, म पनि हुँ भनेर हिँडिरहनुपर्ने आवश्यकता छैन । हामी ३०/३५ वर्षदेखि नै म पनि हुँ भनेर युवापुस्ता उठेका हौँ । उहाँहरु भर्खरै प्रकट हुनुभएको हो । हामीले विभिन्न आन्दोलनहरु समेत झेलिसकेका छौँ ।

फागुन ४ पछि कांग्रेस सभापतिसहित महामन्त्रीहरू पनि निस्किने हो ?

हामी आलोपालो निस्कने तयारीमा छौँ । आज हाम्रो कार्यसमितिको बैठकमा पनि यसबारे छलफल भएको छ । सभापतिजी २६ गते विराटनगरमा कोशी प्रदेशस्तरीय भेलामा आउँदै हुनुहुन्छ । बृहत सभाचाहिँ हामीले जनकपुरमा फागुन ७ मा गर्दैछौँ । देशभरिका कार्यक्रमहरू तयार हुँदैछन् । हामी महामन्त्रीलगायत पदाधिकारीलाई पनि व्यक्तिगत रूपले नेताहरूले बोलाइरहनुभएको छ । विभिन्न ठाउँका उम्मेदवारहरूले डाकिरहनु भएको छ । आफ्नो अनुकूलता अनुसार पुग्छौँ । खास गतिविधि चाहिँ हाम्रो ४ गतेपछि नै सुरु हुन्छ ।

तपाईंहरूको पहिलो सभाचाहिँ जनकपुरबाटै हुने हो ?

अरूले कहाँबाट गरे भन्ने कुरामा हामीले ध्यान दिएर जनकपुरमा गर्न लागेको होइन । हाम्रो पहिलेदेखिको सेड्युल जनकपुरमा पहिलोपटक सभा गर्ने थियो । सभापतिज्यू पनि सर्लाहीबाट उम्मेदवार भएकाले हामी मधेसलाई पहिलो शक्ति बनाउन र त्यहाँका विगतदेखिका समस्या समाधान गर्न विशेष सन्देश दिन चाहन्छौँ । यो निर्वाचनका लागि पहिलो बृहत सभा जनकपुरबाट हुँदैछ।

यहाँहरूले घोषणापत्रको काम कहाँ पुर्‍याउनुभयो ? कहिले सार्वजनिक हुन्छ ?

घोषणापत्रको काम जारी छ । आज बसेको कार्यसम्पादन समितिको बैठकमा पनि त्यसबारे छलफल भएको छ । मोटामोटी घोषणापत्रको तयारी भइसक्यो, चाँडै सार्वजनिक गर्ने योजनामा छौँ । फागुन ४ अगाडि नै सार्वजनिक गर्छौं ।

घोषणापत्रमा कस्ता कुरा समेट्नुभएको छ ?

हामीले घोषणापत्रलाई संक्षेप र बुलेटमा प्रस्तुत गर्दैछौँ । प्राथमिकताहरू तोकिएर मात्रै सार्वजनिक गर्छौँ । १५ मिनेटभित्र मतदाताले घोषणापत्र पढिसकेर विश्वसनीय आधार तयार गर्न सक्छन् । लामो खण्डकाव्य जस्तो बुकमा आउँदैन, बुलेट र संक्षेपमा तयार पारिरहेका छौँ ।

हामीले शिक्षा, स्वास्थ्य रोजगारी लगायत विषय प्राथमिकताका साथ समेटेका छौँ । विदेशिनुपर्ने युवाहरूको बाध्यतालाई के गरेर हल गर्न सकिन्छ र नेपालमै स्वरोजगार बढाउन सकिन्छ भन्ने कुरामा जोड दिएका छौँ । गर्न नसक्ने काम घोषणापत्रमा छैनन्, गर्न सक्ने र हाम्रो सरकार एकल भएको खण्डमा पूरा गर्ने काम उल्लेख गरेका छौँ ।

घोषणापत्रमा लेखिदिने, पूरा नगर्ने चलन पनि छ । यसलाई फेरि निरन्तरता दिने सम्भावना कतिको छ ?

यहाँले भनेको कुराप्रति हामी यो पटक सजग छौँ । कतिपय कुराहरु पत्रमै मात्र सीमित हुने प्रचलन हाम्रो पार्टीमा विगतमा नरहेको होइन । तर, यो पटक हामीले गर्न सकिने र गर्न सक्ने कुराहरु मात्रै समेटेका छौँ । फोस्रा बाचाबन्धन र पूरा गर्ने सामर्थ्य नहुने किसिमको काम गर्दैनौँ ।

सीमित साधनस्रोत हामीसँग छ, त्यसलाई उपयोग गर्ने हो । मूलतः हाम्रो अर्थतन्त्रलाई बलियो नबनाइकन देश विकास र भौतिक विकासलाई अगाडि बढाउन सक्दैनौँ । यो कुरालाई दृष्टिगत गरेर गर्नसक्ने कामको फेरिस्त पनि प्रस्तुत गर्छौं । मलाई लाग्छ, यसपटकको घोषणापत्रबाट मतदाता सन्तुष्ट हुनुहुन्छ ।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू नै चुनावी अभियानमा नखटेको अवस्था छ । यो अवस्थाले मतदाताहरू अन्योलमा पर्दैनन् ?

