उपत्यकाका सबै क्षेत्रमा घण्टीको कब्जा, नेमकिपाको किल्ला पनि भत्कियो « Khabarhub

उपत्यकाका सबै क्षेत्रमा घण्टीको कब्जा, नेमकिपाको किल्ला पनि भत्कियो

अनपेक्षित जीतले रास्वपाका नेता नै छक्क



काठमाडौं– विगतका निर्वाचनलाई हेर्ने हो भने काठमाडौं उपत्यकाले जहिले नयाँ शक्तिको खोजी गरेको देखिन्छ । यहाँका मतदाता कुनै पार्टीप्रती ‘लोयल’ छैनन् । वैकल्पिक शक्तिहरू जनतामाझ आउँदा उपत्यकाले टेस्ट गर्दै आएको इतिहास २०३८ सालमा काठमाडौंबाट नानीमैया दाहालले निर्वाचन जितेको परिणामलाई हेर्दा देखिन्छ । राष्ट्रिय पञ्चायत निर्वाचनमा उनले ६५ हजार ७७७ मत ल्याएकी थिइन् ।

त्यसबेला निकटम प्रतिद्वन्दी जोगमेहर श्रेष्ठलाई उनले करिब ३६ हजार मतान्तरले पराजित गरिन् । काठमाडौं उपत्यकामा ६४ सालमा माओवादीको लहर खासै नदेखिए पनि छिटफुट रुपमा भने देखियो । २०७४ को निर्वाचनमा नयाँ दलको रुपमा उदाएको विवेकशील साझा र २०७९ को निर्वाचनमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको लहरलाई पनि काठमाडौं उपत्यकावासीले साथ दिँदै आएका छन् ।

२०७९ को निर्वाचन हेर्दा उपत्यकाका १५ स्थानमामध्ये नेपाली कांग्रेसले सात सिट जितेको थियो । कांग्रेसले सात स्थान जितेर पहिलो पार्टी बन्दा ६ महिना अगाडि खुलेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच सिट जित्यो । नेकपा एमालेले २ र नेपाल मजदुर किसान पार्टीले १ सिट जिते ।

२०७४ सालको निर्वाचनमा एमालेले नौ सिट जितेको थियो। । तर यो सिट एमाले एक्लैले हात पारेको होइन, त्यतिबेला तत्कालीन नेकपामा समावेश माओवादी केन्द्र र एमालेबीचको तालमेलमा यो उपलब्धि हात लागेको हो । उपत्यकाका १५ मध्ये नौ सिटमा विजय भएपछि एमालेलाई ०७९ को निर्वाचनमा पनि राम्रै मत ल्याउँछु भन्ने आश थियो ।  तर एमालेले त्यो साख बचाउन सकेन । एमाले जम्मा दुई सिटमा झर्‍‍यो । ०७९ मा कांग्रेस ४, माओवादी र नेमकिपाले १ सिट जिते । अहिले पुराना दल शून्यमा छन् ।

रास्वपा जन्मनुअगाडि स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार भएर बालेन्द्रले काठमाडौंबासीको मन जितिसकेका थिए । त्यसबेला उनले ६१ हजार ७६७ मत ल्याए । उपत्यकाले नयाँलाई प्रयोग गर्छन् र परिवर्तन चाहन्छन् भन्ने कुराको पुष्टि भइसकेको छ । तर यस पटक उपत्यकाको नतिजाले भने अरु पार्टीलाई लज्जित बनाएको छ ।

यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले १५ मध्ये सबै स्थानमा सम्मानजनक जित निकालेर उपत्यकामा क्लिनस्विप गरेको छ । उपत्यकाका १५ स्थानमध्ये ८ वा ९ स्थानमा विजय निकाल्ने तयारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले १५ वटै स्थानमा विजय हासिल गरेर अनपेक्षित रिजल्ट निकालेको देखिन्छ ।

