गुडबाई आइकोनिक भिलेन – राते काइँला « Khabarhub

गुडबाई आइकोनिक भिलेन – राते काइँला


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्म गर्दागर्दै भौतिक शरीर अस्ताउनुलाई सुखद मरण मानिन्छ ।

यसैलाई आधार मान्ने हो भने वरिष्ठ कलाकार सुनील थापाको सुखद मरण भयो । शनिबार सबेरै उठेर फिल्म छायाङ्कनमा जाने भनेर शुक्रबार सुतेका सुनील उठेनन् । यो लोकबाट बिदा भए ।

जीवनलाई खेल मान्दा, उनको हकमा जन्म र मृत्यु बीचको खेलअवधि ६८ वसन्तको रहेछ । फाइनलसम्म उनले कतै कुनै मैदानमा रेड कार्ड खाएनन् ।

उनी व्यवसायिक जीवनको कालखण्डमा विभिन्न क्षेत्रमा देखिए- मोडलिङ, खेल, फोटोग्राफी र कलाकारिता ।

उनको हुर्काइ भारतमै भएको हो । व्यवसायिक जीवनको सुरुवात उनको उतै भएको पाइन्छ । यिनी अभिनय गर्ने मात्र होइन, यही विषयमा दीक्षित व्यक्तित्व हुन् । फिल्ममा आउनुअघि उनी मोडलिङ गर्थे ।

उनले भारतका क्लबबाट व्यवसायिक फुटबल पनि खेले । तर, उनले बढी नाम कमाएको भनेको नेपाली फिल्म क्षेत्रबाटै नै हो ।

सन् १९८१ मा उनले भारतीय फिल्म ‘एक दुजेके लिए’बाट व्यवसायिक कलाकारिता सुरु गरे । यो फिल्मबाट उनले राम्रै चर्चा पाएका थिए । सन् २०१४ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘मेरी कोम’मा उनले नायिका प्रियङ्का चोपडासँग सहकार्य गरेका थिए ।

उनको डेब्यू नेपाली फिल्म सन् १९८५ मा प्रदर्शनमा आएको ‘मसला’ हो । तर, सन् १९८९ मा प्रदर्शनमा आएको ‘चिनो’मा निर्वाह गरेको चरित्रको चर्चाले उनलाई नेपाली फिल्ममा जीवनको अन्तिम दिनसम्म व्यस्त बनायो ।

उनले नेपाली, भोजपुरी र भारतीय गरी करिब तीन सय फिल्ममा अभिनय गरेका छन् ।

‘राते काइँला’

६० वर्षे फिल्म इतिहासलाई पछाडि फर्केर हेर्ने हो भने केही पात्रहरुमा मात्रै दर्शकका नोटिसमा छन् ।

जस्तो राजेश हमालको चरित्र शंकर, हरिवंश आचार्यको ‘हरिबहादुर’ र सौगात मल्लको ‘हाकु काले’ ।

यस्ता नोटिसमा परेका चरित्र नै कलाकारहरुको परिचयका रुपमा स्थापित हुन्छ ।

राते काइँला चरित्रमा सुनील थापा

सुनील थापाको दोस्रो परिचय ‘राते काइँला’ यसरी बनेको हो । प्रायः नायकहरुको चरित्र दर्शकको नोटिसमा पर्छ । सुनील अपवाद हुन् ।

उनी एक मात्रै खलपात्र हुन्- जसको चरित्र नै परिचय बन्यो ।

फिल्म ‘चिनो’ (सन् १९८९) मा उनले ‘राते काइँला’को चरित्र निर्वाह गरेका थिए । जसको नायकहरु भुवन केसी र शिव श्रेष्ठ थिए । उनको यो चरित्रले नायकहरुलाई नै छायाँमा पर्‍यो ।

अहिले ‘चिनो’को चर्चा हुँदा ‘राते काइँला’ नै प्रमुख पात्र हुन्छ । उसको एक डाइलग छ, ‘अहिलेसम्म कुनै जेल बनेको छैन, जसमा रातेलाई थुनेर राख्न सकियोस् ।’

यो डाइलग अहिले पनि फिल्म प्रेमीको मुखमा छ । केही मुलधारका राजनीतिज्ञले पनि आफू अनुकुल पनि प्रयोग गरेको पाइन्छ । ‘राते काइँला’को प्रभाव बारे यहाँ भन्दा बढी चर्चा के गर्नु ?