उहाँहरू जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको नेता हो । यो पार्टीमा उहाँहरूको योगदान ठूलो छ । त्यसमा हामी र नयाँ पुस्ता आभारी पनि छ । शीर्ष नेताहरूले जिम्मेवारी बुझेर काम गरि नै रहनुभएको होला । उहाँहरूसँग हाम्रो विभिन्न कारणले बाक्लो संवाद हुन नसके पनि हामीले थाहा पाइरहेकै छौँ ।

उहाँहरुले आ-आफ्नो क्षेत्रका मतदातालाई सम्पर्क गरिरहनु भएको छ । किनभने हाम्रो १६५ वटा क्षेत्रमै उम्मेदवारहरू छन् । नेपाली कांग्रेसलाई यहाँसम्म ल्याउनु हुने पार्टीका शीर्ष नेता र पूर्वपदाधिकारीले पार्टीलाई सहयोग नगर्ने कुरा हुँदैन । उहाँहरूको साथ पार्टीलाई चाहिएकै छ । उहाँहरूलाई त्यो साथका लागि हामीले आग्रह गरिरहेकै छौँ । यसमा धेरै समस्या छैन ।

उहाँले साथ नदिने र सक्रिय रूपमा कांग्रेस जिताउन नलाग्ने भन्ने कुरा आइरहेका छन् के भन्नुहुन्छ ?

हामी हल्लाको पछि लाग्नुभएन । वास्तविकताको धरातलमा उभिएर कुरा गर्नुपर्छ । उहाँहरुले काम गरिरहनुभएको छ । मलाई लाग्छ उहाँहरूले आ-आफ्नो ठाउँमा र क्षेत्रमा बसेर काम गरिरहनुभएको छ।

जनकपुरकै सभामा पूर्वसभापति र पदाधिकारीहरू उपस्थित हुने सम्भावना कस्तो छ ?

केन्द्रीय कार्यालयले सबैलाई पत्राचार र सहभागी हुन आह्वान गर्छ । कार्यक्रममा बोलाउँछ । जिम्मेवारी दिन्छ । खटाउँछ । उहाँहरूको सुविधा अनुसार खट्नुहुन्छ र लाग्नुहुन्छ भन्ने हामीलाई विश्वास छ ।

यहाँहरुले पूर्वपदाधिकारी अथवा कार्यवाक सभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौलाका छोरा श्याम सिटौला, रमेश लेखक, प्रकाशमान सिंह लगायतलाई टिकटै दिनुभएन भन्ने असन्तुष्टि छ नि ?

राजनीतिमा वंशवाद चल्दैन । बाउछोरा भन्ने हुँदैन। क्षेत्रको अवस्था हेरेर र पार्टीका साथीहरूको भावना बुझेर टिकट दिइन्छ। टिकट मात्र दिएर हुन्न, उम्मेदवारले जित्नुपर्ने पनि हुन्छ। यदि विभेद भए उहाँहरूले अवसर पाउनु हुँदैनथ्यो। मैले आफूले लड्न नपाउँदा मेरो अनुकूलता अनुसार हुनुपर्छ भन्ने कुरा त्यति विवेकपूर्ण छैन । पूर्णबहादुर दाइको भाइ विष्णु खड्का आफैँ लड्दै हुनुहुन्छ । पूर्णबहादुर दाइले उम्मेदवार हुन खोज्नुभएन । आफूले इच्छाएको उम्मेदवारी दिन नपाउँदा असन्तुष्टि राख्नु स्वभाविक हो । पार्टी एक ढिक्का बनाउने हामी कोशिस गर्दैछौँ । हाम्रो दृष्टिमा र मूल्याङ्कनमा पार्टी एकढिक्कै छ ।

यहाँहरूको आँकलन कस्तो छ, निर्वाचनपछि सम्मानजनक सिट ल्याउन सक्नुहोला ?

हामी पहिलो पार्टी बन्छौँ । प्रत्यक्षमा १०० सिट नाघ्छ । समानुपातिकमा पनि त्यस्तै राम्रो सिट आउँछ । समानुपातिकमा पनि हाम्रो उल्लेखनीय मात्रामा मत बढ्दैछ । हामीलाई मतदाताले सबैभन्दा धेरै विश्वास गरेका छन् ।

विश्वास गर्नुको आधार के हो ?

पार्टीलाई रूपान्तरण गरेका छौँ । नेतृत्व परिवर्तन गरेका छौं । जनताले खोजेजस्तो र चाहेजस्तो नेतृत्व बनाएका छौँ । हामीले नेतृत्व परिवर्तन गरेर राम्रो सन्देश दिएका छौँ । यो पार्टीले देश र नेपाली जनतालाई प्राथमिकतामा राखेको छ । हामी हरेक कुरामा क्लियर र स्पष्ट छौँ ।

अर्को कुरा अहिले चुनावी तालमेल र गठबन्धनका कुरा पनि छन् । कांग्रेस यस विषयमा के कुरा गरिरहेको छ ?