‘उपत्यकामा हामीले १० वटा भन्दा बढी निर्वाचन क्षेत्रमा जित्छौँ भन्ने सोचेका थियौँ । तर क्लिनस्विप नै गर्छौँ भन्ने चाहिँ लागेको थिएन ।’ पार्टीका नेता विराजभक्त श्रेष्ठ भन्छन्, ‘हामीले विभिन्न बैठक तथा जनताबाट आएको प्रतिक्रिया हेर्दा उपत्यकाले हामीलाई धेरै माया गर्छ भन्ने लागेको थियो । तर, यति धेरै विश्वास गर्नुभयो कि हामी नतमस्तक छौं । यो अपार मायालाई जनताको उर्जामा बदल्छौँ ।’

यो पटक उपत्यकाको अवस्था हेर्दा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धा हुने देखिन्थ्यो । तर, कतिपय स्थानमा कांग्रेस एमालेको जमानत नै जफत भएको छ । आश्चर्य त के छ भने भक्तपुर-१ मा लामो समयदेखि स्थापित शक्तिका रुपमा रहेको नेपाल मजदुर किसान पार्टी नेमकिपाको लाल किल्ला नै भत्किएको छ । यो परिवर्तनको गर्विलो सन्देश हो ।

सुरक्षित रहेन नेमकिपाको किल्ला

भक्तपुरमा २०४८ सालको निर्वाचन यता हार नब्यहोरेको नेमकिपाको किल्ला यस पटक ढलेको छ । यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रूकेस रञ्जित विजयी भएका छन् । उनले ३३,४३६ मत ल्याउँदा नेमकिपाका प्रेम सुवालले २८,१४७ मत ल्याए । सुवालले सम्मानजनक हार व्यहोर्दा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले भने झिनो मत ल्याएको अवस्था देखिन्छ ।

कम्युनिस्टहरूको गण रक्षा गर्दै आएको नेमकिपाले भक्तपुर-१ बाट हार व्यहोर्दा प्रेम सुवाल भने स्तब्ध देखिएका छन् । ‘जनताले दिएको अभिमतलाई सम्मान गर्नुपर्छ । मेरो भन्नु केही छैन ।’ सुवालले भने– ‘मैले त पटक पटक प्रतिनिधि सभाबाट भन्दै आएको थिएँ । ठूला दलका कारण हामीले यसको परिणाम भोग्नुपर्‍यो ।’

भक्तपुर-२ मा सेलायो महेशको हुँकार

भक्तपुरबाट आफूले कुनै कसरत नगरी सुतिसुती चुनाव जित्ने धक्कु लगाउँदै आएका एमाले सचिव महेश बस्नेतले लज्जास्पद हार व्यहोरेका छन् । अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा निकट मानिने उनलाई गुण्डु क्षेत्रबाटै राम्रो मत आएन । यहाँ पत्रकारिता छोडेर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले ४२ हजार ३ सय ३४ मत ल्याउँदा बस्नेतले १० हजार ९६६ मत ल्याए ।

नेपाली कांग्रेसका कवीर राणाले ८४०१ मत प्राप्त गरेका छन् । जेन-जी आन्दोलनपछि ओलीलाई भक्तपुरको गुण्डुमा लगेर निवास दिलाएका बस्नेत २०७९ को निर्वाचनमा पनि पराजित भएका थिए । यद्यपि यसपाली यहाँ एमालेले जित्ने अनुमान गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले भने भक्तपुर २ बाट जित्ने अनुमान नगरेको दाबी गरिन्छ ।

कांग्रेसले बचाउन सकेन ललितपुर-१

ललितपुर-१ लाई कांग्रेसले निश्चित जित्ने क्षेत्रको रुपमा लिएको थियो । तर कांग्रेसले आफ्नो मत बचाउन नसक्दा हार व्यहोर्नु परेको छ ।

कांग्रेसले बलिया युवा नेता उदयशमशेर राणालाई उठाएका कारण राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले जित्ने सूचीमा यहाँको क्षेत्र राखेको थिएन । तर यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले २३ हजार ३७३ मत ल्याएर निर्वाचित भए । राणाले भने १३,५२० मत ल्याए। यहाँ नेकपा एमालेका चेत नाथ संजेलले ६,५४६ मत ल्याए ।