नयाँ अध्यायका प्रवर्तक

सुनीलले नेपाली फिल्मका भिलेनका पायोनियर मानिन्छन् । उनी भिलेनलाई ग्ल्यामर र स्टाइल दिने पहिलो कलाकार हुन् ।

सुनीलले ‘राते काइँला’को चरित्र निर्वाह गर्नुअघि भिलेनहरुको विशेषता लामो दाह्री–जुङ्गा, लामो कपाल, ठूला शरीर र अस्वाभाविक हाँसो हुनेे गर्थ्यो । डरलाग्दो देखिने भिलेनहरु हिरोको पिटाइ खानेमै सीमित थिए ।

सुनीलले भने भिलेनको चरित्रलाई स्टाइल, एटिट्युट, स्वाँग र पारा दिए । ओजिलो आवाजमा डाइलग डेलिभरी गरे । उनले स्क्रिनमा आफूलाई नायक बराबरको भिलेन देखाए । अर्थात्, एक शक्तिशाली भिलेन ।

उनी खलपात्रको चरित्र निर्माणमा उदारणीय कलाकार बने । उनले नेपाली फिल्मलाई दिएको विशेष योगदान यही हो ।

उनी नायक बराबरकै फ्रोफाइल बनाउने भिलेन हुन् । उनको नायक बराबरकै फ्यान फलोइङ छ।

उनको फिल्मी यात्रालाई भिलेनले पनि हिरो बराबरकै फ्यान कमाउन सक्छ भन्ने उदाहरणका रुपमा लिन सकिन्छ ।

भिलेन जति शक्तिशाली हुन्छ, हिरो झन् प्रभावशाली साबित हुन्छ । उनका आडमा धेरै हिरो प्रभावशाली देखिए । फलत: दर्शकले पर्दामा वीर हिरो हेर्न पाए ।

सोहीकारण महानायक राजेश हमालले सुनीललाई बिदा गर्दै लेखेका होलान्, ‘मेरो सिनेमा यात्रा तपाईंप्रति समर्पित गर्न चाहान्छु ।’

राजेश र सुनीलले ३० भन्दा बढी फिल्ममा सहकार्य गरेका छन् ।

आजको दिनमा पनि सुनील दुई फिल्ममा व्यस्त थिए। छायाङ्न सकिएको ‘पहाड’ प्रदर्शनमा आउन बाँकी छ । उनी जोडिएको अन्तिम फिल्म ‘राम नाम सत्य’ छायाङ्कनरत छ ।

सबैका सर्वप्रिय ‘दोस्त’

पुर्ख्यौली घर दाङ भए पनि सुनीलको हुर्काइ भारतमा नै भयो । उता को बसाइँ प्रभावले उनी सामान्य बोलिचालीमा बढी हिन्दी र अंग्रेजी भाषा प्रयोग गर्थे ।

उनको क्षमता थियो– आत्मीयताको भरपुर प्रयोग गर्ने । आफ्नो उपस्थितिमा पुग्ने सबैलाई उनले आत्मीयता देखाएर मन जिते ।

आफूभन्दा जुनियरहरुलाई पनि उनी ‘दोस्त’ भनेर सम्बोधन गर्थे । जो उनको विशेषता नै थियो ।

केही कलाकारहरुको त उनी अभिभावक नै हुन् । उनलाई ‘गुरु मान्ने’ कलाकार र निर्देशक टन्नै छन् ।

कलाकारहरुमा बौद्धिक छवि बनाउन सक्ने कमै छन् । भिलेनमा त सुनील एक्ला हुन् भन्दा फरक नपर्ला ।

बौद्धिक व्यक्तिहरु समक्ष पनि उनको पर्सनालिटी डोमिनेटिङ नै थियो ।

‘कहिल्यै ठूलो नबन्ने’ बानीले उनी सबैको प्रिय बने ।

०००

सुनील एक उत्कृष्ट कलाकार मात्रै होइनन् । नेपाली फिल्म क्षेत्र आजको अवस्थामा विकसित गर्न उनले आफ्नो जीवन लगानी गरे ।

नेपाली फिल्मका भिलेनलाई ग्ल्यामराइज गर्ने इतिहासकार उनी हुन् । भिलेनहरुका पनि भिलेन महाभिलेन हुन् । नेपाली सिनेमा क्षेत्रबाट मेट्न नसक्ने नाम हुन् ।

साथी दौंतरीलाई डर लाग्दो लुक्स देखियो भने भोलि पनि उनका दर्शकले भन्नेछन्, ‘राते काइँला जस्तो देखिइस् त !’

राते काइँला अर्थात् सुनील थापा ।

नेपाली फिल्म प्रेमीलाई सुनीललाई सम्झनै पर्दैन ! बिर्सिए पो सम्झनु ! उनको योगदान बिर्सन सक्ने गरी छैन ।

गुडबाई सुनील थापा ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ७ : १२ बजे

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल

इंग्ल्याण्डका विल ज्याक्सले भने : नेपालले खेलभर दबाबमा राखेको थियो

काठमाडौं – नेपालसँगको खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका इंग्ल्याण्डका युवा

रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ

मस्काे – रुसी वरिष्ठ सैन्य गुप्तचर अधिकारी भ्लादिमिर एलेक्सेयेभलाई मस्कोमा