यसपटक हामी माथिबाट र तलबाट कुनै रूपले गठबन्धन गर्दैनौँ । तालमेल र गठबन्धनको कुरै सकिएको छ । तालमेल गर्ने भए हामी उम्मेदवारीमै मिलाइहाल्ने थियौँ । कांग्रेस आफ्नै बलमा निर्वाचन लड्छ हामीलाई कुनै लोभ छैन ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले गगन थापालाई प्रधानमन्त्री बनाइदिन्छु भनेका दिन कांग्रेसले तालमेल गर्छ भन्ने पनि बाहिर चर्चा छ नि ?

चर्चा त विभिन्न किसिमले भइहाल्छ नि । तर हामी चुनावअगाडि कुनै पनि हिसाबले गठबन्धन गर्दैन भनेका थियौँ र गर्दैनौँ पनि। हाम्रा त्यस अनुसारै उहाँहरूलाई जिताउन अगाडि बढ्छ । गठबन्धनको बाटो हामी हिँड्दैनौँ भनिसकेका छौँ ।

प्रधानमन्त्रीको अफर गर्दा पनि गठबन्धन नगर्ने ?

हामी आफ्नै बलबुतामा सरकार बनाउँछौँ । सरकार बनाउने अवस्थामा हामी पुगेनौँ भने प्रतिपक्षमा बस्छौँ । हामी आफ्नै मौलिक धरातलमा उभिन्छौँ । मिसमासको राजनीति गर्दैनौँ । राष्ट्र हितका लागि लोकतन्त्र र देश संकटमा पर्‍यो भने हामी मिल्ने हो । अहिले त्यो अवस्था देखिँदैन । अहिले हामी स्वस्थ प्रतिस्पर्धा गर्छौँ ।

मैत्रीपूर्ण प्रतिस्पर्धा गरेर परिणामलाई स्वीकार गर्छौँ । जनताले हामीलाई जुन स्थानमा राख्छन्, त्यहाँनेर हामी बस्न तयार छौँ। एमाले अध्यक्ष ओलीलगायत अरुले पनि गगन दाइलाई प्रधानमन्त्रीकै अफर गर्दा पनि हामी निर्वाचन अगाडि गठबन्धन गर्ने पक्षमा छैनौँ ।

तर तालमेल नगरी गगन थापालाई प्रधानमन्त्री बनाउन सम्भव छ र ?

हामी मज्जाले बहुमत ल्याउन सक्छौँ । त्यो सम्भव छ भनेरै लागेका हौँ । जनमत हाम्रो पक्षमा छ नेपाली जनताले हामीलाई साथ दिन्छन् । निर्वाचनअगाडि कुनै पनि हिसाबले तालमेल अथवा गठबन्धन हुँदैन ।

निर्वाचनपछि चाहिँ तपाईहरूले गठबन्धनमार्फत् एमाले लगायत अरूसँग मिलेर सरकार बनाउने सम्भावना रहेछ है ?

निर्वाचनपछिको अलग कुरा हो । सकेसम्म हामी बहुमत ल्याएर एकल सरकार बनाउनमै अहिले ध्यान केन्द्रित गरेका छौँ । एक मन, एक चित्तको सरकार बन्छ । यदि भएन भने संसद्को अवस्था र पार्टीहरूको सिट अनुसार त्यसबेला सोच्ने कुरा हो । अहिले हामीले सोचेका छैनौँ ।

उसोभए आगामी निर्वाचनपछिको प्रधानमन्त्री गगन थापा, बालेन साह, केपी ओली वा पुष्पकमल दाहाल प्रचण्डमध्ये एक हो ?

दुईवटा नाम यसअगाडि प्रधानमन्त्री भइसकेका हुन् । यहाँले भनेको बालेन साह प्रधानमन्त्री हुने सम्भावना न्यून छ । विभिन्न आन्दोलनको नेतृत्व गरेको र साँच्चिकै जनताले खोजेको नेतृत्व गगन थापा हो । हेर्दै जानुहोला, निर्वाचनपछि गगन थापालाई नै नेपाली जनताले प्रधानमन्त्री बनाउँछन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ६ : ५३ बजे

रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ

मस्काे – रुसी वरिष्ठ सैन्य गुप्तचर अधिकारी भ्लादिमिर एलेक्सेयेभलाई मस्कोमा

जेन-जीका मुद्दा र मागहरूको समर्थन नेकपाबाहेक अरूले गर्दैनन : प्रचण्ड

काठमाडौं- संयुक्त जेन्जी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई

पन्ध्र सालदेखि ०७९ सम्मका घोषणा पत्रमा कसरी फेरिए कांग्रेसका एजेन्डा ?

काठमाडौं– ००७ सालमा प्रजातन्त्र स्थापना भएपछि ०१५ सालमा भएको पहिलो

रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ

मस्को– रुसी वरिष्ठ सैन्य गुप्तचर अधिकारी भ्लादिमिर एलेक्सेयेभलाई मस्कोमा गोली