जगदीशलाई सहज अवतरण ललितपुर-२

सञ्चारमन्त्रीबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका जगदीश खरेललाई ललितपुर-२ मा सहज थियो । पत्रकारितामा राम्रो छवि भएको र मन्त्री हुँदा समेत विवादित काम नगरेकाले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले जित्ने सूचीमा राखेको थियो । नभन्दै खरेलले  ३९ हजार ९४१ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरे । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ प्राप्त गरेका छन् । यहाँ एमाले र कांग्रेसको जमाना जफत भएको छ ।

ललितपुर-३ तोसिमाका लागि विगत नै काफी

२०७९ को निर्वाचनमा ललितपुर-३ बाट निर्वाचित भएकी रास्वपाकी तोसिमा कार्कीलाई यो पटक पनि ढुक्क थियो । त्यस बेला कार्कीले ३१ हजार १२६ मत ल्याएर विजय भएकी थिइन् । उनले तत्कालीन माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाललाई हराएकी थिइन् । त्यसबेला भुसालले लज्जास्पद ८७५१ मत मात्रै ल्याइन् । त्यसबेला हेभीवेट उम्मेदवार पराजित गरेर चर्चा बटुलेकी तोसिमा यस पटक पनि लोकप्रिय मत ल्याएर निर्वाचित भइन् । तोसिमाले ४३ हजार ९६ मत ल्याउँदा यहाँ नेपाली कांग्रेसका उम्मेदवार जितकुमार श्रेष्ठले ९०४५ र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रामकाजी महर्जनले ६०२२ मत ल्याए ।

काठमाडौं-१ मा रवीन्द्रलाई पूर्व सहकर्मी नै भारी

गर्भवती अवस्थामै निर्वाचनमा होमिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शनाले काठमाडौं-१ बाट शानदार जित निकालिन् । फागुन २१ गतेको निर्वाचनमा १० दिनको सुत्केरी रहेकी दर्शनाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रवीन्द्र मिश्रलाई फराकिलो मतान्तरले हराइन् ।

रन्जुले १५ हजार ४५५ मत ल्याउँदा मिश्रले ६ हजार ३६४ मत ल्याए । तेस्रो भएका मिश्रलाई नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ९ हजार ११ मत ल्याएर जिते । २०७९ र ०७४ को निर्वाचनमा रवीन्द्र यही क्षेत्रबाट कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । ०७९ मा प्रकाशमानको मत ७,१४३ थियो भने रविन्द्रको मत ७ हजार १८ थियो ।

झिनो मतले पराजित मिश्र यसपटक विजय हुने दाउमा थिए तर रन्जुले उनलाई अप्रत्यासित हार चखाएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं-१ बाट रन्जुले जित्छिन् भन्ने सूचीमा राखेको थिएन । तर सुत्केरी अवस्थामै रन्जुले विजय हासिल गरेर ठूलो सन्देश दिएकी छन् ।

विगतदेखि नै नेपाली कांग्रेसको गढ मानिने काठमाडौं-१ पनि पनि राष्ट्रिय स्वतन्त्र पार्टीले हात पारेको छ। रन्जु विवेकशील साझाबाट वैकल्पिक राजनीति शक्तिको रुपमा उदाएकी नेतृ हुन् । २०७४ को काठमाडौं महानगरपालिकाको निर्वाचनमा उनी झिनो मतले पराजित भएकी थिइन् ।

सोबिताले छोडेको काठमाडौं-२ सुनिलले जोगाए

२०७९ को निर्वाचनमा काठमाडौं-२ ले नयाँलाई चुनेको थियो । ०७९ को निर्वाचनमा रास्वपाकी सोबिता गौतमले १५,२३८ मत ल्याएर विजयी भएको क्षेत्रमा त्यसबेला तात्कालीन लोकतान्त्रिक बाम गठबन्धनकी उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती मगर पराजित भएकी थिइन् । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले राप्रपाबाट प्रदेशसभामा निर्वाचित सांसदबाट राजीनामा दिएका सुनिल केसीलाई अगाडि सारेको थियो ।

यस क्षेत्रबाट पूर्वमेयर बालेन्द्र शाहले रास्वपाका तर्फबाट निर्वाचन लड्ने हल्लाहरू पनि भएका थिए । तर, उनी झापा-५ पुगेपछि सुनिललाई पार्टीले अगाडि सार्‍यो । सुनिलले काठमाडौं-२ मा ३४,२३८ मत ल्याउँदा नेपाली कांग्रेसले ८८७४ मत ल्यायो । राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले ५,१२० मत ल्याइन् । यहाँबाट नेकपा एमालेले जमानत जोगाउन सकेन ।

काठमाडौं-३ मा कुलमानको अप्रत्याशित हार, बालेन निकट पाण्डे विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाहसँग महानगरको सुरक्षा प्रमुख बनेर काम गरेका राजुनाथ पाण्डेले अप्रत्यासित जित निकालेका छन् । काठमाडौं-३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ उम्मेदवार थिए । कुलमान उठेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं३ बाट जितिन्छ भन्ने ठानेको थिएन । तर बालेनका निकट सहयोगी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भएकै कारण पाण्डेले यहाँबाट अप्रत्यासित जित निकालेका छन् ।

पाण्डेले यहाँबाट १८,७९३ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी घिसिङले ११,१७१ मत ल्याए । कुलमान र राजुनाथको मतान्तर ७,९८९ देखिएको छ । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट १५,१५८ मत ल्याएर सन्तोष चालिसे विजय भएका थिए । चालिसेले विकास निर्माणको काममा खासै मतलब नदिएकाले यसपटक कांग्रेसले रमेश अर्याललाई उम्मेदवार बनाएको थियो । एमालेले रामेश्वर फुयाँललाई उम्मेदवार बनायो । उनीहरूले लज्जास्पद हार व्यहोरे ।

गगनको क्षेत्र काठमाडौं-४ मा सचिनको हार, तेस्रो प्रयासमा पुकार सफल

काठमाडौं क्षेत्र नम्बर ४ छोडेर सर्लाही क्षेत्र नम्बर ४ पुगेका नेपाली कांग्रेसका सभापति गगन थापालाई त्यहाँका मतदाताले अनुमोदन गरेनन् । आफ्नो निर्वाचन क्षेत्र छोडेका गगनले सर्लाही ४ मा लज्जास्पद हार व्यहोरे । आफ्नो क्षेत्रमा युवा उम्मेदवार सचिन तिमल्सिनालाई अगाडि सारेर सर्लाही पुगेका गगनले न आफ्नो क्षेत्र जोगाए, न सर्लाहीमा निर्वाचन जिते ।

यहाँबाट तीन पटकको प्रयासमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर पुकार बमले निर्वाचन जितेका छन् । विगतमा विवेकशील साझा पार्टीमा रहेका बमलाई यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले जित दिलाएको देखिन्छ । पुकारले २९,१४२ मत ल्याउँदा कांग्रेसका तिमल्सिनाले ८,८२४ मत ल्याएका छन् ।

२०७९ को निर्वाचनमा गगनले यहाँबाट २१,३०२ मत ल्याएर विजयी भएका थिए । त्यसबेला एमालेका राजन भट्टराईले १३,८५५ मत ल्याएका थिए । यता तेस्रो प्रयासमा जित्ने दाउ गरिरहेका एमालेका राजनलाई पनि यहाँबाट ठूलो धक्का लागेको छ । भट्टराईले तेस्रो प्रयासमा पनि निर्वाचन नजितेपछि अब निर्वाचन नलड्ने घोषणा नै गरिसकेका छन् ।

प्रदीपले जोगाउन सकेनन् काठमाडौं-५, सस्मितको अप्रत्यासित जित

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं-५ लाई जित्ने सूचीमा राखेको थिएन । किनकि यो कांग्रेसका युवा नेता प्रदीप पौडेल विजयी हुँदै आएको क्षेत्र हो । हुन त काठमाडौं-५ ले नयाँको खोजी गर्छ भन्ने उदाहरण २०७९ को निर्वाचनमा नै देखिएको हो । किनकि त्यसबेला एमालेका तत्कालिन उपाध्यक्ष ईश्वर पोखरेललाई कांग्रेसका प्रदीप पौडेलले पराजित गरेका थिए ।

यस पटक पोखरेललाई हराउने उनै पौडेल रास्वपाका सस्मित पोखरेलसँग पराजित भएका छन् । हुन त एमालेबाट ईश्वर यस पटक पनि यहाँ उम्मेदवार थिए । तर उनी तेस्रो बन्न सफल भएका छन् । सस्मितले ३०,७३७ मत ल्याएर विजय हुँदा प्रदीपले ९,१५१ मत ल्याए ।

२९ वर्षका सस्मितले तीन हेभिवेटलाई पछार्दै अप्रत्यासित विजय निकाल्नु काठमाडौं-५ का लागि आश्चर्यजनक घटना हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित विवेकशील साझाका उत्पादन हुन् । यहाँबाट राप्रपाका कमल थापा पनि उम्मेदवार थिए । यहाँ एमालेका पोखरेलले ४,७०१ मत ल्याउँदा राप्रपाका थापाले १,९२२ मत ल्याए । यहाँबाट अभिनेत्री निशा अधिकारी पनि उम्मेदवार बनेकी थिइन् ।

शिशिरलाई सहज काठमाडौं-६

२०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका शिशिर खनाल पुनः दोहोरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वैचारिक नेता मानिने खनाल वैकल्पिक शक्ति मिलाउने पार्टीका भित्री योजनाकार थिए । केही समय शिक्षामन्त्री समेत बनेका शिशिरले शिक्षामा राम्रो काम गरेको देखिन्छ । सरल व्यक्तित्व र तार्किक क्षमता भएकै कारण २०७९ को निर्वाचनमा काठमाडौं-६ बाट नै निर्वाचित भएका खनाललाई यस पटक पनि राष्ट्रिय स्वतन्त्र पार्टीले विजयी हुने सूचीमा राखेको थियो ।

२०७९ को निर्वाचनमा शिशिरले १४,२२१ मत ल्याएर निर्वाचित भएका थिए भने यस पटकको निर्वाचनमा २७, ७१९ मत ल्याएर विजयी भएका छन् । ०७९ को निर्वाचनमा उनका निकटम प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनालले ८ हजार मत कटाएका थिए । यस पटकको निर्वाचनमा शिशिरका निकटम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कृष्ण बानियाँले ६,७२१ मत ल्याएका छन् । खनाल र बानियाँको मतान्तर २०,९६८ देखिन्छ ।

गणेशले बचाए साख

काठमाडौं क्षेत्र नम्बर ७ पनि परिवर्तन चाहन्छ भन्ने कुराको पुष्टि २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले गरिसकेका छन् । २०७९ को निर्वाचनमा यहाँबाट ८,७४३ मत ल्याएर पराजुली विजयी हुँदा यस पटकको निर्वाचनमा भने २७,८०५ भारी मत ल्याएका छन् ।

पराजुलीका निकटम प्रतिद्वन्द्वी प्रमोदहरि गुरागाईंले ३,९८२ मत ल्याए । यहाँ नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीको भने जमानत जफत भएको छ । कांग्रेसका उम्मेदवार गुरागाईँ र पराजुलीको मतान्तर २३,८२३ रहेको देखिन्छ ।

काठमाडौं-८ मा विराजभक्तको शानदार जित, सुमन सायमी अस्वीकृत

काठमाडौँ क्षेत्र नम्बर ८ ले २०७९ मै मत परिवर्तन गरेको थियो । विवेकशील साझाबाट गुठी आन्दोलनको नेतृत्व गर्दै उदाएका विराजभक्त श्रेष्ठ यहाँबाट विजयी भएका थिए । विवेकशील साझा छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका श्रेष्ठले त्यहाँ २०७९ मा १०,११२ मत ल्याएर जिते । यसपटक उनको मत शानदार देखिएको छ । श्रेष्ठले २४,५९२ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी सुमन सायमीले झिनो मत अर्थात् ३,२१७ ल्याएका छन् ।

सायमी नेकपाबाट यस पटक उम्मेदवार थिए । २०७९ को निर्वाचनमा स्वतन्त्र लौरो चुनाव चिन्हबाट उम्मेदवार थिए। काठमाडौँको गुठी आन्दोलन हुँदै रैथाने आन्दोलन र बालेनको डोजर आन्दोलन विरुद्ध उत्रेका सुमनले २०७९ को निर्वाचनमा ६ हजार मत कटाएका थिए । तर यसपटक भने सायमीले पहिलाको इज्जत धान्न सकेनन् ।

०७९ को निर्वाचनपछि राजेन्द्र महतोको पार्टी हुँदै नेकपामा आइपुगेका सायमीलाई पार्टी छान्दै हिँड्ने नेताको रुपमा हेरिन्छ । यद्यपि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने सायमीलाई त्यहाँबाट निर्वाचन जित्ने उम्मेदवारको रुपमा छानेको बताएका थिए । तर विराजले शानदार जित निकालेर सायमीलाई कमजोर बनाइदिएका छन् । यहाँबाट सायमीसँगै नेपाली कांग्रेस, एमाले लगायत २१ जना उम्मेदवारको जमानत जफत भएको छ ।

काठमाडौं-९ ले डिपीलाई दिएको विश्वास

०७९ को निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठले जितेको निर्वाचन क्षेत्रमा यस पटक डोलप्रसाद अर्यालले सहज जित निकालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्यालले ३४०९३ मत ल्याएर यहाँबाट विजयी भए । उनकी निकटम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार नानुमैया बास्तोलाले ५,४६० मत ल्याइन् ।

कृष्णगोपालले एमालेका अजय क्रान्ति शाक्यलाई छाडिदिएको यस क्षेत्रमा उनले ४,९८० मत ल्याएर तेस्रो स्थानमा पुगे । नेकपा एमालेले यहाँबाट अजय क्रान्तिले जित्ने सूचीमा राखेको थियो । तर फराकिलो मतान्तरले डिपीले एमालेको गढ भत्काइदिएका छन् ।

प्रदीपले भत्काए काठमाडौं-१० को कांग्रेस विरासत

काठमाडौं-१० बाट कांग्रेसका राजेन्द्रकुमार केसीले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई विगतमा पराजित गरेको इतिहास छ । दाहाल पराजित गरेसँगै २०७४ र २०७९ को निर्वाचनमा समेत यहाँबाट कांग्रेसका केसी निरन्तर सांसद भएका थिए ।

०७९ को निर्वाचनमा राजेन्द्रले ११,९५६ मत पाउँदा एमालेका हिमेश केसीले १०,९६१ मत ल्याएका थिए । काठमाडौं-१० बाट यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले जित्ने आँकलन गरेको थिएन । कांग्रेसको गढ रहेकाले यस पटक पनि कांग्रेसले हिमाल कार्कीलाई अगाडि सारेको थियो ।

नेकपा एमालेले विनोद श्रेष्ठलाई उम्मेदवार बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट खासै जनतामाझ परिचित थिएनन् । तर उनले अप्रत्यासित नतिजा निकालिदिएका छन् । प्रदीपले ३७ हजार ४६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका हिमालले ८,१०० मत ल्याए । एमालेका विनोदले भने ४,८६४ मत ल्याएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ८ : ०९ बजे

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,